s

इराक र अफगानिस्तानका नेपालीद्वारा दशैँमा फर्किने वातावरण बनाइदिन माग

Year of Publication: 1 October 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

श्रमस्वीकृति नलिई द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तान र इराकमा कार्यरत नेपालीले दसैं तथा तिहारमा स्वदेश आई पुनः रोजगारमा फर्कने वातावरण बनाइदिन सरकारलाई गुहारेका छन्। उनीहरूले यसका लागि पाकिस्तानस्थित नेपाली दूतावासलाई आवश्यक पहल गरिदिन माग गर्दै निवेदन दिएका छन्। 'निवेदन दिने निरन्तर आइरहेका छन्।

केही आधार बनाएर रोजगारमा फर्काउन सकिन्छ वा सकिँदैन भन्ने निर्णयका लागि निवेदन मन्त्रालय पठाएको छु,' पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले नागरिकसँग टेलिफोनमा भने। राजदूत पौड्यालका अनुसार श्रमस्वीकृति नलिई कार्यरत नेपालीको संख्या अफगानिस्तानमा १५ हजार र इराकमा १२ हजारभन्दा बढी छ। इराक पुगेकासँग भिसा भए पनि श्रम स्वीकृति नलिई अफगानिस्तान पुगेका अधिकांशसँग त्यहाँको भिसासमेत छैन। 

सरकारले वैदेशिक रोजगारका लागि इराक जान पूर्ण प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका सीमित 'सुरक्षा सेवा' मा मात्र संस्थागत रूपमा जान पाउने व्यवस्था छ। सुरक्षा सेवामा काम गर्न अफगानिस्तान जाँदा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिन अनिवार्य छ। इराकमा भने द्वन्द्व चर्किएपछि श्रम स्वीकृति बन्द छ। 

सरकारले प्रतिबन्ध लगाए पनि वर्षेनि हजारौं नेपाली बिना श्रमस्वीकृति इराक र अफगानिस्तान पुग्ने गरेका छन्। उनीहरू प्रायः संयुक्त अरब इमिरेट्स (युएई)सम्म 'भिजिट भिसा' मा जान्छन्। अफगानिस्तानमा काम गर्ने जानेलाई सम्बन्धित रोजगारदाता कम्पनीले हेलिकप्टर तथा जहाज चार्टर गरी युएईको दुबईबाट कार्यस्थल पुर्याउने गर्छन्।

Published on: 1 October 2013 | Nagarik

Back to list

;