s

दुर्गाकी श्रीमतीले बुझिन् ब्लडमनी, साउदीको जेलबाट छुट्ने भए रामआशिष

Year of Publication: 10 July 2024 | Onlinekhabar

Published by: CESLAM

२६ असार, बुटवल । साउदी अरबमा फाँसीको सजाय सुनाइएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादव पीडित पक्षसँग मिलापत्र भएपछि अब सकुशल घर फर्किने भएका छन् । पीडित पक्ष ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो ।

साउदी अरबमा यादवसँगै बस्दै आएका रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा यादव ५ वर्षदेखि साउदीकै जेलमा थिए । उनलाई अदालतले फाँसीको सजाय सुनाएको थियो ।

‘ब्लड मनी’ वापत् ५० लाख रुपैयाँ लिएर माफी दिन मृतकका परिवार तयार भएपछि यादवको फाँसीको सजाय पनि मिनाहा भएको हो । सम्पत्तिको नाममा झण्डै एक कठ्ठा मात्र घरघडेरी रहेको रामआशिषको परिवारलाई ब्लडमनीवापत् ५० लाख रुपैयाँ जुटाउनु असम्भव जस्तै थियो ।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नै ब्लड मनी संकलन गर्दै मृतकका परिवारसँग मिलापत्र गराउने अभियानको सुरु गरेपछि सार्थक बनेको हो ।

यस्तो थियो घटना

तीन छोरी, आमा–बुबासहित ६ जनाको परिवार चलाउन गाह्रो भएको भन्दै रामअशिष साउदी अरब पुगेका थिए । रामअशिष र दुर्गा एउटै कम्पनीमा काम गर्थे ।

उनीहरुले खाने, रमाउने थलो पनि एउटै थियो । २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै बेला उनीहरुबीच सामान्य विवाद भयो । त्यस क्रममा रामआशिषले दुर्गालाई छुरा हाने । दुर्गाको घटनास्थलमै मृत्यु भयो ।

हत्या अभियोगमा साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा राम आशिषलाई ५ वर्ष कैद सजायको फैसला गर्‍यो । ५ वर्ष पछि दुवै जनाको परिवारको बीचमा ब्लडमनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसी दिने पनि अदालतको फैसला थियो ।

यो घटनाको खबरले घरपरिवारमा बज्रपात भयो । विपन्न आर्थिक अवस्थाको कारण श्रीमती रेनु कुमारी तीन छोरीहरुसहित गुजारा गर्दै आइरहेकी छन् । विपन्नताको कारण ३ छोरीहरुसमेत पढाइबाट बञ्चित छन् ।

अर्यालबाट भएको पहल

काठमाडौंस्थित कन्सुलर विभागले १२ चैतमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनी’मा सम्झौताका लागि पत्र पठायो । कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनी सम्झौता भए/नभएको लेखेर पठाउन प्रशासनलाई भनेको थियो ।

विदेशमै नेपालीलाई फाँसी हुने खबरसहितको पत्र हात परेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल सोचमा परे । रामआशिषलाई बचाउन सकिन्छ कि भनेर उनले चासो लिए । रेनुकी मामा प्रभु यादव रामआशिषलाई माफीको आशासहित रुपन्देही आए ।

प्रजिअ अर्याल प्रभुलाई लिएर मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीता शर्माको घर पुगेर मिलापत्रको प्रस्ताव राखे । ‘सुरुमा उहाँले मान्नुभएको थिएन । त्यो स्वाभाविक पनि हो’, प्रजिअ अर्यालले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्‍यौं ।’

प्रजिअ अर्यालका अनुसार पटक–पटक अनुरोध गर्दा पनि तीन महिनासम्म कुरा मिल्न सकेन । कन्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयासपछि सीताको परिवारले ५० लाख रुपैयाँ माग गर्‍यो ।

