s

जापानी भाषा परीक्षा आइतबारदेखि

Year of Publication: 26 October 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

जापानी भाषा परीक्षा आइतबारदेखि सञ्चालन हुने भएको छ। नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षा आइतबारदेखि हुन लागेको हो।जापान फाउन्डेसनका अनुसार आवेदन दिएका मध्येबाट परीक्षाका लागि एक हजार जना छानिएका छन्। हजारौंले अनलाइनमार्फत आवेदन दिए पनि एक हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउनेछन्। लक्की ड्रमार्फत परीक्षार्थी छानिएको जापान फाउन्डेसनको दाबी छ। भाषा परीक्षामा पास हुने मात्रै नर्सिङ केयरमा छनोट हुन पाउनेछन्। जापानी रोजगारीका लागि अनलाइनमार्फत फारम भरिए पनि कति जनाले फारम भरे भन्ने खुलाइएको छैन।

जापान फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट परीक्षा दिने व्यवस्था गरेको छ। भाषा परीक्षा कम्प्युटरमा आधारित हुनेछ। कम्प्युटरमा एन फो तहको भाषा परीक्षा पास गर्नुपर्छ। जापान फाउन्डेसनका अनुसार कात्तिक १०, ११ र १२ गते पहिलो चरणको परीक्षा सञ्चालन हुनेछ। दोस्रो चरणको परीक्षा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणको परीक्षा कात्तिक २६, २७ र २८ हुने जापान फाउन्डेसनले यसअघि नै सार्वजनिक गरेको छ। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजाने उद्देश्यले भाषा परीक्षा सञ्चालन गरिएको हो। परीक्षामा सहभागी एक हजार जनाबाट उत्कृट अंक ल्याएर पास हुने मात्रै जापान जान पाउनेछन्।

नेपाली कामदारका लागि जापान आकर्षक मुलुक मानिन्छ। जापानीसरह सेवासुविधा पाइने भएकाले जापान जान चाहनेको संख्या अत्यधिक छ। जापान जान झन्डै एक लाखभन्दा बढीले जापानी भाषा अध्ययन गरिरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले जापानको निजी क्षेत्रले भाषा परीक्षा सञ्चालन गरिरहेको र मन्त्रालयको जिम्मेवारी खासै नभएको बताए। ‘जापान रोजगारीका लागि पहिलोपटक परीक्षा सञ्चालन हुन लागेकाले आगामी दिनमा थप अनुभव सँगालेर अघि बढ्छौं’, उनले भने।जापानले नेपालसहित नौ मुलुकबाट विदेशी कामदार लैजाने तयारी गरे पनि सात मुलुकबाटै प्रक्रिया सुरु भएको जापान फाउन्डेसनले जनाएको छ। जापानले नेपालसहित फिलिपिन्स, भियतनाम, मंगोलिया, म्यानम्यार, कम्बोडिया र इन्डोनेसियाबाट कामदार लैजान लागेको छ।

जापानले ५ वर्षभिभत्र ९ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजाने घोषणा गरे पनि कुन देशबाट कति कामदार लैजाने तय गरिसकेको छैन। जापानले पहिलो चरणमा कामदार लैजाने तयारीस्वरूप भाषा परीक्षा सञ्चालन गरेको हो। हरेक दुई दुई महिनामा भाषा परीक्षा गर्ने उसको तयारी छ। जापानले कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा, निर्माण क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै खाद्य र पेयपदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योगमा विदेशी कामदार लैजाने तयारी छ।

Published on: 26 October 2019 | Annapurna Post

Link

Back to list

;