s

दुबई हिडेकी दिपा ओमन पुगिन्

Year of Publication: 31 August 2016 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रोहित राई
 
धरान–धरान– ८, अरुण टोल माइती घर भएकी २४ वर्षीया दिपा राई(लिम्बु) करिब दुई वर्ष कुवेत बसेर फर्किएकी थिइन्। घरेलु कामदारका रुपमा उनको कुवेत बसाइ सुखद् थिएन । तरपनि, घरेलु कामको अनुभव र अरबी भाषाको ज्ञानले गर्दा उनी पुनः वैदेशिक रोजगारीमै जान चाहिन्।
 
दिपा सुरक्षितरुपमा दुबई जाने योजनामा थिइन्। माइती घर नजिककी स्थानीय एजेन्ट गीता राईमार्फत उनी काठमाडौंकी विना राईको सम्पर्कमा पुगिन्। दिपाले आफ्नो पैसा खर्च गर्नुपरेन। सबै खर्च एजेन्टले नै जुटाइदियो। अगष्ट ७ तारिख दिपाले नयाँ मुलुकमा पाइला टेकिन्, तर त्यो मुलुक उनले चाहेको दुबई थिएन। एजेन्टले दिपालाई अवैधरुपमा ओमनमा पुर्याइदिए।
 
पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् ।
खासमा उनी मानव तस्करको चंगुलमा फसेर बेचिएकी हुन्। अहिले उनी बिहानै ५ बजे उठेदेखि राति डेढ बजेसम्म निरन्तर घरको काममा खटिनु परेको छ । न राम्रो खान पाउछिन्, न सुत्नै । सानो गल्तीमा पनि तथानाम गालीगलौज र दुव्र्यवहार सहनुपर्छ ।
 
त्यहाँबाट उद्दार गरेर घर फर्काउन भन्दै दिपाले फोन गरेदेखि उनको श्रीमान् र आफन्तजन पनि यतिबेला बेचैनीमा छन्। ‘दुबई जाने भनेर घरबाट हिडेको हो, तर ओमन पुर्याएछ। अस्ती १७ तारिख राति ३ बजे फोन गरेर मलाई कुटेर मार्न लाग्यो, नेपाल फर्काइदेऊ भन्यो’,दिपाका श्रीमान् अमिर लिम्बुले भने, ‘एजेन्टलाई फोन गरेर भने, अर्को घरमा सारिदिन्छु भन्यो।’
 
दिपाले अढाई बर्षको छोरा श्रीमान्को साथमा छोडेर केही कमाउने आशामा विदेश हिडेकी थिइन् । एजेन्टले उनलाई दुबईमा ‘नानी हेर्ने काम’ भनेको थियो । अरबी भाषाको राम्रो ज्ञान भएकोले समस्या नहुनेमा दिपा ढुक्क थिइन् । तर, ओमनमा पुगेपछि उनलाई भाषाको पनि समस्या भएको अमिरको भनाइ छ। परिवारजनका अनुसार गत असार २० गते(जुलाई ४) दिपा धरानदेखि काठमाडौंकी एजेन्ट विना राईको साथमा हिडेकी थिइन्। उनको साथमा अरु पनि थुप्रै युवतीहरु थिए ।
 
एजेन्टले दिपालाई पूर्वी नाका काकडभिट्टाबाट भारतको सिलगुडी पुर्याएपछि ट्रेनबाट दिल्ली पुर्याएको थियो। करिब १० दिनजति दिल्लीमा राखेपछि एजेन्टले पुनः प्लेनबाट श्रीलंका पुर्यायो। ‘श्रीलंकामा धेरै दिन राखेछ, दुबई जान नपाउने भयौं भनेर अनि ओमन पुर्याएछ’,दिपाकी मामाकी छोरी ममता राईले भनिन्,  ‘एजेन्टलाई फकाईदेऊ भन्दा मेरो भारु १ लाख २० हजार खर्च भएको छ, त्यो पैसा दियो भने मात्र फकाईदिन्छु भन्छ।’
 
आफ्नी श्रीमती सशुकल उद्दार गरी घर फकाईदिन भन्दै दिपाका श्रीमान् अमिरले सोमबार पौरखी नेपाल नामक संस्थामा निवेदन हालेका छन्। साथै उनले दुबई भन्दै गैरकानुनीरुपमा ओमन पठाइदिने एजेन्टद्वय गीता राई र विना राईलाई कानुनी कारबाही गर्न पनि माग गरेका छन्। पौरखीकी सचिव शारदा मास्केले दिपाको बिषयमा केन्द्रीय कार्यालयलाई सबै जानकारी दिएर पहल थालिएको बताइन्।
पौरखीका अध्यक्ष चेतना श्रेङका अनुसार पछिल्लो दिल्लीमा कडाई भएपछि दलालहरुले श्रीलंका ट्रान्जिट बनाएर नेपाली युवतीहरु अवैधरुपमा खाडी मुलुक पठाउने गरेका छन् । ‘दिल्लीमा नेपाली युवतीहरु धेरैदिन राख्दा प्रहरीले कडाई गरेपछि केही दिनमात्र राखेर श्रीलंका पुर्याउने गरेका छन्’,अध्यक्ष श्रेङले भनिन्, ‘श्रीलंकामा एउटा कोठामा कोचिएर राखेको बेला त्यही मान्छे हेर्न आउने र युवतीहरु छानेर लैजाने पनि गर्दाे रहेछ।’
 
दिपालाई लिएर जाने काठमाडौंकी एजेन्ट भारत गएको कारण सम्पर्क हुन सकेन । उनको धरानस्थित स्थानीय एजेन्ट गीता राईले भने दिपाले पहिल्यै दुबई एप्लाई गरेकोले जान नमिल्ने भएपछि ओमन पठाएको बताइन् ।
 
उनका अनुसार दिल्लीमा बसेर अर्को एक मान्छेले सबै सेटिङ मिलाउने गरेका छन्। ‘सेटिङ गर्दा लाग्ने खर्च सबै हामी लगानी गछौं, पछि काम भएपछि हाम्रो पैसा फिर्ता आउछ’, उनले भनिन्, ‘थुप्रै छरछिमेकीलाई पठाएको छौं, सबै भारत हुँदै गएको हो। दिपाको जस्तो समस्या भएको थिएन।’ दिल्लीबाट भिजिट भिषामा उडाउने र बेला बेला धेरै लफडा हुने गरेको पनि खुलाइन्।
 
Published on: 31 August 2016 | Nagarik

Back to list

;