s

हर्ष न बिस्मातको वैदेशिक रोजगार

Year of Publication: 20 October 2014 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

विश्वभरि छरिएका ३५ लाख नेपालीलाई भेटेर सोधियो भने तिनीहरूमध्ये आधाजसोबाट जवाफ आउनेछ, 'आफ्नै देशमा काम गरेर बस्ने वातावरण हुने हो भने हामी तुरुन्तै फकिन्र्छौं ।' तैपनि हरेक दिन नेपालको एयरपोर्टबाट विदेशिनेको संख्या करिब १५०० भन्दा बढी नै छ । मासिक डेढ सय अमेरिकी डलर कमाउन खाडी मुलुक, मलेसिया लगायतका देशहरूमा पुगेका करिब १५ लाख कामदारले आफू जाने बेलामा खचिर्एको करिब एक लाख रुपैयाँमध्ये विदेशी रोजगार दलाल र हवाइजहाजको टिकट खर्च गरी प्रतिव्यक्ति ५० हजारका दरले हुनआउने ७५ अर्ब रुपैयाँ विदेशमा गइसकेको अवस्था छ ।

जापान, कोरिया, हङकङ र सिंगापुर आदि एसियन देशमा विदेशीहरूलाई स्थायी बसोबास गर्ने अनुमति नदिइने हुँदा कमाएर बचेको पैसा नेपालमा नै भित्रिने गर्छ । तर तलब थापेर खल्तीभरि पैसा लिएर घुम्न गएका युवाहरू कोरियाको इथेवन, मलेसियाको कोतोराय, सिङ्गापुरको लिटल इन्डिया आदिका सुन्दरीहरूका कोठामा पुगेपछि डेरामा फर्किनलाई ट्याक्सी भाडा पनि नबचेको कुरा कुनै नौलो होइन । थोरैले मात्र आफू जांँदा खर्चेको पैसा उठाएर धेरथोर नेपाल पठाउँंछन् । धेरैले त आफ्नो लगानी पनि उठाउनसकेका हुदैनन्। हो, यही जाँदा खर्च गरेको पैसा डलरमा रेमिट्यान्स भएर नेपाल फर्किएको पैसामा देश चलेको छ । यही रेमिट्यान्सको आडमा त होला नि नेताहरू बिरामी पर्दा विदेशमा उपचार गराउनलाई करोडौं रुपैयाँ सरकारी ढुकुटीबाट दिने गरेका । 

अस्ट्रेलिया, युरोप र अमेरिकामा स्थायी बसोबास गर्ने अनुमति दिइने गरेको हुँदा उक्त अनुमति पाइसकेकाहरूले आफूले कमाएको रकम व्यापार, व्यवसाय र यहीं घरजग्गामा लगानी गर्ने र नेपालमा भएको पनि बेचबिखन गरी ल्याउने गरेको अवस्था छ । तर उनीहरू विदेशिँदा हवाइजहाजको टिकट र ट्राभल चेक गरी करिब ३ लाख रुपैयाँ खर्च गर्छन् । यसरी बाहिरिएकाहरू करिब २० लाखको संख्यामा भएकोले उक्त रकम ६ खर्ब हुनआउँछ । अझ भिसा शुल्क र दलालहरूले ठग्ने पैसाको हिसाब गर्‍यो भने त अति नै कहालीलाग्दो रकम हुनपुग्छ । सरकारले यी सबै आँकडाको लेखाजोखा राख्नसक्यो भनेमात्र रेमिट्यान्सको फलदायिकताबारे प्रस्ट हुने थियो । 

