s

डायस्पोरा : नरम शक्तिलाई कडा व्यवहार किन ?

Year of Publication: 21 May 2024 | Onlinekhabar

Published by: CESLAM

लामो समयदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी नर्मदा जोशी र उनको परिवारमा नेपाली परम्परा र संस्कृतिप्रति अगाध स्नेह छ। उनीहरूसँग खस, बाहुन, शेर्पा, नेवार, थारू, लिम्बू र अन्य धेरै नेपाली जाति र सम्प्रदायका परम्परागत पहिरन र भेषभूषाहरूको बृहत् संग्रह छ। आफ्ना वरपर हुने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला महोत्सवहरूमा नेपालको सांस्कृतिक विविधता प्रस्तुत गर्न पाउँदा उनीहरू गौरवान्वित महसुस गर्छन्।

जापानको टोकियोमा बस्ने पवित्रा घलेको मनबाट नेपालका गाउँ–पखेराहरूको बिम्ब मेटिएको छैन। नेपाली साहित्यिक सिर्जनामा रुचि राख्ने घले आफ्ना गीत, कथा, कविता आदिमा आफ्ना गाउँघरको जीवन्त चित्र प्रस्तुत गरिरहेकी हुन्छिन्।

अस्ट्रेलियाको सिड्नीस्थित हरिकृष्ण गैरेको घरको बार्दलीमा चन्द्र–सूर्य अंकित नेपाली झण्डा फहराइएका हुन्छन्। नेपाली मौलिकता झल्काउने उक्त त्रिकोणाकार झण्डाले त्यताबाट आवतजावत गर्ने धेरै विदेशीको ध्यान खिच्ने गरेको छ।

उता डेनमार्कको कोपनहेगनमा बसोबास गर्ने पंकज यादवलाई नेपाली खेलकुदप्रति गहिरो लगाव छ। दैनिक कार्य व्यस्तताका बाबजुद उनी नेपाली टोलीले खेल्ने फुटबल वा क्रिकेटका प्राय:जसो खेलहरू हेर्न छुटाउँदैनन्। नेपालको हरेक जितलाई उनी कोपनहेगनकै एउटा प्रमुख उत्सवको रूपमा मनाउँछन्।

क्यानडामा अध्यापन तथा अनुसन्धान पेशामा संलग्न प्राध्यापक देविका लिम्बूको मुख्य ध्येय आफूले सिकेको ज्ञानलाई नेपाल र नेपालीको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित छ। उनी एउटा अनुसन्धान संस्थान खोलेर त्यस मार्फत नेपालमा विज्ञान र प्रविधिको प्रवर्धन गर्न निरन्तर प्रयासरत छन्।

दुबईको एक पाँचतारे होटलका शेफ सागर परियार नेपाली पकवान तथा परिकारहरूको परिष्करण तथा प्रवर्धनमा तल्लीन रहन्छन्। उनकै जोडबलमा होटलको मेनुमा कैयौं नेपाली परिकार समावेश भएका छन्। दुबईमा आर्जन गरेको सीप र ज्ञानलाई अन्ततोगत्वा नेपालमै होटल तथा पर्यटन क्षेत्रको विकासमा प्रयोग गर्ने उनको योजना छ।

मलेसियाको क्वालालम्पुरमा बस्दै आएका तपेन्द्र मल्ल पेशाले सूचनाप्रविधिका विज्ञ हुन्। उनले आफू कार्यरत कम्पनीबाट धेरै वटा प्रोजेक्ट नेपाल भित्र्याएका छन्। उनी नेपालको आर्थिक क्षेत्रको प्रगति र विकासमा सूचनाप्रविधिको सम्भावना र चुनौतीका बारेमा लेख–रचना मार्फत पनि जानकारीमूलक र उपयोगी सन्देशहरू प्रवाह गर्ने गर्छन्।

माथि उल्लिखित दृष्टान्तहरू हाल नेपाल बाहिर रहेका करिब ३५ लाख नेपालीका प्रतिनिधि पात्र मात्र हुन्। वास्तवमा सबैजसो प्रवासी नेपाली र तिनका सन्ततिहरूका मन मस्तिष्कमा आफ्नो मातृभूमि तथा मातृसंस्कृतिप्रति गहिरो श्रद्धा र अमिट प्रेम रहेको हुन्छ। समय र परिस्थितिले भ्याएसम्म उनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालको विकास अभियानमा टेवा पुर्‍याउन सदैव तत्पर रहन्छन्।

