s

एक वर्षमा ५६ हजार कामदार गए मलेसिया

Year of Publication: 1 August 2019 | Naya Patrika

Published by: CESLAM

मुना कुँवर

एक वर्षको अवधिमा करिब ५६ हजार नेपाली कामदार रोजगारीका लागि मलेसिया पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०७५ साउनदेखि ०७६ साउनको १३ गतेसम्ममा ५५ हजार ९ सय ३९ कामदार मलेसियाका लागि श्रम स्वीकृति लिइसकेका छन् ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४३ हजार ६ सय ८५ कामदार मलेशिया गएका छन् । जसमध्ये १० हजार १ सय १६ जना कामदार म्यानपावरमार्फत गएका छन् । ५९ जना व्यक्तिगत रूपमा गएका छन् भने ३२ हजार ८ सय २२ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै व्यक्तिगत कानुनी माध्यमबाट श्रम स्वीकृति लिनेको संख्या ६ सय ९९ पुगेको छ । चालू आवको साउन महिनाको १३ दिनमा ६ हजार ४ सय ६ जनाले नयाँ श्रम स्वीकृति लिएका विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताए ।

स्वास्थ्य संस्थाको अनुगमन यही हप्ता सकिने

मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका संस्थाहरूको यो हप्ता अनुगमन सकिने भएको छ । मन्त्रालयले ०७५ चैत १८ गते सूचना जारी गरी मन्त्रालयमा सूचीकृत भएका र मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई आवेदनका लागि आह्वान गरेको थियो । जसका लागि २ सय ३७ संस्थाले आवेदन दिएका थिए । त्यसमध्ये ९९ स्वास्थ्य संस्थाले मापदण्ड पूरा गरेका थिए । बाँकी १ सय ३८ वटा संस्था मापदण्डभित्र परेनन् । तर, मापदण्ड पूरा नगरेका ५८ वटा संस्थाले उजुरी दिएपछि मन्त्रालयले हाल उक्त संस्थाहरूको अनुमगन गरिरहेको छ । अनुमगन सकिएपछि स्वास्थ्य संस्थाको छनोट हुनेछ । ती संस्थालाई मलेसिया सरकारले स्वीकृति दिएपछि उनीहरू स्वास्थ्य परीक्षणका लागि योग्य हुनेछन् । तत्पश्चात नयाँ सम्झौताअनुसार कामदारको माग भई आएमा प्रक्रिया अगाडि बढ्ने विभागका महानिर्देशक भुसालले बताए । यसअघि ३८ वटा स्वास्थ्य संस्थाले मात्रै परीक्षण गर्दै आएका थिए ।

सिन्डिकेटको अन्त्य हुने

मापदण्ड पुगेका स्वास्थ्य संस्थाको छनोटपछि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेटको अन्त्य हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । मापदण्ड पुगेका स्वास्थ्य संस्थाको छनोटपछि यसअघि हुँदै आएको सिन्डिकेट तोकिने विभागका महानिर्देशक भुसालले बताए ।

मलेसिया जाने कामदारलाई विभिन्न बहानामा आर्थिक शोषण भएपछि मन्त्रालयले त्यस्ता सबै खालका संघसंस्थाको ०७५ जेठ ४ गते खारेजीको घोषणा गरेको थियो । त्यसलगत्तै मलेसिया वैदेशिक रोजगारी बन्द छ । ०७५ कात्तिकमा मलेसिया सरकारसँग नेपालले नयाँ श्रम सम्झौता गरेको छ । जसअनुसार मलेसिया जाने कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन ।

गत वर्षमा सवा पाँच लाख बिदेसिए

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ५ लाख २३ हजार ७३१ जना नेपाली बिदेसिएका छन् । विभागको तथ्यांकअनुसार गत आवमा २ लाख १५ हजार १८५ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । म्यानपावरमार्फत जाने कामदारमध्ये महिलाको संख्या १८ हजार ३२५ छ भने पुरुषको संख्या १ लाख ९६ हजार ८६० छन् । त्यस्तै, व्यक्तिगत रूपमा जाने नयाँ कामदारको संख्या भने ९ हजार ४ सय ४० छ । जसमध्ये महिलाको संख्या १ हजार ८ सय ७३ छ भने पुरुषको संख्या ७ हजार ५ सय ६७ छ । व्यक्तिगत रूपमा पुनः स्वीकृति लिएर विदेश जाने कामदारको संख्या २ लाख ७९ हजार ९ सय १ छ । जसमध्ये पुरुषको संख्या २ लाख ६७ हजार ८ सय ७ छ भने महिलाको सख्या १२ हजार ९४ छ । त्यस्तै, कानुनी मान्यता लिएर पुनः कामदारका लागि विदेश जानेको संख्या १९ हजार २०५ छ । जसमध्ये महिलाको संख्या १ हजार ५ सय ५ छ भने पुरुषको संख्या १७ हजार ७ सय छ ।

रोकिएको छैन मलेसिया जान

मलेसियासँग भएको नयाँ श्रम सम्झौताअनुसार मलेसिया जाने क्रम रोकिए पनि यसअघि भिसाको अनुमति पाइसकेका कामदार भने मलेसिया गइरहेका विभागका महानिर्देशक भुसालले बताए । ‘बजारमा भनिएजस्तो कामदार मलेसिया जानका लागि ठप्प भएको होइन । स्वास्थ्य संस्था छनोटको क्रममा रहेकाले नयाँ श्रम सम्झौताअनुसार मलेसिया जाने प्रक्रिया मात्रै रोकिएको हो । अन्यथा यसअघि नै स्वास्थ्य परीक्षण गरेका कामदार जाने क्रम निरन्तर नै छ,’ उनले भने ।

Published on: 1 August 2019 | Naya Patrika

Back to list

;