s

जापान रोजगार : हजार जनाले मात्र परीक्षा दिन पाउने

Year of Publication: 28 September 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्। आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदक छानिनेछन्। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की ड्रमार्फत एक हजार जना छनोट गर्नेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्। भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्।

नेपाली कामदारका लागि जापान आकर्षक मुलुक हो। जापानीसरह सेवासुविधा पाइने भएकाले जापान जान चाहनेको संख्या अत्यधिक छ। झन्डै एक लाखभन्दा बढीले जापानी भाषा अध्ययन गरिरहेको बताइन्छ। जापान जान चाहनेको संख्या अधिक हुने संकेत देखिएसँगै जापानले लक्की ड्रमार्फत छोटो सूची बनाएर भाषा र सीपको परीक्षा लिने योजना बनाएको हो। भाषा परीक्षाका लागि आवेदन दिँदा कुनै शुल्क लाग्दैन। जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालन गर्नेछ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणको परीक्षा हुनेछ। त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ मा भाषा तथा सीप परीक्षा हुने तय भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले सबैका लागि आवेदन खुलाइँदा जापान जान इच्छुकको संख्या सजिलै थाहा पाइने बताए। एक एजार जनाको मात्रै आवेदन लिने व्यवस्था गरेको भए समस्या हुन सक्ने उनले बताए। उनले केयर गिभरको परीषाको अनुभव लिएर आगामी परीक्षा थप व्यपस्थित गर्न सहयोग पुग्ने बताए। ‘जापान रोजगारीका लागि पहिलोपटक परीक्षा सञ्चालन हुन लागेकाले आगामी दिनमा थप अनुभव सँगालेर अघि बढ्छौं’ उनले भने। जापानले नेपालसहित नौ मुलुकबाट विदेशी कामदार लैजाने तयारी गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेयपदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योगमा विदेशी कामदार लैजान लागेको हो। जापानले ५ वर्षभित्र ९ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजाने घोषणा गरे पनि कुन देशबाट कति कामदार लैजाने भन्ने खुलाएको छैन। जापानले पहिलो चरणमा फिलिपिन्स, नेपाल र भियतनामबाट कामदार लैजाने तयारीस्वरूप भाषा परीक्षा सञ्चालन गर्न लागेको हो।

Published on: 28 September 2019 | Annapurna Post

Back to list

;