आफ्नो मातृभूमि, मातृसमाज र मातृ संस्कृतिको विकास र उन्नतिबाट नै विदेशी भूमिमा आफ्नो पहिचानलाई परिभाषित गर्न सकिने हुँदा हरेक प्रवासीको मनमा राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावना अझै उच्च रहेको हुन्छ।

जसरी प्रवासमा रहेका नेपालीहरू नेपालप्रति अगाध स्नेह राख्छन् र नेपालको उन्नति र प्रगतिमा सरिक हुन चाहन्छन् त्यसको ठीक विपरीत नेपालमा भने सरकार र आम नागरिकले प्रवासीहरूलाई फगत वस्तुगत उपयोगिताका साधनको रूपमा मात्र हेर्ने गरेको पाइन्छ। सरकारले प्रवासी नेपालीहरूलाई रेमिट्यान्सको स्रोत भन्दा बढी देख्दैन भने आम नागरिकको नजरमा उनीहरू चन्दा र उपहारका बाहक मात्र हुन्।

नेपाली समाज प्रवासी नेपालीहरूको बौद्धिक क्षमता र दक्षतालाई स्वीकार गर्नसम्म पनि तत्पर देखिंदैन। लाग्छ- नेपाल पैसाभन्दा बाहेक अरू सबै कुरामा निपुण छ र विदेशमा रहेका नेपालीले नेपालको बारेमा केही विचार राखे भने यथाशक्य छुद्र भाषामा त्यसको प्रतिकार गर्नु नै देशवासीको पहिलो धर्म हुन आउँछ।

अनौठो छ, रचनात्मक र सृजनात्मक सोचाइमा कहिल्यै एकमत हुन नसक्ने नेपालीहरू परदेशमा रहेका नेपालीको मानमर्दन गर्ने कुरामा भने कति छिटो एकै ठाउँमा आइपुग्छन्।

केही समय पहिले प्रवासीहरूको एउटा कार्यक्रममा रामकुमारी झाँक्रीले प्रयोग गरेका उद्गार र त्यसको समर्थनमा व्यक्त भएका टिप्पणीहरू यसका ज्वलन्त उदाहरण हुन्। देशको कार्यकारी भएर काम गरेको मान्छेले पाखुरा सुर्केर गालीगलौजमा उत्रिंदै कुनै पेशाविशेषलाई तोकेर अपमानजनक अभिव्यक्ति दिंदै गर्दा उनी आफूलाई नेपाल निर्माणको एउटै ठेकेदारका रूपमा परिभाषित गर्दै थिइन्। यसरी देशभित्र बसेर देशको हुर्मत लिनेहरूले अरूलाई नानाभाँतीका कटु कटाक्ष गर्दै आफूलाई राष्ट्रवादी देखाउन खोज्ने क्रियाकलापलाई कदापि वाञ्छित र विवेकपूर्ण मान्न सकिंदैन।

हामीकहाँ विदेश जानुलाई देश नै परित्याग गरेको रूपमा अर्थ्याउने गरिन्छ। विदेशिनुलाई पलायनको संज्ञा दिइन्छ। युवाहरूको विदेश जाने चाहनालाई बाध्यता वा लहडका रूपमा मात्र व्याख्या गर्ने गरेको पाइन्छ। यथार्थमा आफ्नो वरपरको सरल र सहज परिवेशलाई त्यागेर विदेशी भूमिमा संघर्ष गर्न उद्यत हुने युवाहरू एक हिसाबले जुझारु र साहसी हुन्।

हाम्रा शास्त्र र परम्पराहरूले पनि निश्चित उमेर पुगेका युवालाई देश-देशान्तर गरेर ज्ञान र अनुभव बटुल्न प्रेरित गर्दछ। त्यसको अवशेषको रूपमा अझै पनि ब्रतबन्धका बेला बटुकलाई देशान्तरमा पठाउने चलन छ। विदेश जानको लागि मरिहत्ते गर्ने युवाको चाहना पनि प्रकारान्तरले पारम्परिक देशान्तरकै मनोवैज्ञानिक निरन्तरता हो भन्ने बुझ्न सक्नुपर्छ।

