s

'घरेलु कामका लागि विदेश जाने श्रमिकको गृह र परराष्ट्र मन्त्रालयले पनि जिम्मा लिनुपर्छ’

Year of Publication: 15 August 2019 | Nagarik

Published by: CESLAM

प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा बहुपक्षीय छलफल गर्ने भएको छ।

समितिले मंगलबार बोलाएको बैठकमा बोल्ने धेरै सांसदहरुले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा गृह तथा परराष्ट्र मन्त्रालय समेत जिम्मेवार हुनुपर्ने भनेर बिषय उठाएपछि समितिले निर्णय नै गरेर बहुपक्षीय छलफल गर्न लागेको हो। समितिले श्रम मन्त्रालयसँगै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग र संघीय संसद्को महिला समिति सहितको छलफल गर्ने भएको छ।

घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको समस्या एकल नभएर बहुआयामिक भएको भन्दै बहुपक्षीय छलफल पछि मात्र निर्णय लिइने सभापति बिमल प्रसाद श्रीबास्तवले बताए।

नेपाल सरकारले खाडी लगायतका मुलुकमा घरेलु कामदारका रुपमा काम गर्न जान यहीँ संसदीय समितिले रोकेको पनि लामो समय भैसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री गोकर्ण विष्टले घरेलु काममा रहेकाहरुलाई पुनः श्रम स्वीकृति दिने तयारी गरे पनि संसदीय समितिले बन्देज लगाएका कारण आफ्नो निर्णय कार्यान्वयन गर्न सकेका छैनन्। समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई बोलाए पनि अनुपस्थित भएपछि सदस्यहरुले असन्तुष्टि ब्यक्त गरेका थिए। समितिको छलफलमा आएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बैधानिक बाटोबाट गएका र सम्मानपूर्वक काम गरिरहेका श्रमिकलाई मात्र भए पनि घर आउने बाटो खोल्नु पर्ने आवश्यकता रहेको बताए। संसदीय समितिको निर्णयले बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले आफ्नो परिवारसँग भेटघाट गर्न पाउने उनीहरुको अधिकार हनन भइरहेको भन्दै परिवारका आफन्तहरुले निर्णय सच्याउन माग गरिरहेका छन्।

Published on: 15 August 2019 | Nagarik

Back to list

;