s

डिभी भर्न पासपोर्ट बनाउनेको भीड, एकै दिन ३ करोड राजश्व संकलन

Year of Publication: 22 October 2019 | Onlinekhabar

Published by: CESLAM

राहदानी विभागमा फर्म बुझाउने लाईनमा उभिएका रसुवाका सुन्दर घिमिरे अध्ययन वा रोजगारीका लागि विदेश जाने तयारीमा छैनन् । तर, पनि उनलाई तुरुन्तै पासपोर्ट चाहिएको छ । घिमिरे पासपोर्ट लिन तात्नुको कारण हो, डीभी फर्म भर्दा पासपोर्ट चाहिने अनिवार्यता । अमेरिकाले यसै वर्षदेखि यस्तो नियम ल्याइदिएपछि उनीजस्ता धेरै युवायुवतीहरु पासपोर्टका लागि लाइन लाग्न पुगिरहेका छन् । फलस्वरुप राहदानी विभागमा भीड ह्वात्तै बढेको छ । गाउँको एक बिद्यालयमा अध्यापन गराउने घिमिरेले ईडीभी भर्न राहदानी नम्बर चाहिने भएकाले दोब्बर पैसा तिरेर भए पनि बनाउन लागेको बताए । ‘डीभी भर्न समय धेरै छैन, त्यसैले दोब्बर पैसा तिरेर बनाउन लागेको हुँ,’ उनले भने । नारायणहिटीस्थित राहदानी विभागको नयाँ राहदानी लिने शाखा अगाडि लाईनमा लागेका घट्टेकुलोका गौरब पोख्रेलले खुसी व्यक्त गर्दै अब आजै गएर डीभी भर्ने बताए । राहदानी विभागको प्रतिक्षालयमा काखमा निदाएकी छोरीलाई च्यापेर बसेकी गुल्मीकी सुनिता रानाले श्रीमान्संगै डीभी भर्न पासपोर्ट बनाउन विभाग आएको बताइन् । 'पहिले सजिलो थियो अरे, यसपाली पासपोर्ट चाहिने भनेर दुख दिए । श्रीमानको त छ मेरो छैन । दुबैजनाले भरौं भनेर आएको,’ सुनिताले भनिन् । डीभी पर्ने आशा कति छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘खै परे परोस नपरे नपरोस, पासपोर्ट त काम लाग्छ नि ।’

विभागका अनुसार दोब्बर शुल्क तिरेर तीन दिनमा पासपोर्ट बनाउन आउने सेृवाग्राहीको संख्या सामान्य अवस्थामा भन्दा अहिले तीन गुणा वृद्धि भएको छ । दैनिक ६ देखि ८ सय हाराहारीले राहदानी बनाउन निवेदन पर्ने गरेको विभागमा दशैंपछि २ हजारदेखि २८ सयसम्म पुगेको विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज अर्यालले जानकारी दिए । अर्यालका अनुसार आइतबार एकै दिन २७ सय २६ जनाले राहदानी बनाउनका लागि निवेदन दिएका थिए । जिल्लाहरुबाट राहदानी वितरण थालेपछि विभागमा निवेदन आएको यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । जिल्लास्तरबाट छिटो माग भएको राहदानी हवाई सेवामार्फत वितरण थालेपछि दैनिक ९ सय हाराहारी पर्ने आवेदन ६ सय झरेको थियो । तर दशैंलगत्तै पुनः बढेको विभागले जनाएको छ । आइतबार राहदानी माग गर्दै आवेदन गर्नेले तिरेको एक दिनको राजश्व २ करोड ९४ लाख रुपैयाँ भन्दा धेरै भएको विभागले जनाएको छ । तीन दिनमा राहदानी लिने गरी १० हजार रूपैयाँ राजश्व तिरेर पासपोर्ट बनाउनेहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ । दशैं बिदा पछिको सोमबारदेखि कार्यालयमा भिड दिनदिनै बढ्दै गएको विभागले जनाएको छ । विभागमा प्राप्त सूचना अनुसार जिल्लाहरुमा पनि छिटो गरी राहदानी बनाउन निवेदन गर्नेहरुको भीड लाग्न थालेको छ । भीड बढेकै कारण कार्यालय राती १० बजेसम्म खोल्न परेको विभागले जनाएको छ । दशैपछि बिहान ७ बजे खुलेर राति ९ बजेसम्म कार्यालय खुल्नु सामान्य बनेको प्रवक्ता अर्यालले बताए ।

विभागले एक दिन, दुई दिन र तीन दिनमा उपलब्ध गराउने गरी राहदानी वितरण गर्दै आएको छ । एक दिनमा राहदानी लिन चाहनेहरुले १५ हजार, दुई दिनका लागि १२ हजार र तीन दिनका लागि १० हजार रुपैयाँ राजश्व तिर्नु पर्छ । जिल्लाबाट पनि तीन दिन र एक महिनाका लागि राहदानी आवेदन गर्न सकिन्छ । राहदानी बनाउन आउनेले डीभी भर्नकै लागि आएको नबताए पनि डीभीबाहेक तत्कालै राहदानी अनिवार्य चाहिने कुनैे घटना नदेखिएको प्रवक्ता अर्याल बताउँछन् । अमेरिकाले सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि देखि डीभीको आवेदन खुल्ला गरेको थियो । आवेदनको समयसीमा ५ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म छ ।

Published on: 22 October 2019 | Onlinekhabar

Link

Back to list

;