अर्कोतर्फ विदेशमा रहेका नेपाली डायस्पोराले पनि नेपालमा अवसर नभएर मात्रै विदेशिएका हौं भन्दै बारम्बार लघुताभास दर्शाउन आवश्यक छैन। अहिले विदेशमा हुने नेपालीहरूको अधिकांश हिस्सा नेपाल निकै सम्पन्न भए पनि विदेश जान चाहनेहरूको समूह हो। उसो त युरोप र अमेरिका जस्ता सम्पन्न देशहरूबाट पनि लाखौंको संख्यामा युवाहरू विदेशिने गरेका छन्।

यसरी परदेशमा रहेका हरेक नेपालीले “हामीहरू देशभित्र निरीह भएर नभई स्वेच्छाले देशान्तर गर्न निस्केका हौं, मुलुक कसैलाई बकसपत्र गरेर छोडेको नभई आफ्नो मन र मुटुमा लिएर हिंडेका हौं, संसारको जुनसुकै कुनामा बसोबास गरे पनि मातृभूमिको उत्थान र उन्नतिमा यथोचित योगदान पुर्‍याइरहेका छौं, र परिआएको खण्डमा स्वदेशी भूमिमै फर्केर आफ्नो जिम्मेवारी काँधमा लिन हरदम तत्पर छौं” भन्ने मनोबल लिएर अगाडि बढ्नुपर्छ।

विश्वको जुन ठाउँमा र जसरी रहेका भए पनि नेपालको समृद्धि र सुशासनका पक्षमा सक्रिय रूपमा आवाज उठाउन हिच्किचाउनुपर्दैन। नेपालमा बसेर भन्दा विदेशमा गएर आफू, आफ्नो देश र आफ्नो समाजको विकासमा बढी योगदान गर्न सकिन्छ भन्ने लाग्यो भने त्यसो गर्न किन नहुने ? अनि आफूले कमाएको/पठाएको रकम कहाँ र कसरी उपयोग हुँदैछ भन्ने चासो राख्न किन धक मान्नुपर्ने ? आफ्नो योगदानको सही उपयोग होस् भनी निगरानी र खबरदारी गर्नु हरेक नागरिकको अधिकार मात्र नभएर दायित्व पनि हो र यो वाञ्छनीय छ।

नेपालको सीमा भन्दा बाहिर रहेर सच्चा मनले नेपालको उन्नति र समृद्धि देख्न चाहने कोही छ भने ती नेपाल र नेपालीका सन्ततिहरू मात्रै हुन्। मुलुकलाई अहोरात्र मुटुमा सजाएर राख्ने यी परदेशी नेपालीहरूलाई विश्वासमा लिएर उचित उपयोग गर्न सक्ने हो भने राष्ट्रको मुहार फेर्न उपयोगी सिद्ध हुनसक्छन्। यता स्वदेशमा रहेकाहरूले पनि प्रवासीहरूले भित्र्याएका ज्ञान र स्रोतहरूलाई देश र परिस्थिति अनुकूल परिमार्जन गर्दै त्यसको उचित अंगीकार गर्न सक्नुपर्छ।

तलका हरफहरूमा नेपाली डायस्पोराले नेपालको पक्षमा पुर्‍याइरहेका बहुआयामिक योगदानहरूको संक्षिप्त चर्चा गरिएको छ।

अर्थतन्त्रको मेरुदण्ड

नेपालको वर्तमान अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स नै हो भनेर यहाँ उल्लेख गरिरहनु नपर्ला। राष्ट्र बैंकको एक प्रतिवेदन अनुसार आव २०७९/८० मा १२ अर्ब २० करोड रुपैयाँ अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ हिस्सा बराबर रेमिट्यान्स भित्रिएको छ। सन् २०११ मा ५६ प्रतिशत नेपाली परिवारले रेमिट्यान्स प्राप्त गरेको तथ्यांकले देखाउँछ भने त्यसपछिका वर्षहरूमा त्यो संख्यामा उल्लेख्य वृद्धि भएको अनुमान लगाउन सकिन्छ।

