s

इजरायलमा रोजगारीको पहल

Year of Publication: 3 November 2019 | Annapurna Post

Published by: CESLAM

तुलसी सुवेदी

तीन वर्षदेखि बन्द इजरायल रोजगार फेरि सुरु गर्न नेपाल र इजरायल सकारात्मक भएका छन्। जीटूजी (दुवै देशका सरकारी निकायको सहभागिता) मार्फत इजरायलमा कामदार पठाउने गरी सरकारले गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानाकरी दिएको छ। तीन वर्षअघि ‘पाइलट प्रोजेक्ट’ का रूपमा इजरायल रोजगार सुरु भए पनि असफल भएको थियो। इजरायलबाट एकाएक माग आउन छाडेपछि छानिएका कामदारसमेत जान पाएका छैनन्। मन्त्रालयले अब पूर्णरूपमा सफल हुने गरी प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ। मन्त्रालयका सचसचिव उमेश ढुंगानाले पछिल्लो समय नेपाली कामदार लैजान इजरायल इच्छुक देखिएको बताए। पहिला पनि जीटूजीमार्फत नै इजरायल पठाउने प्रस्ताव भएको थियो। प्रस्ताव सफल नभएपछि नयाँ मस्यौदा बनाएर इजरायल पठाउने प्रक्रिया अघि बढेको मन्त्रालयको भनाइ छ। ‘मस्यौदा पठाउने अन्तिम तयारीमा छौं’, उनले भने,‘मस्यौदा आदानप्रदान गरेर छिट्टै पुनः इजरायल रोजगारी खुलाउने गृहकार्यमा छौं।’

तीन वर्षअघि सरकारले इजरायलमा केयर गिभरका लागि एक सय १९ जना छानेको थियो। तीमध्ये ४१ जना इजरायल जान पाएनन्। इजरायलले माग नपठाएपछि छानिएका कामदार पनि जान नपाएका हुन्। तत्कालीन समयमा वैदेशिक रोजगार विभाग र इजरायली दूतावासबीच समझदारी भए पनि इजरायलबाट माग नआउँदा कामदार जान नपाएका हुन्। स्रोतका अनुसार विभागका कर्मचारीले आफ्ना मान्छे पठाउन चलखेल गरेका कारण पनि इजरायल रोजगारी बन्द भएको थियो। तीन वर्षअघि म्यानपावरले नै कामदार पठाउने गरेका थिए। उनीहरूले ९÷१० लाख रुपैयाँसम्म लिन थालेपछि जीटूजीमार्फत केयर गिभरका लागि कामदार पठाउन समझदारी भएको थियो। विभाग स्रोतका अनुसार पाइलट प्रोजेक्टमा पनि म्यानपावर व्यवसायीको अवरोधका कारण इजरायल रोजगारी रोकिएको हो। इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका म्यानपावरको प्रलोभनमा परेर माग पठाउन नसकेको स्रोतको दाबी छ। इजरायल सरकारले त्यहाँ चारजना एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको थियो।

एक महिनामा एक लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले इजरायल रोजगारप्रति कामदार आकर्षित छन्। इजरायल जानका लागि केयर गिभरको तीन महिने तालिम लिनुपर्छ। नर्सिङ, अनमी, अहेब अध्ययन गरेकाले समेत प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणको केयर गिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए। इजरायलमा केयर गिभरले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ।

Published: 3 November 2019 | Annapurna Post

Link

Back to list

;