s

‘हरेक दिन मृत्युलाई जितेर बाँच्नुपर्छ’

Year of Publication: 1 December 2023 | Nagarik

Published by: CESLAM

पतिको उपचारका लागि भारत पुगेकी म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौंडाकी हीराकुमारी चोखाललाई नेपाली दलाल ग्याल्पा लामाले उपचारमा समेत केही आर्थिक सहयोग गर्दै जागिरको प्रलोभनमा कुबेत पठाए।

पतिको उपचार, घरायसी प्रयोजनका लागि वित्तीय संस्थाबाट लिएको कर्जा, छोराछोरीको शिक्षादीक्षालाई सहज हुने गरी पति गोविन्दलाई घर पठाएर भारतबाटै फ्री भिसा र फ्री टिकटमा कुबेत पुगेकी हीराकुमारीलाई कुबेती एजेन्टले आठ सय कुबेती दिनारमा बेचेपछि पाँच महिनादेखि निरन्तर चर्को श्रम शोषणमा परेकी छिन्।

हीराकुमारीजस्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटकी २४ वर्षीया एक युवतीलाई आफन्तले आकर्षक जागिरको प्रलोभनमा गत भदौ ७ गते कुबेत पठाएपछि अहिलेसम्म उनी चार कुबेतीको घरमा बिक्री भइसकेकी छिन्।

कुबेतमा एजेन्टसँगै कुबेती नागरिकले घरेलु कामदारका रूपमा कम्तीमा ६ महिनासम्म काम गर्ने गरी खरिद गर्ने गर्दछन्। कुबेतमा बेनपा–९ घतान, मालिका–१ निस्कोट र मालिका–७ बिमका तीन घरेलु कामदारले उद्धारका लागि त्यहाँ रहेका म्याग्देलीसँग याचना गरेका छन्।

घरपरिवारलाई छोडेर दलालको प्रलोभनमा घरेलु कामदारका रूपमा कुबेतीको घरमा काम र भाषा नजान्दा १८ घण्टासम्म एउटै कोठामा राखेर साहुले दुःख दिने गरेको पीडित हीराकुमारीले बताइन्।

‘हरेक दिन मृत्युको मुखमा पुगेर फर्किनुपर्छ, अवैध बाटोबाट आउने महिलालाई कुबेत मृत्युको मार्ग जस्तै रहेछ,’ हीराकुमारीले भनिन्।

उनले हरेक दिन मानसिक यातनाबीच कठोर काम गर्नुपर्ने, काम, तलब र अन्य सेवासुविधाबारे कुनै जानकारी नहुने बताइन्।

‘खाडीमा घरेलु कामदारलाई बजारमा सामान किनेजस्तै रहेछ, यहाँ काम गर्ने, खाने र सुत्ने निश्चित समय हुँदैन,’ हीराकुमारीले भनिन्।

उनले मालिक र उनका परिवारको दैनिक यातना सहन नसकेर आँखाबाट आँसु झार्दै दुःखेसो पोखिन्। महिलालाई दलालको प्रलोभनमा अवैध मार्गबाट कुबेत नआउनसमेत आग्रह गरेकी छिन्। ‘बिन्ती छ, कोही पनि अवैध बाटोबाट नआउनुहोला, यहाँ कमाउनेभन्दा गुमाउने धेरै नेपाली भेटिन्छन्,’ हीराकुमारीले भनिन्।

उनीजस्तै निस्कोटकी २४ वर्षीया युवतीले अहिलेसम्म राम्रोसँग खाना र दलालले भनेअनुसार काम गर्न नपाएको गुनासो गरिन्। ‘दलालले आफूअनुकूल पैसा पाए बिक्री गर्छ, गैरकानुनी रूपमा आउँदा सजिलै फर्किन पनि मुस्किल हुने रहेछ,’ उनले भनिन्।

नेपालले कुबेतलगायत खाडी मुलुकमा घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला नगरेपछि मानव तस्करले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन्। पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुबेत पुगेका म्याग्देली महिला कामदारले सहयोगको अपिल गरेको मोना कुबेतका महासचिव विमल पुन मगरले बताए।

‘भारत हुँदै आउनेलाई उद्धारमा समस्या हुन्छ, कानुनी प्रक्रियासमेत नबुझ्दा धेरै दुःख पाउनुपरेको छ,’ महासचिव पुन मगरले भने। घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध आउने गरे पनि गैरकानुनी तरिकाबाट पुगेकालाई सहजै उद्धारमा समस्या हुने गरेको छ।

अवैध बाटोबाट गएकाहरू सजिलै स्वदेश फर्किन नसक्ने र कानुनी कारबाहीको डरले मालिकबाट जतिसुकै धाकधम्की र यातना पाए पनि बँधुवा मजदुरको रूपमा बस्नुपर्ने अवस्था रहेको म्याग्देलीको भनाइ छ।

Published on: 1 December 2023 | Nagarik

Link

Back to list

;