s

दोहाका गल्ली गल्लीमा ‘आजाद भिसा’ पीडित

Year of Publication: 25 May 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

वैदेशिक रोजगारका लागि इनरुवा ८, सुनसरीका इन्द्रदेव मल्लले ५ कट्ठा जग्गा बेच्नुपर्‍यो । त्यसबाट आएको दुई लाख रुपैयाँमध्ये एक लाख ७० हजार रुपैयाँ कतार पठाउने रेडियन्ट म्यानपावरलाई बुझाए । बाँकी ३० हजार इनरुवादेखि काठमाडौंसम्मको आवतजावत, एक महिनासम्मको बसाइ, स्वास्थ्य परीक्षण र खानामै सकियो ।

‘कतार जाँदा पनि किन धेरै लगानी ?’ मल्लले सोध्दा रेडियन्ट म्यानपावरको जवाफ थियो, ‘तिमीलाई अरूजस्तो सामान्य भिसा होइन, आजाद भिसामा पठाउन लागेको हो ।’
 
आजाद भिसाको फाइदाबारे उनलाई दलालले कण्ठस्थै बनाइदिए, ‘न्यूनतम तलब १२ सय रियाल (करिब ३३ हजार रुपैयाँ) भन्दा माथि हुन्छ । कम्पनी छानीछानी मन लागेको काम गर्न पाइन्छ । कसैको दबाबमा बस्नु पर्दैन ।’७५० रियालभन्दा कममा कठिन काम गरिरहेका गाउँलेका कुरा सुन्दै आएका मल्ललाई दलालको अफर गजबै लाग्यो । तर उनी यतिखेर दोहाको मुग्लिनामा बिचल्ली परेका छन् । ‘छोरीको बिहे खर्च जोहो गर्न भएको जग्गा बेचेर कतार आएँ । ३ महिनादेखि निकै कठिन जिन्दगी बिताइरहेको छु । दलालले भनेजस्तो काम र दाम छैन । वास्तविकता अर्कै रहेछ,’ उनले भने, ‘कुन मुख लिएर घर जाऊँ ।’
 
‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् ।
 
हुँदै नभएको ‘आजाद भिसा’
 
कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् । कतारमा कम्पनीसँग मिलेर पुरुषोत्तम श्रेष्ठले इन्द्रदेवसहित २० जना कामदारको भिसा निकालिदिए । त्यसलाई वैदेशिक रोजगार कार्यालयबाट श्रमस्वीकृति निकालिदिने काम रेडियन्ट म्यानपावरले गर्‍यो । म्यानपावर भन्छ, ‘हामीले श्रमस्वीकृति मात्रै निकाल्ने हो । काम खोज्ने, राख्ने जिम्मेवारी श्रेष्ठको हो ।’
 
कतार श्रमकानुनअनुसार त्यहाँ पुगेको तीन महिनाभित्र आवासीय भिसा लगाइसक्नुपर्छ । जुन कम्पनीको भिसामा कतार पुगेको छ, त्यही कम्पनीले आवासीय भिसा नलगाइदिई अर्को कम्पनीमा काम गर्ने अधिकार (रिलिज) दिने कानुनी प्रावधान छ । दलालहरूले यही बाटो समातेर धेरै पैसा कमाउने जागिर लगाइदिने भन्दै सोझा नेपालीलाई ठगिरहेका छन् । ‘मैले ग्लोबल म्यानपावरलाई एक लाख ६० हजार रुपैयाँ बुझाएर आएँ । कतारमै गएर खोजीखोजी काम गर्न पाइन्छ भनियो,’ स्याङ्जाका विशाल रोक्काले भने, ‘काम खोजेको सात महिना भयो । चित्तबुझ्दो पाएको छैन । सजिलैसँग काम पनि नपाइने रहेछ । ७–८ सय रियालको जागिर त नेपालमै पाइन्थ्यो । हामीलाई नराम्रोसँग फसाइयो ।’
 
खै कारबाही ?
 
