s

घरेलु कामदार लैजान युएईको चासो, अब युएई जान पैसा नलाग्ने

Year of Publication: 5 November 2019 | Setopati

Published by: CESLAM

युएईले घरेलु कामदारको रुपमा नेपालीलाई लौजान चासो देखाएको छ । ५ महिनाअघि नेपाल र युएईबीच भएको श्रम समझदारीलाई कायान्वयन गर्न काठमाडौंमा बसेका दुई देशका अधिकारीहरुको उच्चस्तरीय २ दिने बैठकले युएइको तर्फबाट घरेलु कामदारको रुपमा लैजान नेपाली पक्षलाई प्रस्ताव गरेको हो। ‘उहाँहरुले घरेलु कामदारलाई लैजान प्रस्ताव गर्नुभयो। हामीले त्यस विषयमा प्रस्तुती दिन भनेका थियौं, उहाँहरुले लामो प्रस्तुती दिनु भयो’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने। ‘तर, हामीले अहिले नै त्यस विषयमा भने सहमती जनाएका छैनौं। हामीले अध्ययन गरेर निणय गर्ने भनेका छौं’, सहसचिव घिमिरेले थपे। युएईमा घरेलु कामदारसँग सम्बन्धित नयाँ कानुन पारित भएको छ। त्यसैले उनीहरुले नेपाली कामदारलाई पनि घरेलु श्रमिकको रुपमा लैजान विशेष जोडबल गरेका थिए ।

यसअघि नेपाल र युएईबीच सामान्य कामदार लौजाने विषयमा मात्रै सहमती भएको थियो। ‘घरेलु कामदारसँग विशेषगरी सुरक्षाको कुरा जोडिने भएकाले हामीले अहिले नै निर्णय नगरेको हो’, घिमिरेले प्रष्टाए।‘यस विषयमा संसदिय समितिमा पनि लामो छलफल भइसकेको थियो। तर, त्यसको विषयमा आधिकारीक रुपमा के गर्ने भन्ने नभएकाले हामीले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताएका छौं, उनले भने।

अब युएई जान पैसा नलाग्ने

गत जेठ ३१ मा भएको सचिवस्तरीय सहमतीलाई कार्यन्वयन गर्न बनेको सयुक्त कार्यदलले यो बैठकमा युएई जानको लागि कुनै पनि शुल्क नलाग्ने गरी सहमती गरेको छ। उक्त श्रम समझदारीमा कुन शीर्षकमा, कसले कति तिर्ने भन्ने विषयमा प्रविधिक समूहको बैठकले निर्णय गरेपछि कार्यन्वयन हुने भन्ने थियो। ‘हामीले बैठक बसेर निर्णय गरेका छौंं, अब यूएईसित कामदार आपूर्ति प्रक्रियामा लाग्ने सबै खर्च युएईकै रोजगारदाताबाट लिनु पर्नेछ, कामदारले कल्याणकारी कोष, म्यादी विमा र अभिमुखीकरणबाहेक शीर्षकमा खर्चिनु पर्दैन’, श्रमका सहसचिव घिमिरेले भने।

Published on: 5 November 2019 | Setopati

Link

Back to list

;