s

एक वर्ष शरणार्थी क्याम्पमा बसेर नेपाल फिर्ता

Year of Publication: 19 December 2019 | Nagarik

Published by: CESLAM

शिवहरि घिमिरे

अमेरिकामा गएर ‘सेटल’ हुने रहर सबैलाई हुन्छ। सक्ने र भिसा लाग्नेहरू प्रक्रिया पु-याएरै त्यहाँ पुग्छन्। भिसा नलागेकाहरु दलालको बहकाउमा लागेर अवैध बाटोमार्फत पनि अमेरिका पुग्ने गरेका छन्। त्यस्तैमध्येका एक हुन् रुकुमका प्रमोदकुमार पुन। उनी एक वर्षअघि अवैध बाटो हुँदै अमेरिका हिँडे।

दलालले अपनाउँदै आएको रुट प्रयोग गरेर अमेरिका छिर्न ६ महिनासम्मको समय लाग्छ। दलालले हवाईजहाज, पानीजहाज, रेल र बसमार्फत मेक्सिको सीमा पार गराएर अमेरिका छिराउँछन्। पुन गत वर्ष कात्तिकमा काठमाडौंबाट अमेरिकाका लागि हिँडेका थिए। उनी गत असारमा मेक्सिको हुँदै अमेरिका पुगे। त्यहाँ पुग्नेबित्तिकै उनलाई ‘बोर्डर अफ सेक्युरिटी’ ले पक्राउ ग-यो।

पुनसँगै अन्य चारजना युवा पनि थिए। पाँचैजनालाई ‘बोर्डर अफ सेक्युरिटी’ ले समात्यो र सीमानजिकै शरणार्थी शिविरमा राख्यो। नवलपुरका अर्जुन पौडेल, दाङका अभिषेक डाँगी, रुकुमका नरेन्द्र रोइले, बाग्लुङका देवेन्द्रबहादुर क्षेत्री पनि पुनसँगै समातिएका थिए। उनीहरु एउटै दलालमार्फत ६ महिना यात्रा गरेर अमेरिका पुगेका थिए। यसका लागि उनीहरुले दलाललाई प्रतिव्यक्ति २५ लाखका दरले पैसा बुझाएका थिए। दलालले उनीहरुलाई मेक्सिकोको सीमा पार गराएर अमेरिकाको सीमामा छाडेको थियो। त्यहाँ समातिएपछि उनीहरु एक वर्ष शिविरमा बसे। त्यसपछि अमेरिकाको अध्यागमन विभागले नेपालको अध्यागमन विभागमार्फत उनीहरुलाई बुधबार नेपाल फर्कायो। अहिले उनीहरुलाई विभागमा राखिएको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले जनाएको छ।

ब्युरोका प्रवक्ता गोविन्द थपलियाले अवैध बाटो अपनाएर दलालले युवालाई विदेश पु-याएर यता न उताको बनाएका घटना बढ्न थालेको जानकारी दिए। ‘अमेरिका भनेपछि सबै मक्ख पर्छन्, दलालले भनेको कुरा सहजै मानेर अवैध बाटो अपनाएर त्यहाँ पुग्छन्,’ उनले भने, ‘शरणार्थीको क्याम्पमा बसेर दुःख पाएर फर्कनेको संख्या बढ्दो छ, यसबारे सचेत हुन आवश्यक छ।’ उनका अनुसार यसरी दलालमार्फत अवैध बाटो अपनाएर अमेरिका पुगेकाहरुले दलालका बारेमा प्रहरीलाई सूचना दिन मानिरहेका छैनन्। जसका कारण दलालले अनेक सपना देखाएर अवैध रुटमार्फत अमेरिका छिराएर अलपत्र पार्ने गरेका छ। ‘दलाललाई पक्रिएर कारबाही गर्ने हो भने यो क्रम अलि घट्ने थियो,’ थपलियाले भने, ‘पीडितहरुले दलालबारे सूचना नदिँदा कारबाही गर्न सकिएको छैन।’

दलालले विभिन्न देश हुँदै अवैध रुपमा अमेरिका छिराउन थालेपछि ५ वर्षयता प्रहरीले यसबारे गम्भीर अध्ययनत थालेको थियो। अध्ययनअनुसार १४ वटा ठाउँ हुँदै दलालले ६ महिना समय लगाएर युवालाई अमेरिकाको बोर्डरसम्म पु-याउने गर्छन्। त्यहाँ पुग्न दलालले काठमाडौंदेखि बसमा भारत, त्यहाँबाट हवाईजहाजमा रसिया, स्पेन, बोलिभिया, पेरु र इक्वेडर पुयाउँछन्। कोलम्बियादेखि पानामासम्म पानीजहाज प्रयोग गर्छन्। त्यहाँबाट रेलमा कोस्टारिका, निकारागुआ, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पु-याउँछन्। प्रहरीका अनुसार मेक्सिको पुगेपछि अमेरिका छिर्न धेरै समय लाग्दैन। त्यहाँबाट जंगलको बाटो हिँडेर अमेरिका पुग्छन्। पछिल्ला वर्षहरुमा यसरी अवैध बाटोमार्फत अमेरिका पुग्नेको संख्या बढेको प्रहरीले जनाएको छ।

ब्युरोको तथ्यांकअनुसार अवैध रुपमा अमेरिका छिर्ने ९६ जना नेपालीलाई अमेरिकी अध्यागमन विभागले एक वर्षको अवधिमा फर्काइसकेको छ। साउन यतामात्रै ६५ जना फर्किएका छन्। प्रहरीका अनुसार अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेकामध्ये अधिकांश युवा नै छन्। उनीहरुले अमेरिकाको सीमामा पुगेपछि नेपालमा अशान्ति भएको र बाँच्न मुस्किल परेकाले अमेरिका छिरेको बताउने गरेका छन्। ‘अवैध बाटोमार्फत जेनतेन त्यहाँ पुगेकाले नेपाललाई असुरक्षित देखाएर त्यहाँ छिर्न खाजेको रिपोर्ट अनेरिकी अध्यागमन विभागल उपलब्ध गराएको छ,’ ब्युरोका प्रवक्ता थपलियाले भने, ‘पीडितले हामीलाई समयमै खबर गर्ने हो र दलालसँग नफस्ने हो भने यस्तो समस्या हुँदैन।’

Published on: 19 December 2019 | Nagarik

Link

Back to list

;