s

घर फर्कने पालो कुर्दै

Year of Publication: 16 August 2021 | Kantipur

Published by: CESLAM

देवेन्द्र भट्टराई 

काठमाडौँ — पोखरा बैदामका राम गोदारले आफू कार्यरत अफगानिस्तानको एक सुरक्षा कम्पनी गार्डावर्ल्ड सेक्युरिटीबाट गत बिहीबार एकाएक छुट्टी पाए । उनीसहितका २२ जना कामदारलाई एकाएक काबुल एयरपोर्टनजिकैको क्याम्पमा सारियो र भनियो– पर्ख, पालो आउँछ ।

अफगानिस्तानको बेलायती, अमेरिकी, जापानीसहितको कूटनीतिक निकायमा सुरक्षा दिने गार्डावर्ल्ड कम्पनीमा ५ सयभन्दा बढी नेपाली रहेको जानकारी गोदारले पाएका थिए । तर, ती सबै नेपाली श्रमिक साथीभाइ यसरी काबुल एयरपोर्टनजिकै आइपुगेर घरफिर्तीको पालो पर्खेलान् भन्ने उनलाई लागेकै थिएन । ‘आज मात्रै चार्टर फ्लाइटमा ३० जना नेपाली र ६५ जना भारतीय साथीभाइ यूएईको दुबई उडेका छन्,’ उनले सुनाए, ‘म गार्डावर्ल्डको लजिस्टिकमा रहेकाले बाहिरको धेरै कुरा थाहा हुन्न, हामी पनि मंगलबारभित्र दुबई उड्ने कुरा सुनेको हुँ । त्यही तयारीमा झोला कसेर उड्ने घडी पर्खिरहेका छौं ।’

रोजगारीकै सिलसिलामा काठमाडौंकै एक म्यानपावर एजेन्सीमा ३० लाख रुपैयाँ खर्चेर काबुल पुगेका गोदारले एक वर्षअघि सेक्युरिटीको लजिस्टिकमा काम पाएका थिए । ‘मासिक १ लाख रुपैयाँमाथि तलब छ, जुलाई महिनासम्म तलब बुझेकै हुँ,’ उनले भने, ‘एकाएक कम्पनीले अहिले काम बन्द भएको भन्दै क्याम्पमा ल्याएर राखेको छ ।’ तालिवानीको बढ्दो प्रभावबारे थाहा नपाइकनै घर फर्कनका लागि क्याम्पमा राखिएको स्वीकार गर्दै गोदारले ‘आफूजस्तै यो सत्ता परिवर्तन र राजनीतिक उलटपुलटबारेमा बेखबरको नेपालीको संख्या निकै रहेको’ बताए ।

काबुलनजिकैको जलालाबादमा रहेको सेक्युरिटी ग्रुप ग्रिनभिलेजमा १० वर्षभन्दा बढी काम गरेर अहिले काबुलमा आएका तनहुँ तुरतुरेका एक सुरक्षाकर्मीका बुझाइमा ‘भाडाका सिपाही भनेर चिनिने र बुझिने श्रमिकको सूचीमा नेपाली रहेको’ र यही कारण अहिले भगौडाझैं बनेर आफ्नो जीवनरक्षाका निम्ति नेपालीले सबैभन्दा बढी हारगुहार गरिरहेको स्थिति छ । ‘जीवनरक्षाको यो घडीमा समेत हामी घरफिर्तीमा पछि परेका छौं,’ उनले भने, ‘आइतबारबाटै भारतीय सुरक्षाकर्मी चार्टर विमानबाट दुबई जान थालेका छन्, सोमबार पनि उनीहरूकै पालो भनिएको छ । त्यसपछि मात्रै उड्न पाउँला, हामी आफ्नो पालो पर्खाइमा छौं ।’

वितण्डा मच्चिएपछिको स्थितिमा परराष्ट्र मन्त्रालयले बल्ल अफगानिस्तानमा रहेका नेपालीको तथ्य–तथ्यांक बटुल्न थालेको पुरानो ग्रिनभिलेज सेक्युरिटी बेसका एक अनुभवी सुरक्षाकर्मीले बताए ।

‘अहिले धेरैजसो विदेशी नियोगका कर्मचारी वा विदेशी नागरिक घर फिरिसकेका छन्,’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका एक प्राध्यापक भन्छन्, ‘काबुलमा रहेका सबै नेपाली श्रमिकहरू अझै घर फिर्न पाइने पर्खाइमा छन् ।’

ग्रिनभिलेज सेक्युरिटीमा कार्यरत प्रकाश केसीका अनुसार सोमबारभित्रैमा अमेरिकी दूतावास पूरापूर खाली हुँदै छ । ‘हाद कम्पनी, आईडीपी, गार्डावर्ल्ड गरेर झन्डै २ हजार नेपाली घर फर्कने क्रममा छन्,’ उनले भने । विगतको तथ्यांकमा १० हजारभन्दा बढी नेपाली काबुलमा रहे पनि पछिल्ला वर्षमा संख्या घटेको उनले बताए । केही श्रमिकले इस्लामाबाद र दिल्लीस्थित नेपाली दूतावासमा फोन गरेर घर फर्कन पाउने सम्भावनाबारे कुरा गर्न चाहे पनि नसकेको बताएका छन् ।

Published on: 16 August 2021 | Kantipur

Link

Back to list

;