s

गैरकानुनी प्रस्थान अनुमति दिएको दाबीसहित अध्यागमनका १३ कर्मचारीमाथि अख्तियारको मुद्दा

Year of Publication: 23 October 2019 | Gorkhapatra

Published by: CESLAM

कात्तिक ५ गते । निर्देशिका विपरित २४८ व्यक्तिलाई प्रस्थान अनुमति दिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनामाथि कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले अवैध रुपमा प्रस्थान अनुमति दिदा अधिकृत कमलप्रसाद पराजुलीसहितका कर्मचारीले प्रति व्यक्ति दश हजार रुपियाँ घुस वापत लिएको दाबी गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अध्यागमन अधिकृत पराजुलीसहितका १३ जना कर्मचारी संयन्त्रमाथि २४ लाख ८० हजार विगो कायम गरी सजायको माग गरिएको जानकारी दिनुभयो । आयोगका अनुसार उक्त कार्यमा संलग्न पराजुलीसहित, मनहरी बराल, दिनेश के एम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकालमाथि सजायको माग गरिएको छ । त्यसैगरी, आयोगले विरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाई, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपानेमाथि सजायको माग गर्दै आरोप पत्र दायर गरेको छ । आयोगका अनुसार विमानस्थलका कर्मचारी संयन्त्रले बिचौलियासँगको मिलेमत्तोमा दुई दिनमा मात्रै २४८ जनालाई गैर कानूनी रुपमा प्रस्थान अनुमति दिएको जनाएको छ ।

आयोगको अनुसन्धानले प्रस्थान अनुमति दिएर अनुमति दिने अधिकारीको पहिचान लोप हुने कार्य गरी प्रमाण नष्ट गर्ने कार्यमा समेत संलग्नता देखिएको छ । आयोगले उक्त प्रकरणबारे सूक्ष्म अनुसन्धान गरिरहेको र शंकास्पद व्यक्तिहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । अध्यागमन अधिकृत पराजुलीले साउन १५ गते डेस्कमा रहेको कम्प्युटरको नेटवर्क थुतेर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै महिला यात्रीहरुलाई बोलाई करीब २० जनालाई कुनै कागजात रुजु नै नगरी अध्यागमन अनुमति दिएको आयोगमा ऊजुरी परेको थियो ।

Published on: 23 October 2019 | Gorkhapatra

Link

Back to list

;