रेमिट्यान्सले देशलाई फाइदै भएको छैन भन्न खोजिएको कदापि होइन । नेपाल सरकारका सिंचाइ मन्त्रीलाई अमेरिकामा भेट्दा भनेको थिएंँ, 'विदेशिएको नेपाली श्रमलाई आफ्नै देशमा उपयोग गर्ने कोसिस गर्नुपर्‍यो' । उहाँले 'रेमिट्यान्सले मात्र त देशको अर्थतन्त्र धानेको छ' भन्नुभएको थियो । त्यो भनाइमा केहीमात्र भने पनि सत्यता त होला नै । तर आज गाउँघरमा मलामी जाने केटा मान्छेको अभाव भएको दुःखेसो सुन्ने कोही भएन । भारत हुँदै साउदी अरब पुगेकी चेली दुई जीउकी भएर अलपत्र परेको अवस्थामा नेपाली दाजुभाइहरूले चन्दा उठाएर नेपाल फर्काए पनि भोलि कसैले सोध्यो भने बच्चाको बाबु को हो भन्ने ? साउदीका एकै परिवारका बाउ लगायत ९ जना छोराले पालैपालो बलात्कार गर्दा पीडा खप्न नसकेर मृत्यु भएकी चेलीको लास नेपालको अध्यागमन हुँदै स्वदेश फर्किए पनि लासको सरकारलाई के वास्ता ? रेमिट्यान्समात्र भए पुगिहाल्यो नि । फल पो मीठो हुन्छ । रुख, हाँगा र पातको के मतलब ? कतारमा भवन निर्माणको काम गर्दागर्दै फलामले थिचेर मरेका हर्के दाइका बिचल्लीमा परेका लालाबाला छोराछोरीहरू र सिन्दूर पुछिएकी आफ्नी अर्धाङ्गनीको बिजोगमा सहानुभूतिमात्र भए पनि दिन सरकार पुगिदिने हो भने मृतआत्माले पनि शान्ति पाउने थियो होला । गलामा पोते र सिउँदोमा रातो सिन्दूर लाएर खाडी मुलुक गएकी छोरी धेरै वर्षपछि बुर्का लएर, काखमा छोरी च्यापेर झोलामा कुरान राखेर फर्केकी छन् । 

भञ्ज्याङमा प्रतिस्थापन गरिएको दर्शनढुङ्गाको मूर्तिलाई पाती चढाइ ढोगेर विदेशिएका हिन्दु फर्केपछि टाउकोमा रुमाल राखेर दिनमा ३ चोटी नमाज पढ्ने भएका छन् । सुत्ने कोठामा कुरान राख्ने भएका छन् । एम्बेसीबाट भिसा पाएपछि पासपोर्ट लिएर बंगलामुखी माईलाई दर्शन गरेर अस्ट्रेलिया पुगेका हरिनारायण ६ महिना नपुग्दै नेपाली क्रिस्चियन पास्टर सुब्बाले ब्याप्टाइज गराइदिए । छुट्टीमा नेपाल गएको बेला गाईको मासु कहाँ किन्न पाइन्छ भनी कठमाडौंको खिचापोखरीका मासु पसलेलाई सोध्दै हिँडेको देखेर पसले नै छक्क पर्नु स्वाभाविकै त हो नि । धर्म परिवर्तन गर्नु जोकोहीको पनि अधिकारको कुरा हो, तर त्यति ठूलो परिवारमा एक जनाले मात्र त्यसो गर्दा हरेक चाडबाड र संस्कारमा पर्नगएको अप्ठ्यारोपनको गुनासो गरेरमात्र कहाँ सल्टिँदो रहेछ र ?