युनिसेफको एक रिपोर्ट अनुसार पछिल्लो ५ वर्षमा नेपालको बहुआयामिक गरिबी सूचकांक (मल्टी डाइमेन्सनल प्रोभर्टी इन्डेक्स) ३०.१ प्रतिशतबाट १७.४ प्रतिशतमा झरेको छ जसको श्रेय पनि वैदेशिक रोजगारी र रेमिट्यान्सलाई नै जान्छ। अर्थतन्त्रको यो परनिर्भरता वर्तमानमा मात्र सीमित रहोस् भन्ने कामना हरेक नेपालीले गर्नै पर्छ यद्यपि अहिलेकै अवस्थामा भने नेपाली अर्थतन्त्रको मियो धानिदिएकोमा प्रवासी नेपालीलाई धन्यवाद दिन कन्जुस्याईं गरिरहनुपर्दैन।

रेमिट्यान्स बाहेक प्रत्यक्ष लगानी मार्फत पनि पूँजी र प्रविधि नेपाल भित्रिने गरेको छ। कतिपय प्रवासी उद्यमीहरूले व्यक्तिगत रूपमा वा विभिन्न संघसंस्था मार्फत नेपालमा लगानी गर्ने गरेका छन्। उता विदेशमा रहेका आफ्ना व्यापार–व्यवसायहरूको नेपालमा विस्तार तथा साझेदारी मार्फत पनि नेपाली अर्थतन्त्रलाई टेवा पुर्‍याउन डायस्पोराले महत्वपूर्ण भूमिका खेल्छ।

त्यस्तै विदेशमा रहेका नेपालीले सांस्कृतिक दूतको भूमिका निर्वाह गर्ने हुँदा त्यस मार्फत नेपालको पर्यटन प्रवर्धन भई अर्थतन्त्रलाई अप्रत्यक्ष रूपमा महत्वपूर्ण सहयोग पुर्‍याइरहेका हुन्छन्।

नरम शक्ति

अन्तर्राष्ट्रिय राजनीतिमा नरम शक्ति अर्थात् सफ्ट पावर भन्नाले सैन्य र आर्थिक ताकत विना सामाजिक, सांस्कृतिक र अन्य सम्बन्धहरू मार्फत आर्जित शक्ति भन्ने बुझिन्छ। विश्वका धेरै देशले डायस्पोरालाई नरम शक्तिको प्रमुख स्रोतको रूपमा उपयोग गर्दै आएका छन्। नरम शक्ति आर्जनको लागि सबभन्दा प्रभावकारी रूपमा डायस्पोरालाई परिचालन गर्ने राष्ट्रहरूमा इजरायल अग्रस्थानमा छ।

यसैगरी भारत, चीन जस्ता देशहरूले पनि आफ्नो विशाल डायस्पोराको प्रचुर फाइदा लिएका छन्। चीनको बढ्दो सैन्य प्रभावको चापमा रहेको ताइवानले हालैका दिनमा नरम शक्ति आर्जनलाई निकै महत्व दिंदै आएको छ।

नेपालमा ऐतिहासिक रूपमा अरनिको र भृकुटीका समयदेखि चलिआएको नरम शक्तिको अभ्यासलाई पछि विदेशी सेनामा भर्ती हुन जाने गोर्खा सैनिकहरूले निकै विस्तार गरे। पछिल्लो समयमा विश्वभर फैलिएका नेपालीले यसको प्रवर्धनमा प्रमुख भूमिका खेल्दै आएका छन्।

आजकल दशैं, तिहार, नयाँ वर्ष जस्ता नितान्त नेपाली संस्कृतिमा आधारित चाडपर्वहरूमा क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत अन्य शक्ति राष्ट्रका प्रमुखहरूले शुभकामना सन्देश सम्प्रेषण गर्ने गरेका छन्। उता संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली-अमेरिकन सम्पदा दिवस’ को रूपमा मनाउने गरेको छ भने मेरिल्याण्ड राज्यले हरेक वर्ष अक्टोबर ५ लाई दशैं दिवसका रूपमा मनाउने गरेको छ।

यसैगरी, नर्थ क्यारोलिनाको मोरिसभिल शहरले नेपाली नयाँ वर्षलाई ‘नेपाल दिवस’ का रूपमा मनाउँदै आएको छ। त्यस्तै भर्खरै सम्पन्न फिफा विश्वकपमा कतारले गर्वका साथ नेपाली झाँकी प्रदर्शन गरेको थियो। यस पंक्तिकारलाई थाहा नभएका यस्ता कैयौं प्रसङ्गहरू होलान् जसले विश्व मञ्चमा नेपालको उपस्थिति मजबुत गराउँदै नेपालको नरम शक्ति विस्तारमा योगदान गरिरहेका हुन्छन्।

