s

दिप्तीको उजुरीले विदेश उड्न लागेका श्रीमान रोकिए

Year of Publication: 15 November 2019 | Annapurna Post

Published by: CESLAM

किशोर बुढाथोकी

श्रीमानलाई विदेश जानबाट रोक लगाइदिन माग गर्दै एक युवती श्रम तथा रोजगार कार्यालय विराटनगरको शरणमा पुगेकी छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ की २३ वर्षीया दिप्ती सिलवाल (दाहाल) २४ वर्षीय श्रीमान सचिन दाहाललाई विदेश जानबाट रोक लगाइदिन आग्रह गर्दै पुगेकी हुन् ।

पारिवारिक सल्लाह नगरिकन श्रीमानले वैदेशिक रोजगारीका लागि दुवई जाने तयारी गरेको भन्दै उनले रोक्न सहयोग गरिदिन आग्रह गर्दै कार्यालयमा निवेदन दिएकी छिन् । आफूलाई श्रीमान र सासू, ससुराले कहिल्यै पनि राम्रो नगरेको दिप्तीले निवेदनमा खुलाएकी छिन् । 'हाम्रो पाँच वर्षअघि प्रेम विवाह भएको हो । तीन वर्षको छोरा पनि छ,' श्रम कार्यालयमा भेटिएकी दिप्तीले भनिन्, 'तर अहिले उहाँ (श्रीमान) पारिवारिक सल्लाह नगरिकन विदेश जान लाग्नु भएको छ । राहदानी बनाएर पेस गरेको छ भन्ने कुरा आफन्तबाट सुनेर यहाँ आएकी हुँ ।'

श्रीमान, सासू र ससुराले खान लाउन समेत नदिइकन अनेक खालका दुरव्यवहार र तनाव दिन थालेपछि सात महिनादेखि आफू इटहरीस्थित माइतीमा गएर बसिरहेको उनले बताइन् । 'पारिवारिक तनाव खप्न नसकेर छोरासहित म माइतीमा गएर बस्नु परेको छ,' आँखा भरी आँसु पार्दै उनले भनिन्, 'यही बेला श्रीमान हामीलाई छाडेर विदेश जाने तयारी गर्दै हुनुहुन्छ ।'

आफूसँग भएको सामान्य कुराकानीमा कुनै ठाउँमा वा घरमै भए पनि व्यवस्थापन गरेर मात्रै जाने बताए पनि थाहै नदिइकन र सल्लाह नगरिकन दुवई जानलाई श्रीमान काठमाडौं पुगेपछि चाल पाएको दिप्तीको भनाइ छ ।

परिवारका सदस्यले नराम्रो गरिरहेका बेला श्रीमान विदेश गए आफू र नाबालक छोराको विचल्ली हुने उनको गुनासो छ । बिहे गरेको सुरुका दिनमा राम्रै गरे पनि पछिल्लो समय श्रीमानले परिवारका सदस्यसँग मिलेर अनेक तनाव दिने गरेको दिप्तीले बताइन् ।

'आफूमाथि भइरहेको हिंसाका बारेमा इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन पनि दिएकी छु,' उनले भनिन्,'प्रहरीले कारबाहीका लागि चासो दिइरहेको छैन।'माइतीबाट ल्याएको १२ लाख रुपैयाँले दुवैजना मिलेर काठमाडौंको मित्रनगरमा तीन वर्षअघि कपडा पसल सञ्चालन गरेको उनको भनाइ छ ।

'दुवैजनाको सल्लाहले ३४ लाख रुपैयाँमा पसल बिक्री गरियो । त्यो मध्ये १२ लाखको मात्रै हिसाब मलाई देखाउनुभयो,' दिप्तीले भनिन्, 'अरु पैसा ऋण छ भनेर उहाँले नै खर्च गर्नुभयो। त्यसपछि पारिवारिक कलह सुरु भएको हो ।'

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पारिवारिक समस्यामा पारेर श्रीमान वैदेशिक रोजगारीका लागि जान लागेको भन्दै युवतीले निवेदन दिएको बताए । 'समस्यामा परेको गुनासोसहित युवतीको निवेदन परेको छ,' उनले भने, 'त्यही निवेदनका आधारमा उनका श्रीमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जानका लागि रोक लगाइसकिएको छ ।' सञ्जेलले दुवैजना मिलेर आएमा र श्रीमती राजी भएमा मात्रै सचिनलाई विदेश जान खुल्ला गर्न सकिने स्पष्ट पारे ।

Published on: 15 November 2019 | Annapurna Post

Link

Back to list

;