मलेसियामा सघैं काम गर्दा साधारण भनाभनमा पनि मलेसियन तमिलहरूले तरवार निकालेर बोका छिनेजस्तो छिनेपछि गिँडिएका टुक्राटुक्री पोको पारी पठाएको लास नेपाल एयरपोर्टमा लास कुरिरहेका आफन्तहरूले देख्दा मनमा भक्कानो पारी रुँदै सहारा बिनाको देश ठानी खिन्न नहुन् पनि कसरी ? त्यहाँ अवस्थित राजदूतावासले तिनीहरूलाई करबाहीको माग गर्ने हिम्मत र औकात हुनु पनि पर्‍यो नि । अपेक्षा गर्नुको के अर्थ रहला र ? नेपालमा गरिखाने वातावरण भइदिएको भए 'इल वा सिक्या साराम' भनेर हेप्ने कोरियनको हेपाइ किन सहनुपथ्र्यो र ? नेपाल प्रहरीको असईमा जागिरे बूढा र डेढ वर्षकी छोरीलाई छोडेर अमेरिका पुगेकी चेली कलेजको शुल्क तिर्न नसकेर त्यहाँको ४५ वर्षको बूढोसँग बिहे गरेपछि त्यही प्रेमजालमा परेर नेपालको पति र छोरीलाई समेत वास्ता नगर्नु पनि खासै अस्वाभाविक होइन । किनकि जवानीमा वासनाले छट्पटाहट ल्याउने कुरा सर्वविदितै छ । त्यसैले विदेशिएका श्रीमानका उमेरदार श्रीमतीहरू लुकीछिपी रंगेलिया मनाइरहँदा रङ्गेहात प्रहरीको फन्दामा परेका समाचारहरू बेलाबखतमा पढ्न र सुन्न पाइने गरेका ।

लन्डनमा नौ वर्षसम्म अवैध रूपमा बसी रातदिन खटी कमाएर नेपाल पठाएको ४ करोड रुपैयाँले काठमाडौंको बानेश्वरमा एउटा साढे तीन तलाको घर र बाँंकी २ करोड रुपैयाँ बैंकमा राख्न श्रीमतीलाई अह्राएर अब बाँकी जीवन सुखसयलसाथ बिताउने योजनाका साथ नेपाल फर्केका कर्मवीरले त्यहाँ आफ्नी पत्नी र सम्पत्ति दुबै भेटेनन् । घर किनेको केही महिनामा नै श्रीमतीले पचास लाख घटेर बेचेर सबै पैसा लिएर अर्कैको लोग्नेसंँग पोइला गैसकेकी रहिछन् । नेपालमा यस्ता सुन आइमाईहरूको तलास गर्ने फटाहाहरू प्रशस्तै भैसकेका छन् । हुन त आफ्नो जवानीलाई कहिलेसम्म आफ्ना विदेशिएका पतिको प्रतीक्षामा सिध्याइदिने र ? यता अमेरिकामा दैनिक १२ घन्टा घाँटी हल्लाएर आँखीभौंको रौं उखालेर कमाएको पैसा घर व्यवस्था मिलाउनलाई नेपाल पठाउने गरेकी चेली नेपालमै बसेका श्रीमानले नयाँ गाडी किनेर हरेक दिन केटी फेरीफेरी लिएर कहिले नगरकोट र कहिले पोखरा गर्दै पैसा उडाउने गरेको कुरा यतिका वर्षपछि थाहा पाएपछि सिरानीले टाउकोमा हान्दै रुँदै गरेको देख्दा देख्नेको पनि कसरी मन थामिएला र ? सात जुनीसम्म पनि पतिपत्नी एउटै हुन्छन्, शरीर खालि एकअर्काको लागिमात्र हो भन्ने पवित्र नेपाली परम्परा आज तोडिएर छताछुल्ल भएको छ, बेलैमा सम्बन्धित निकायको ध्यान नजाने हो नेपाली संस्कार क्षतविक्षत हुन अब धेरै समय लाग्ने छैन । 

रेमिट्यान्सलाई मात्र महत्त्व दिइरहने हो भने यस्ता सामाजिक विरक्तिले ल्याएका विकराल समस्यापछि चाहेर पनि निर्मूल पार्न सकिने अवस्था रहने छैन । त्यसैले ठूलो धनराशि विदेशमा पठाएर भित्र्याइने डलरलाई भन्दा बाहिरिने त्यो ठूलो धनराशिलाई स्वदेशमै लगानी गरेर उत्पादित नेपाली सामान निर्यात गरेर डलर भित्र्याउने कोसिस गर्नु उचित होला । ज्यानको बाजी थापेर विदेशिने श्रमलाई स्वदेशमै रोजगार दिनसके मरे पनि आफ्नै मातृभूमिमा आफ्नै परिवारको काखमा परमधाम हुने मौका मिल्न सक्छ ।

Published on: 20 October 2014 | Kantipur

Back to list

;