s

इजरायलबाट पाँच सय भन्दा बढीको माग आउने संकेत

Year of Publication: 9 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

नेपाली युवा–युवतीको आकर्षक गन्तव्य इजरायलबाट उल्लेख्य संख्यामा रोजगारीको डिमाण्ड आउने सम्भावना देखिएको छ । उच्च महत्वका साथ नेपालसँग पाइलट प्रोजेक्ट अन्तरगत सम्भौता गरी केयर गिभरको रोजगारीमा नेपाली कामदार लगेको इजरायलले पाइलट प्रोजेक्टको तेस्रो चरण अन्तरगत करीव पाँच सय नेपाली कामदार लैजाने सम्भावना देखिएको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिए ।
 
अधिकारीका अनुसार यसै विषयमा छलफल गर्न इजरायलको पीबा संस्थाका प्रमुख मोत्से नाकासु यसै फागुन महिनाको २८ र २९ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् । आफूहरुले पाँच सय नेपाली लैजान चाहेको अनौपचारिक रुपमा जानकारी पाएको भन्दै अधिकारीले पीबा प्रमुख नाकासुसँगको छलफलमा ठूलो संख्यामा नेपालीहरु इजरायलको रोजगारीमा जान इच्छुक रहेकाले पाँच सय मात्र नभई संख्या बढाउनआग्रह गर्ने तयारी गरेको बताए ।
 
यसका अतिरिक्त परराष्ट्र मन्त्रालयस्तरमा पनि मार्च १९ र २० तारेखमा नेपालमा बहुआयामिक छलफल हुने भएको छ । सूचना अधिकारीले ती छलफलमा पनि केयर गिभरसहित इजरायको अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने विषयमा छलफल हुने आफूले जानकारी पाएको बताए । इजरालमा केयर गिभर सहित कृषि क्षेत्र विदेशी कामदारका लागि आकर्षक मानिन्छ ।
 
करीव ३ वर्ष अघि नेपाल र इजरायलबीच पाइलट प्रोजेक्टमा नेपाली केयर गिभर लैजाने सहमति भएको थियो । उक्त सहमति अनुसार पहिलो चरणमा ५८ जना गइसकेका छन् भने दोस्रो चरणका २५ जनाको श्रम सम्झौता आएको छ । बाँकी ३३ जनाको श्रम सम्झौताको प्रतिक्षा भइरहेको अधिकारीले जानकारी दिए ।
 
जीटूजीका माध्यमबाट केयर गिभरमा इजरायल जाने नेपाली कामदारको तलव मासिक १ लाख १५ हजारको हाराहारीमा हुने गरेको छ भने मानव अधिकारका सबै पक्ष सवल रहेकाले महिला कामदार अत्यन्तै सुरक्षित रहने गरेका छन् ।
 
Published on: 9 March 2018 | Madhyanha

Back to list

;