s

ईपीएसको भाषा परीक्षा उत्तीर्णलाई कोरिया लैजाऊ : नेपाल

Year of Publication: 30 November 2019 | Kantipur

Published by: CESLAM

नेपाली कामदार गैरकानुनी हैसियतमा बस्न थालेकामा कोरियाको चिन्ता, भन्यो, ‘कम्प्युटर प्रणालीमा आधारित भाषा परीक्षा सञ्चालन गर’

होम कार्की

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको भन्दै कम्प्युटर प्रणालीमा आधारित परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ । कोरियन मानव संसाधन विकास सेवाका महानिर्देशक किम सुङ जाए नेतृत्वको टोलीले बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई भेटी नक्कली परीक्षार्थीमाथि कडाइ गर्न ध्यानाकर्षण गराएको हो ।

‘ईपीएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रमध्ये नेपालमा मात्र कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागू गर्न बाँकी छ,’ किमले भने ।

नेपालले भने भाषा परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीलाई यथाशीघ्र लैजान कोरियाली टोलीसमक्ष आग्रह गरेको छ । विभागले नेपालस्थित कोरियन संसाधन कार्यालयसँग समन्वय गरी काठमाडौं र पोखरास्थित स्कुलहरूमा परीक्षा सञ्चालन गर्दै आएको छ । हरेक वर्ष परीक्षार्थी बढ्दै गएकाले परीक्षाका लागि मात्रै कोरियाबाट धेरै जना आउनुपर्ने अवस्था छ । सन् २०१९ का लागि भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए । त्यसमध्ये भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जना नोभेम्बर २० मा सीप परीक्षामा सहभागी भएका थिए ।

भेटमा भुसालले भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थीलाई विभागले पक्राउ गर्ने गरेको जानकारी दिएका थिए । कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको छ । भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन् ।

सन् २०१८ सम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएका छन् । जसमध्ये ५९ हजार ६ सय ९८ जना मात्रै कोरिया गएका छन् । परीक्षामा उत्तीर्ण भएर रोजगार फारम भर्नेबित्तिकै कोरियामा रोजगारी पाउने ग्यारेन्टी नभएको काठमाडौंस्थित कोरियाको मानव संसाधन विभाग (एचआरडी) की निर्देशक पार्क सुङ हीले बताइन् । ‘रोजगारदाताले छनोट र करारपत्रमा हस्ताक्षर भएपछि मात्रै रोजगारी ग्योरन्टी हुने हो,’ उनले भनिन्, ‘कामदार कति जना जान्छन् भन्ने कुरा कोरियाका रोजगारदाताको मागमा भर पर्छ ।’ भेटमा महानिर्देशक भुसालले कोरियाले नेपालीलाई उपदानलगायतका व्यवस्था गर्न आग्रह गरे ।

कोरियाको एसियन सांस्कृतिक केन्द्रका डिन किम योङ क्युकले कोरियामा काम गर्न उपयुक्त वातावरण नरहेको बताए । ‘म कोरियामा काम गर्ने वातावरण राम्रो छ भन्दिनँ । दैनिक १२ घन्टाभन्दा बढी खट्नुपर्छ । पारिश्रमिक नपाउने र जबर्जस्ती बहिर्गमन गर्ने स्थितिले त्यहाँ आत्महत्या बढेको छ,’ उनले भने ।

कोरिया जानुअघि कोरियाली राम्रोसँग संस्कृति बुझ्न जरुरी रहेको उनको भनाइ छ । ‘कोरियनहरु अति नै छिटो काम गर्छन् । यहाँहरुले छिटो काम गरेर देखिए पनि साहुजीको आँखामा ढिलो गरेजस्तो देखिन्छ,’ उनले भने, ‘ढिलो काम गर्‍यो भने रोजगारदाताले धेरै गाली गर्छन् । यसले कामदारलाई सधैं तनावमा पार्छ ।’

Published on: 30 November 2019 | Kantipur

Link

Back to list

;