s

ई–७ भिसा लगाउनु घातक

Year of Publication: 10 January 2024 | Nagarik

Published by: CESLAM

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई- ७ भिसाबाट पठाउने विषयमा अध्ययन गरिरहेको छ।

म्यानपावर कम्पनीमार्फत ई- ७ भिसामा दक्ष कामदार पठाउनेसम्बन्धी एक समाचारमा टिप्पणी गर्दै मन्त्रालयले मंगलबार यसको प्रभाव र पठाउने प्रक्रियाबारे अध्ययन भइरहेको जनाएको हो।

इपिएस नेपाली युवालाई भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया पठाउने प्रणाली हो। वैदेशिक रोजगारीमा सबैभन्दा भरपर्दो, सुरक्षित र व्यवस्थित भनेकै इपिएसमार्फत कोरिया जानु रहेको छ।

कोरियाबाट फर्केका युवा र विज्ञहरूले इपिएस व्यवस्था सबैभन्दा उत्कृष्ट रहेको बताइरहेका बेला कुन उद्देश्यले फेरि मेनपावर कम्पनीको संलग्नताबारे अध्ययन हुन लागेको हो भनेर मन्त्रालयले खुलाएको छैन। वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका बेला सरकारले १८ वर्षअघि लागु गरेको इपिएस प्रणाली भने सकारात्मक प्रभाव पार्न सफल रहेको छ।

इपिएसमार्फत कोरिया जाने प्रक्रिया सम्भवतः सबैभन्दा व्यवस्थित छ। यसैकारण भाषा परीक्षाको तयारी गरी युवाहरू कोरिया जान इच्छुक हुने गरेका छन्। सरकारले म्यानपावर कम्पनीलाई ई- ७ भिसामा श्रमिक पठाउन दिँदा ठगीको जोखिम उच्च हुने केही वैदेशिक रोजगारविज्ञ बताउँछन्।

कोरिया जान ई–७ भिसा म्यानपावर कम्पनीलाई दिएको खण्डमा धेरै समस्या आउने, महँगो शुल्क तिरेर श्रमिक कोरिया पुग्ने र चर्को लागतका कारण अवैध भएर बस्ने खतरा बढाउने वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले बताए। कोरिया जान ई- ७ भिसा म्यानपावर कम्पनीलाई जिम्मा दिनु भनेको युवा झन् ठूलो जोखिममा पर्नु उनले बताए।

‘वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा भरपर्दो प्रणाली नै इपिएसमार्फत कोरिया जानु हो। मलेसिया, कतारलगायत खाडी मुलुकको रोजगारमा जाँदा म्यानपावरमार्फत जानुपर्ने भएकाले कैयौँ युवा ठगीको भुमरीमा परिरहेका छन्। ई- ७ भिसा म्यानपावरको हातमा दिनु भनेको गरिबका छोराछोरीलाई संकटमा पार्ने उद्देश्य हो,’ विज्ञ गुरुङले भने।

‘म्यानपावर व्यवसायीद्वारा वैदेशिक रोजगारीको क्रममा लाखौंलाख बुझाएर विभिन्न देश पुगेका युवा सन्तुष्टिभन्दा धेरै ठगीमा परेका छन्,’ उनले भने, ‘इपिएस यस्तो माध्यम हो कि यतिका वर्षमा इपिएसद्वारा वैदेशिक रोजगारीमा कोरिया पुगेका एक युवाको गुनासो आजसम्म कानमा परेको छैन।

इपिएसमार्फत कोरिया जाने युवाको चाहना अझै उत्कट रहेको छ। वैदेशिक रोजगारीको क्रममा सबैभन्दा भरपर्दो, व्यवस्थित र सुरक्षित भनेकै इपिएसमार्फत कोरिया जानु हो। ई–७ भिसा श्रम मन्त्रालयले म्यानपावर व्यवसायीलाई दिनु भनेको राम्रो होइन।’

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस शाखाबाट कोरिया जाने युवाको सम्पूर्ण प्रक्रियामा कोरिया सरकार संलग्न हुन्छ। इपिएसमार्फत कोरिया जान सर्वसाधारण जो यो प्रक्रियामा सामेल हुने मौका पाउँछन्, तिनीहरू भने उत्साहित हुने विज्ञहरू बताउँछन्।

‘यस प्रक्रियामा भने ठगी र दलाली गर्नेहरूले कुनै स्थान पाउँदैनन्। सम्पूर्ण प्रक्रियामा कोरियाली सरकारकै संलग्नता बढी हुने गरेकाले नेपाली निकायले बाध्य भएर उनीहरूलाई पछ्याउनु परेको छ। अन्य देशमा जस्तो जथाभाबी रकम बुझाएर इसिएसमार्फत दक्षिण कोरियामा रोजगारीका निम्ति जान सम्भव छैन,’ गुरुङले भने।

दक्षिण कोरियामा काम गरेर फर्केका प्रायः सबै युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढंगले चित्रण गर्ने गरेका छन्। कोरिया गएर फर्किएका युवाहरू अत्यन्त सन्तुष्टि जनाउँदै उनीहरूले कोरियालाई एक सुन्दर युवतीको बिम्व उतार्ने गरेका छन्। ‘राजकुमारी जस्तै सुन्दर देश कोरिया हो,’ कोरियाबाट फर्किएका सञ्जीवकुमार गोलेले भने। उनी इपिएसमार्फत कोरियामा कमाएर फर्केका व्यक्ति हुन्।

Published on: 10 January 2024 | Nagarik

Link

Back to list

;