‘मृतक परिवारको पक्षबाट एकथरिले ब्लडमनीमा सहमति हुन सक्दैन, त्यसैले छिटो निर्णय लेखेर पठाइदिन दबाब दिइरहेका थिए,’ प्रजिअ अर्यालले भने, ‘कसैको ज्यान लिने गरी चिठी लेखेर हस्ताक्षर गर्न सक्दिनँ भनेर अडान लिएपछि उहाँहरु जानु भयो । तीन महिनापछि आएर बल्ल ५० लाख दिने भए सहमति गर्छौं भन्नुभयो ।’

सीताले ब्लडमनी बापत मागेको ५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर रामआशिषका लागि ब्लडमनी जुटाउन जिल्लामै पहल गर्दा सम्भव होला भनेर आग्रह गरे, तर त्यसलाई त्यति गम्भीरतापूर्वक नलिइएको प्रजिअ अर्यालको भनाइ छ ।

धनुषामा बेवास्ता भएपछि रेनुकी मामा प्रभु जिल्ला प्रशासन कार्यालय रुपन्देही धाउन थाले । ‘हामीले भान्जा ज्वाइँ रामआशिषलाई मृत्युदण्डबाट जोगाउन सक्छौं भन्ने आशा मारेर फर्केका थियौं, घर पुग्दा रुपन्देहीका सीडीओले पैसा जुटाउने कोशिस गरेका छन् भन्ने थाहा पाएपछि थोरै आशा बाँकी थियो,’ प्रभुले भने ।

रुपन्देहीका प्रजिअले ब्लडमनीको कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि कोष बनाउने कुरा भयो ।

तत्काल प्रजिअ अर्यालले ५० हजार, दुई जना सहायक प्रजिअ र रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५–२५ हजार रुपैयाँका दरले कोषमा जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।

रामआशिष यादवकी श्रीमती रेनु कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाइ धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख रुपैयाँ जुटाइन् ।

कर्मचारी र व्यवसायीबाट ३६ लाख २५ हजार र रामआशिषको परिवारको १० लाख गरी जम्मा ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीतालाई नगदै दिएपछि मिलापत्र भएको प्रजिअ अर्यालले बताए । ‘३ लाख ७५ हजार रुपैयाँ जुटाउन सकिएन । तै पनि मृतकका परिवार माफी दिन सहमत भयो,’ प्रजिअ अर्यालले भने ।

त्यसपछि मंगलबार रुपन्देहीका प्रजिअको कार्यकक्षमा मृतकका परिवारलाई ब्लडमनी बापतको ४६ लाख २५ हजार रुपैयाँ सीता शर्मालाई हस्तान्तरण गरियो । ब्लडमनी बाफतको रकम बुझ्दै गर्दा मृतक दुर्गाकी पत्नी सीता भक्कानिएकी थिइन् । त्यहाँ उपस्थित सबै स्तब्ध भए । ‘जागिरे जीवनमा पहिलोपटक म पनि भक्कानिएँ,’ प्रजिअ अर्यालले भने, ‘अर्कोतिर मृत्युदण्डको मुखमा पुगेका युवकलाई बचाउन सकेकोमा जीवनमै सबैभन्दा खुशी पनि भएँ ।’

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शमाले पनि यो अभियान सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘राष्ट्रले नै नोटिस गर्नुपर्ने साँच्चिकै उदाहरणीय काम भयो,’ शर्माले भने ।

आशा मारिसकेका पतिलाई रुपन्देहीका प्रजिअ र व्यवसायीले जीवनदान दिन पहल गरेको भन्दै रेनुका पनि खुसीका आँसु झरे । ‘तपाईहरु नभएको भए मेरो श्रीमान् फाँसीको सजायबाट उम्कन सक्ने थिएन, हाम्रो परिवारको लागि सिडियो साब भगवान हो,’ रेनुले रुँदै भनिन् ।’

दुबै पक्षबीच सहमति भएसँगै रामआशिषले मृत्युदण्डबाट छुटकारा पाउने निश्चित भएको प्रजिअ अर्यालले बताए । ब्लडमनी पाएपछि रामआशिष र मृतक दुर्गाप्रसादको परिवारबीच भएको सम्झौताको कागजात कन्सुलर विभाग हुँदै साउदी पठाइने प्रजिअ अर्यालले बताए ।

Published on: 10 July 2024 | Onlinekhabar

Link

Back to list

;