अतः हाम्रो जस्तो जटिल भूराजनीतिमा बेरिएको र छिमेकीका तुलनामा सैन्य शक्ति (हार्ड पावर) मा प्रतिस्पर्धा गर्न नसक्ने मुलुकलाई संसारको विभिन्न कुनामा छरिएर रहेका नेपाली डायस्पोराले नरम शक्तिको उपार्जन मार्फत राष्ट्रिय सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

ज्ञान र प्रविधिको स्रोत

ज्ञान शून्यबाट उत्पत्ति हुँदैन। ज्ञान र विज्ञानको विकास पूर्ववत् ज्ञानको प्रसार, प्रसारण, परिष्करण र प्रवर्धनद्वारा मात्र सम्भव हुन्छ। ज्ञानको दायरालाई फराकिलो पार्दै उदार रूपमा नयाँ ज्ञान ग्रहण गर्न सक्नेहरूले समयानुकूल प्रगति गर्दै जान्छन् भने जडत्व अपनाउने र संकुचित घेरामा रमाउन खोज्नेहरूले समयको गतिलाई समात्न सक्दैनन्। विदेशमा बस्ने र विदेशबाट फर्किने नेपालीहरू ज्ञान, विज्ञान र प्रविधि नेपाल भित्र्याउने एउटा महत्वपूर्ण माध्यम हुन्।

यसरी भित्रिएका ज्ञान र अनुभवलाई सकारात्मक रूपमा ग्रहण र सदुपयोग गर्न सक्ने हो भने देश विकासको दरिलो आधारशिला बन्न सक्छ। तथापि मुलुकवासीमा यी ज्ञानहरूलाई समयानुकूल स्वीकार र अंगीकार गर्ने मनासिकता र क्षमता अभिवृद्धि हुन जरूरी छ।

कोरियाली युद्धपछि दक्षिण कोरियाले संसारको लागि ढोका खोल्यो र ५० वर्षको छोटो अन्तरालमा आफूलाई विकसित देशको हाराहारीमा उभ्याउन सफल भयो भने देश र जनतालाई भौगोलिक सीमाभित्र संकुचित गर्ने उत्तरकोरिया आज अति पिछडिएको देशको सूचीमा शीर्ष स्थानमा छ।

आर्थिक विकासले मात्रै मानव विकासका सम्पूर्ण आयामहरूको प्रतिनिधित्व गर्दैन। आर्थिक सूचकांकमा उच्च स्थानमा रहे पनि प्रजातान्त्रिक/मानवीय सूचकाङ्कहरूमा पछाडि रहेका अरब मुलुकहरूले आफ्नो समग्र विकासलाई मनन् गर्दै ज्ञान र विज्ञानको आयातलाई आफ्नो प्राथमिकता बनाएका छन्।

आज विश्वका प्रमुख विश्वविद्यालयहरूका शाखा दुबई र कतारमा भेटिनु सामान्य जस्तै हुन थालेको छ भने यी राष्ट्रहरूले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त वैज्ञानिकहरूलाई लगभग खरिद नै गर्न थालेका छन्। खनिज तेलका अथाह स्रोत बोकेर बसेका यी अरब देशले जस्तो विदेशी वैज्ञानिक र विदेशी दिमाग खरिद गर्न सक्ने हाम्रो हैसियत छैन। त्यस परिप्रेक्ष्यमा नेपाली डायस्पोराले भित्र्याउन सक्ने ज्ञान र अनुभवले अझै ठूलो महत्व राख्छ।

सञ्चित शक्ति

देशको भौगोलिक परिधि भन्दा बाहिर र राजनैतिक/कानुनी पहुँच भन्दा पर बसोबास गर्ने प्रवासी नेपालीहरू देशभित्र आउन सक्ने राजनैतिक, प्राकृतिक तथा अन्य विभिन्न प्रकारका विपत् व्याधिहरूबाट अलग्गै रहेका हुन्छन्। यसरी विदेशमा सञ्चित रहेको त्यो ‘स्वास्थ्य’ जनशक्ति विभिन्न कारणले देश ‘बिरामी’ परेका बेला निकै उपयोगीसिद्ध हुनसक्छन्।

