s

एकै व्यक्तिविरुद्ध १ करोड १४ लाखको उजुरी

Year of Publication: 29 January 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

क्यानडा पठाउने भन्दै चितवनका एक व्यक्तिले एकै जनासंग ७१ लाख  रुपैयाँ ठगी गरेकोे उजुरी परेको छ । पछिल्ला दिनमा क्यानडा, अमेरिका र यूरोपको रोजगारीका नाममा ठगीका उजुरी पर्नेक्रम बढे पनि एकै जनाबाट ७१ लाख रुपैयाँको दावी गर्दै विभागमा उजुरी परेको विभागको उजुरी तथा अनुसन्धान शाखाका निर्देशक गोविन्दप्रसाद उपाध्यायले मध्यान्हलाई बताएका छन् ।
 
चितवनकी लिना वस्यातले यही माघ १० गते चितवनकै मनोज खत्री क्षेत्री विरुद्ध वैदेशिक रोजगारमा पठाउने भन्दै ७१ लाख ३५ हजार रुपैयाँ ठगीको उजुरी दर्ता गराएकी छिन् । बस्न्यातका अनुसार क्षेत्रीले उनीसंग किस्ता–किस्ता गरी रकम लिएका हुन् । बस्न्यातले आफूलाई विदेश पठाउने भन्दै लिएको रकमले क्षेत्रीले चितवनमै होटल खोलेर बसेको बताइन् । आश्वासन दिए अनुसार क्यानडा पठाउन नसकेपछि पटक–पटक रकम फिर्ताको माग गरेको तर आज–आज, भोलि– भोलि भन्दै लिएको पैसा पचाउने नियत देखेपछि आफू विभागमा आई उजुरी दर्ता गराएको बताइन् । उनले भनिन्, ‘साह्रै दुःख पाएँ । हातले दिएर खुटलाई दुःख भयो ।’
 
विभागले सोही दिन खत्रीलाई पक्राउ गरी पठाइदिने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाएको छ भने ७१ लाख रुपैयाँ कुन श्रोतको हो बुझन् सम्पति सुद्धिकरण विभागलाई पत्र लेखेको छ । विभागमा पछिल्ला दिनमा क्यानडा र यूरोपको वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै उजुरी पर्ने क्रम तीव्र बनेको छ ।  माघ १० गते नै सुनिता बिष्टले आफूलाई क्यानडा पठाउने भनेर मनोज खत्री क्षेत्रीले ४२ लाख ६५ हजार, दुर्गा कार्की खड्कालाई क्यानडा पठाउने भन्दै शिवकुमार कार्कीले ५ लाख, राजु कार्कीले प्रतीक बास्कोटालाई क्यानडा पठाउन भन्दै १९ लाख रकम लिएको भन्दै उजुरी दर्ता गराएका छन् ।
 
क्यानडा पठाउने भन्दै खत्रीविरुद्ध विभागमा दर्ता भएको उजुरीलाई हेर्दा उनले १ करोड १४ लाख ठगी गरेको देखिन्छ । केही दिन अघि भारतको नयाँदिल्लीस्थित क्यानडाको हाइमिशनका नामबाट नक्कली भीषा बनाइ नेपाली युवाहरुको १८ करोड रुपैयाँ बराबर ठगी गरेको विषयमा प्रहरीले राजधानीको गौशालास्थित स्टनिङ एजुकेसन इन्फरमेसन सेन्टर प्रा.लि.का एक सञ्चालकलाई पक्राउ गरेको थियो ।
 
ठगीका उजुरी दैनिक रुपमा थपिँदा अनुसन्धानमा जटिलता आएको निर्देशक उपाध्यायले बताए । कतिपय कारोवार अन्य विषयका हुने तर वैदेशिक रोजगारको कागज गराएपछि छिटो उजुरी लाग्ने र विपक्षीलाई पक्राउ गरेर रकम उठाउन सजिलो हुने भएका कारण पनि अन्यले वैदेशिक रोजगार ऐनको प्रावधान समाई विभागमा उजुरी दिने गरेको पनि निर्देशक उपाध्यायको अनुभव छ ।
 
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा  ईजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा रकम लिएमा  त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख  रुपैयाँदेखि  पाँच  लाख  रुपैयाँसम्म  जरिबाना  र  तीन  वर्षदेखि  सात  वर्षसम्म  कैद हुने व्यवस्था छ । विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुने व्यवस्था छ । कतिपयले ऐनको यो कडा प्रावधानलाई आफ्नो पक्षमा पार्न जवरजस्ती वैदेशिक रोजगारको कागज गराउने र हतार–हतार विभागमा वैदेशिक रोजगार ठगी मुद्दा दर्ता समेत गराउने गरेको निर्देशक उपाध्यायको अनुभव छ ।
 
Published on: 29 January 2018 | Madhyanha

Back to list

;