s

एक सातामा भारतबाट ७१ महिलाको उद्धार

Year of Publication: 2 August 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

सुरेन्द्र पौडेल

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ। विभिन्न सूचनाका आधारमा नयाँदिल्ली महिला अयोग र स्थानीय प्रहरीले एक सातामा ती नेपाली महिलाको उद्धार गरेका हुन्। बुधबार बिहान दिल्लीबाट ३९, मंगलबार राति बनारसबाट १६ र गत बिहीबार दिल्लीबाट १६ जान गरी कुल ७१ जना नेपाली महिलाको उद्धार गरिएको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्लो एक सातामा भारतबाट उद्धार भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतमा उद्धार गरिएको थियो जबकि पछिल्लो एक सातामा ७१ जना नेपाली महिलालाई भारतमा उद्धार गरिएको छ।
 
‘मानव तस्करको प्रलोभनमा परी भारत आइपुगेका ठूलो संख्यामा नेपाली महिलाको यहाँ उद्धार गरिएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरिप्रसाद ओडारीले टेलीफोनबाट नागरिकसँग भने, ‘उद्धार गरिएका नेपाली महिलाको सम्पर्कमा दूतावास पुगेको छ । हामी उनीहरूलाई सुरक्षित नेपाल फर्काउने तयारीमा छौं।’
 
नयाँदिल्ली महिला आयोगको सहयोगमा दिल्लीको पहाडगन्जस्थित होटल हृदय इनबाट मंगलबार अबेर राति ३९ महिलाको उद्धार गरिएको थियो। नेपाली महिला रहेको होटलमा छापा मार्नका लागि महिला आयोगलाई दिल्ली प्रहरीले सहयोग गरेको थियो। उक्त होटलमा मानव तस्करहरूले नेपाली महिलालाई मात्र राखेका थिए । बुधबार बिहान १ बजे होटलमा छापा मारिएको थियो।
 
‘बिहानदेखि ३९ जना नेपाली महिलालाई पहाडगन्ज प्रहरी चौकीमा राखिएको छ। जबकी उनीहरूको मेडिकल बिहान ११ बजे नै सकिएको थियो । पूरा रात उनीहरू सुतेका छैनन्। उनीहरू एकदमै तनावमा छन्। मैले अनुरोध गर्दा पनि महिलालाई ‘सेल्टर होम’मा पठाइएको छैन। मैले बुझ्न सकेको छैन कि पीडितलाई झन् पीडा थप्ने यो कस्तो प्रक्रिया हो,’ दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले बुधबार साँझ ट्विटरमार्फत भनेकी छिन्।
 
नेपाली दूतावासका काउन्सिलर ओडारीका अनुसार उद्धार गरिएका मध्ये धेरैजसो महिलाले आफू कुवेत जान लागेको बताएका छन् भने थोरैले इराक। थोरैले साउदी अरब र अन्य खाडी राष्ट्र। मानव तस्करहरूले नेपाली महिलालाई खाडी राष्ट्रमा घरेलु कामदार (हाउस मेड)को रोजगार लगाइदिने भन्दै भारतका विभिन्न स्थानमा पु-याउने गरेका छन्। तस्करले उनीहरूलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी राष्ट्र पु-याउने गरेका छन्। केहीलाई श्रीलंका पु-याई त्यहाँबाट समेत खाडी राष्ट्र पु-याउने गरेको पाइएको छ। तस्करहरूले भारतलाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्दै आएका छन्।
 
‘एक सातामा हामीले ३ वटा उद्धार अपरेसन ग-यौं। मुनिरका, मैदानगडी र पहाडगन्जबाट ७३ महिला (७१ जना नेपाली र २ जना दार्जिलिङका) को उद्धार गरियो,’ दिल्ली महिला आयोगकी अध्यक्ष मालीवालले आफ्नो ट्विटमा लेखेकी छिन्, ‘गरिबभन्दा गरिब नेपाली महिला तथा युवतीमाथि शोषण भइरहेको छ । सत्य के हो भने दिल्ली बिस्तारै विश्वमा तस्करीको राजधानी बन्दैछ।’
 
मंगलबार राति बनारसमा पनि तस्करहरूको प्रलोभनमा परी खाडी राष्ट्रतर्फ हिँडेका १६ नेपाली महिलाको उद्धार गरिएको थियो। दिल्ली र बनारस प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको थियो। नेपाली युवतीलाई खाडी राष्ट्र पठाउनका लागि बनारस ल्याएको आरोपमा प्रहरीले राजेन्द्र यादव, पवन खुराना, सदिम नाम गरेका एकजना नेपाली र एक महिलालाई पक्राउ गरेको छ। नेपाली महिला रहेको स्थानमा छापा मार्दा प्रहरीले ६८ वटा नेपाली पासपोर्ट फेला पारेको थियो। खाडी राष्ट्रको भिसा लगाउन तस्करहरुले ती पासपोर्ट ल्याएको हुनसक्ने आकलन गरिएको छ। तस्करहरुले खाडी राष्ट्र पु-याउने क्रममा भारतमा लगेका अधिकांश नेपाली महिला २० देखि २५ वर्षका छन्।
 
यसअघि गत बिहीबार दिल्ली स्थानीय प्रहरीको सहयोगमा मुनरिका क्षेत्रबाट १६ नेपाली महिलाको उद्धार गरेको थियो। उनीहरूलाई पनि खाडी राष्ट्र लैजान तस्करहरूले त्यहाँ पु-याएका थिए। उनीहरूलाई मंगलबार नेपाल फर्काइसकिएको छ । नेपाली दूतावासका अनुसार यसरी उद्धार गरिएका महिलाले खाडी राष्ट्र पुग्नका लागि तस्करलाई दुई लाख रुपैयाँसम्म बुझाउने गरेका छन्। ‘पछिल्लो एक सातामा जुन संख्यामा नेपाली महिलाको उद्धार भएको छ, त्यो निकै गम्भीर छ। यति ठूलो संख्यामा महिला कसरी भारतका विभिन्न स्थानसम्म आइपुगे? उनीहरूलाई सीमाबाट कसरी भारत प्रवेश गराइयो? यस्ता प्रश्नको जवाफ खोज्नुपर्छ,’ ओडारीले भने, ‘सीमामा निगरानी कडा बनाउनुपर्छ।’
 
गत बिहीबार उद्धार गरिएका नेपाली महिलालाई मंगलबार नेपाल फर्काएको नयाँदिल्लीस्थित नेपाली दूतावासले मंगलबार राति र बुधबार बिहान उद्धार गरिएका थप नेपाली महिलालाई स्वदेश फर्काउन आवश्यक प्रक्रिया सुरु गरेको छ। बुधबार नै दूतावासका प्रतिनिधिले उद्धार गरिएका महिलालाई भेटी आवश्यक जानकारी लिएको छ।
 
Published on: 2 August 2018 | Nagarik

Back to list

;