s

घर फर्कन छ महिनाको समय

Year of Publication: 3 August 2019 | Gorkhapatra

Published by: CESLAM

मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आ–आफ्नो देश फर्कन छ महिनाको अवसर दिएको छ । अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार वा अगस्ट १ तारिखदेखि सुरु भएको छ । त्यहाँको सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख)सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत अवैधानिक रूपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने छन् । भिसा र राहदानीको म्याद सकिएर अवैधानिक रूपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ । यो कार्यक्रम अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवाना स्वरूप ७०० रिङ्गिट र राहदानी नभएकाहरूले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १६० रिङ्गिट तिर्नुपर्नेछ । एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ । त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्छ । व्यक्ति स्वयं उपस्थित हुन दूतावासले सूचनामार्फत आग्रह गरेको छ ।

दूतावासले सूचनामार्फत आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरूको बिगबिगी हुने भएकाले त्यसबाट जोगिन सचेत गराएको छ । विगतका वर्षमा यस्ता कार्यक्रमका नाममा ठगी भएका थुप्रै घटना बाहिर आएकोप्रति सचेत गराउँदै दूतावासले यसपटकको आममाफीमा ठगीबाट जोगिन आग्रह गरेको छ । दूतावासका अनुसार अवैधानिक भएर बसेका व्यक्ति स्वदेश फर्किनका लागि आवेदन दूतावासले निःशुल्क भरिदिन्छ, जरिवानास्वरुप मलेसियन दूतावासलाई ७०० रिङ्गिट, ट्राभल डकुमेन्टको १६० रिङ्गिट र प्लेनको टिकट स्वयं व्यक्तिले नै काट्नुपर्छ । दूतावासले मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिकलाई तोकिएको समयमा स्वदेश फर्किन आग्रह गर्दै यति गर्दा पनि नर्फकिए यसबाट हुने असर वा क्षति सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनुपर्ने जनाएको छ ।

Published on: 3 August 2019 | Gorkhapatra

Back to list

;