टीकापुर–१, कैलालीका करन बिकले पछिल्लो ६ महिनामा मात्रै झन्डै ६० नेपालीलाई आजाद भिसाका नाममा ल्याइसके । उनको सिनामंगलस्थित इजहामान म्यानपावरसँग मिलोमतो छ । पछिल्लो समय ल्याइएका १४ जनालाई उनले काम खोजेर लगाइदिन सकेनन् । ‘मैले कामदारसँग एक लाख २० हजार रुपैयाँ लिने हो । बाँकी म्यानपावर र एजेन्टद्वय राजेश बिक र विजय बिकले कति लिन्छन्, थाहा छैन,’ केरकारपछि बिकले भने, ‘जसलाई काममा लगाइदिन सकिने अवस्था छैन । उनीहरूलाई नेपाल पठाइदिने हो ।’
 
पीडित भएर फर्किने कामदार म्यानपावरबाट क्षतिपूर्ति लिनबाट वञ्चित छन् । कतारको श्रमकानुनअनुसार भिसाको कारोबार गर्न मनाही छ । त्यस्तो काम गर्नेलाई ५० हजार रियाल जरिवाना र तीन वर्षसम्म सजाय हुने व्यवस्था छ । कामदारलाई झुक्याउनेविरुद्ध कतारको मानव तस्करविरुद्धको कानुन नम्बर २०११ को १५ दफा आकर्षित हुन्छ । शोषण गर्ने नियतले कामदारलाई झुक्याएर ओसारपसार गरिएको अवस्थामा यो कानुन आकर्षित हुन्छ । ‘आजाद भिसाका नाममा कामदार ल्याएर फसाउने विषयमा कतारको मानव तस्करीविरुद्धको कानुन आकर्षित हुन्छ । यस्तो काम गर्नेलाई ७ वर्ष जेल र २ लाख ५० हजार रियालसम्म जरिवाना तोकिएको छ,’ कतारमा कानुनका जानकार दीपक भेटवालले भने, ‘अब पीडितलाई न्याय दिन र थप पीडित हुनबाट जोगाउन यो व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग समन्वय हुनुपर्छ ।’
 
आजाद भिसाका नाममा झुक्याएर ल्याई अलपत्र बनाउनेविरुद्ध उजुरी परेको देखिँदैन । ‘हाम्रो दूतावास यस्ता तस्करविरुद्ध कडा रूपमा प्रस्तुत नभएकाले आजाद भिसा कारोबार गर्नेको मनोबल बढेको हो,’ आजाद भिसाविरुद्ध अभियान चलाइरहेका बीबी खरेलले भने, ‘यस्तो विषयमा नेपाली दूतावास मौन हुनु भएन ।’ तस्करविरुद्व लाग्दा आफ्नो जीवनमै खतरा पैदा भएको र बारम्बार धम्की आउने गरेको खरेल बताउँछन् ।
 
कतारस्थित नेपाली दूतावासमा पनि आजाद भिसाका पीडित दैनिकजसो पुग्ने गरेका छन् । दूतावासले पीडितको उजुरी लिई कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई सिफारिस गर्दै आएको छ । ‘कतारकै निकायमा कारबाहीका लागि पठाउन हामीसँग यथेष्ट प्रमाण हुँदैन,’ राजदूत रमेशप्रसाद कोइरालाले कान्तिपुरलाई भने, ‘कम्पनी कतारीकै नाममा हुन्छ । एजेन्टको पूरै विवरण हुँदैन । प्रमाण पुर्‍याएर कारबाही गर्नुपर्ने हुन्छ । कारबाहीका लागि सिफारिस गर्दा दूतावाससँग बलियो प्रमाण हुनुपर्छ ।’
 
उनले विभागमार्फत् त्यस्ता म्यानपावरलाई कडा कारबाही गर्न सकिने बताए । ‘जुन म्यानपावर कम्पनीले पठाउँछ, त्यसलाई एकदमै कडा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘हामीले २५ भन्दा बढी म्यानपावरको सूची पठाइसकेका छौं । यहाँ त एउटा कम्पनी कालोसूचीमा राखे त्यस्ता अरू ५० वटा कम्पनी दर्ता गर्न सकिन्छ ।’
 
राजदूत कोइरालाले मागपत्र प्रमाणीकरण दूतावासबाट हुने भएकाले अब कडाइ हुने बताउँछन् । ‘हामी सबै अवस्था हेर्छौं,’ उनले भने, ‘कम्पनीको अवस्था र कामदार हेरी मागपत्र प्रमाणीकरण गर्ने भएकाले यस्ता कारोबार नियन्त्रण गर्न सहज हुन्छ ।’
 
Published on: 25 May 2018 | Kantipur

Back to list

;