s

दुबईमा नेपाली युवकलाई मृत्युदण्ड, जीवनरक्षाको आग्रह

Year of Publication: 17 January 2014 | Annapurna Post 

Publication Type: NEWS

Published by: CESLAM

यूएईको दुबईस्थित माथिल्लो अदालतले संखुवासभा मत्स्यपोखरी गाविस-३ का २३ वर्षीय अनिश खालिङ राईका बारेमा तल्लो अदालतले गरेको मृत्युदण्ड सजायलाई सदर गरेपछि परिवार चिन्तित भएका छन्। अहिले अनिशको जीवनरक्षाको माग गर्दै परिवारले हारगुहार गरेका छन्।
छोरालाई मृत्युदण्ड सुनाएपछि उनका ७५ वर्षीय बुवा भीमप्रसाद, ५७ वर्षीया आमा डिकमाया, पत्नी रबिता र नाबालक छोरी रितु न्याय खोज्दै राजधानी पुगेका छन्। दुबईको आबुधाबीमा घरेलु कामदारका रूपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बंगाल खानको हत्या गरेको आरोपमा दुई महिनाअघि त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।
जनवरी १४ मा माथिल्लो अदालतले उक्त फैसला सदर गरेको हो। २०६९ कात्तिक ९ गतेदेखि हिरासतमा लिइएका राई करिब डेढ वर्षदेखि आबुधाबीमा कार्यरत थिए। २०६९ कात्तिक ९ गते एउटा रेस्टुरेन्टमा भएको झगडामा घाइते भएका पाकिस्तानी नागरिकको उपचारका क्रममा मृत्यु भएपछि राई समातिएका थिए। परिवारले छोराको जीवनरक्षाका लागि पहल गरिदिन सञ्चारमाध्यम, राज्य तथा मानवअधिकारकर्मीसँग आग्रह गरेका छन्।
‘अनिशलाई आममाफीका लागि राष्ट्रपतिको तर्फबाट पहल गरिदिने प्रयास जारी छ’, अनिश बचाउ अभियान समितिले भनेको छ, ‘हाम्रो उद्देश्य उनको जीवन बचाउनु हो। यसमा सबै पक्षले सहयोग गरिदिनुहोला।’
 
Published on: 17 January 2014 | Annapurna Post 

Back to list

;