s

गति लिँदै वैदेशिक रोजगार

Year of Publication: 5 October 2021 | Gorkhapatra

Published by: CESLAM

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै ३६ हजार ४० जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८२२ महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । गत साउनमा २५ हजार ४२८ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार १८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । यस्तै दुुई हजार ६७१ अर्धदक्ष श्रमिक विदेशिएका छन् । २७ जना व्यावसायिक र आठ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

टोकन प्रणालीबाट श्रम स्वीकृति
वैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको अभाव कारण देखाउँदै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिन थालेको हो ।
उक्त कार्यालयले सूचना सार्वजनिक गर्दै अनलाइन प्रणालीको शुक्रबार र भौतिक रूपमा उपस्थिति हुनेका लागि बिहान ९ बजेदेखि १०ः१५ बजेसम्म सीमित सङ्ख्यामा टोकन जारी गर्दै आएको छ । कार्यालयले सीमित सङ्ख्यामा मात्रै टोकन वितरण गरिएकाले सेवाग्राहीलाई चनाखो भएर कम्प्युटरमा अनलाइन प्रणालीका आधारमा टोकन लिन आग्रह गरेको छ ।
टोकन सीमित हुने भएकाले भौतिक रूपमा उपस्थित हुने सेवाग्राहीले फाराममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ ।
अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको चार दिनसम्म लाग्ने भन्दै धैर्य गरेर प्रतीक्षा गर्न पनि आग्रह गरेको छ । भौतिक उपस्थितिमा श्रम स्वीकृति नवीकरण गर्ने टोकनको सोही दिन र त्यसको भोलिपल्ट मात्र रहेपछि कम्प्युटर प्रणालीले स्वतः रद्द गर्छ ।
कार्यालयले काठमाडौँमा भौतिक रूपमा उपस्थित हुन नसक्नेलाई टोकन लिएर ठाउँ नओगट्न पनि सेवाग्राहीलाई आग्रह गरेकोे छ । त्यसैगरी कार्यालयले श्रम गन्तव्य देशमा उड्नुभन्दा ९० दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकाले श्रम स्वीकृतिको यकिन गरेर मात्र जहाजको टिकट लिन पनि सुझाव दिएको छ ।

Published on: 5 October 2021 | Gorkhapatra

Link

Back to list

;