प्रथम विश्वयुद्धताका अमेरिकामा रहेका इटालियनहरूले स्वदेशमा रहेका आफन्तहरूलाई चिट्ठी लेखेर युद्धविरामको पक्षमा माहोल सिर्जना गर्थे अरे। द्वितीय विश्वयुद्धपछि विदेशमा रहेका जर्मन नागरिकहरू देश फर्किएर जर्मन समाजलाई नाजी मानसिकताबाट मुक्त गर्न मद्दत गरेछन्। यसैगरी सन् २००९ मा गृहयुद्ध समाप्ति पश्चात् युद्धपीडितहरूको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पुनर्स्थापनाका लागि श्रीलंकाली डायस्पोराले ठूलो अभियान चलाएका थिए।

नेपालमा पनि विभिन्न समयमा भएका राजनैतिक परिवर्तनहरूमा नेपाली डायस्पोराको उल्लेख्य योगदान छ। राणा तथा पञ्चायत विरोधी आन्दोलन, गणतान्त्रिक आन्दोलन लगायत सबै ठूला परिवर्तनहरूमा गैरआवासीय नेपालीको प्रमुख भूमिका थियो। यस्तै नेपालमा नयाँ संविधान जारी हुँदै गर्दा भारतले लगाएको अघोषित नाकाबन्दी विरुद्ध प्रवासी नेपालीहरूले विभिन्न देशहरूबाट आवाज उठाउँदै नेपालको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन सहयोग गरेका थिए।

यसैगरी हालैको पुरातन राजनीतिक विकृति विरुद्ध नयाँ दल तथा स्वतन्त्र उम्मेदवारको पक्षमा जनलहर उत्पन्न गराउन पनि विदेशमा रहेका नेपालीको ठूलो भूमिका रह्यो।

त्यसैगरी नेपालमा आइपर्ने विभिन्न प्राकृतिक संकटहरूमा नेपाली डायस्पोराले तन, मन र धनले सहयोग गर्दै आएको छ। २०७२ सालको भूकम्प र त्यसपछिको पुनर्निर्माणमा विदेशमा रहेका नेपालीले ठूलो मात्रामा आर्थिक तथा प्राविधिक सहयोग जुटाए। कोभिड महामारीका बेला पनि विदेशमा रहेका स्वास्थ्यकर्मी तथा अन्य सम्बद्ध पेशाका जनशक्तिले देशमा फर्किएर यथाशक्य योगदान गरे।

सांस्कृतिक राजदूत

आफ्नो भाषा, भेषभुषा, रीतिरिवाज, कला र संस्कृतिको प्रभाव र प्रचार सकेसम्म बृहत् र व्यापक होस् भन्ने चाहना संसारका सबै व्यक्ति, जाति र समुदायमा विद्यमान हुन्छ। यसबाट नै मानिसले आफ्नो पहिचान र अस्तित्वको अनुभूति गर्छ। नेपाल र नेपाली संस्कृतिलाई विश्वका विभिन्न भागमा चिनाउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्।

प्रवासी नेपालीहरूले रेस्टुरेन्ट, सांस्कृतिक केन्द्र र उत्सवहरू मार्फत नेपाली खाना, पहिरन, कला, साहित्य र संस्कृतिका विविध पक्षहरूलाई विश्वव्यापीकरण गर्न ठूलो योगदान गरेका छन्।

कुनै समय नेपाली भूमिमा मात्र सीमित चाडपर्वहरू अचेल विश्वव्यापी रूपमा मनाइन्छ। आजकल विदेशका सडक र बजारमा दशैंका बेला निधारभरि अक्षता र कानभरि जमरा, तिहारमा सप्तरंगी टीका र माला अनि तीजमा रंगीविरंगी पहिरन र गरगहना लगाएका नेपालीहरू देखिनु सामान्य जस्तै भएको छ।

त्यसैगरी पास्नी, ब्रतबन्ध, विवाह आदि पारम्परिक जीवनका कर्मकाण्डहरूले विदेशी भूमि रंगिने गरेका छन्। यसरी नेपाली डायस्पोराले विविध संस्कृतिको धनी देशको रूपमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत गरिरहेको छ।

Published on: 21 May 2024 | Onlinekhabar

Link

Back to list

;