s

ढुकुटीको कारोबार वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा

Year of Publication: 23 August 2012  | Nagarik 

Publication Type: NEWS

Published by: CESLAM

अवैध रूपमा खेलाउँदै आएको ढुकुटीको कारोबार अहिले दलालमार्फत एकाएक वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा परिणत हुँदैछ। वैदेशिक रोजगारका लागि पैसा दिएको तमसुक बनाए रकम असुल्न सहज हुने नियतले ढुकुटीवालाहरू त्यसतर्फ लागेका हुन्।  

वैदेशिक रोजगार विभागले विदेश पठाउने भनी रकम ठगी गर्नेलाई कडा कारबाही गरेर रकम असुली गरिदिने भएकाले ढुकुटीवालाहरूले तमसुक बनाउँदा वैदेशिक रोजगारका लागि लिएको भन्ने गराउन थालेका छन्। 
मंगलबार ढुकुटी खेल्न दिएको लाखौं रूपैयाँलाई विदेश पठाउन लिएको भनी वैदेशिक रोजगार विभागमा मुद्दा परेपछि त्यसको रहस्य खुलेको हो। सरकारले ढुकुटी कारोबार अवैध भनिरहेका बेला रकम दिनेले पहिल्यै वैदेशिक रोजगारसम्बन्धी तमसुक बनाएको खुलेको छ। 
 
सयकडा ३ देखि १० प्रतिशत व्याजमा सामान्य अनपढ महिलाहरू अहिले करोडौं रुपैयाँ ऋणमा फसेका छन्। उनीहरूलाई वैदेशिक रोजगार विभागबाट खोजबिन भइरहेका कारण उनीहरू भूमिगत बन्न बाध्य छन्। 
 
बागलुङ नगरपालिका २ की देवी गुरूङका नाममा परिचित कृपादेवी जिसीले अहिले वैदेशिक रोजगार विभागमा मुद्दा दायर गरेकी छन्। बागलुङ बोवाङ घर भएकी हाल काठमाडौं बस्दै आएकी दिलकुमारी घर्तीलाई उनले १७ लाख ठगेको नाममा मुद्दा दायर गरेकी छन्।
जिसीले आफ्ना दाइ सुरेन्द्र जिसीको नामबाट घर्तीलाई मुद्दा लगाएकी छन्। घर्ती अहिले भूमिगत छिन्। उनले ढुकुटीमा कम्तीमा १० करोडको हाराहारीमा पैसा फसाएको उनका आफन्तहरू बताउँछन्। जिसीले ढुकुटी पूरा गर्न भनी नगद लगेको बताइन्। 
 
'छोरा सिंगापुरको लाहुरे छ। ढुकुटी पूरा गर्न खाँचो पर्योा भनेर पहिले १० लाख रूपैयाँ लगे। मैले चिनेकी माया पुन भन्नेले लिएर आएकी थिइन्। १ महिनाभित्र दिन्छौं भने। तर दिएनन्, त्यो पैसा मेरो दाइको विदेश जाने हो भनेँ। उनीहरूले नै लेनदेन भए पनि, विदेश पठाइदिने भने पनि तमसुक बनाउँ्क भनेर बनाएकी हुँ। पछि दुईपटक ३/३ लाख रूपैयाँ लगेका हुन्,' कृपादेवीले भनिन्।
घर्ती पक्षले करकापमा वैदेशिक रोजगारको तमसुक बनाएको जिकिर गरेको छ। जिसीले घर्तीलाई फेला नपारेपछि उनका माइला छोरालाई पक्राउ गराएर आमा खोज्न लगाएकी थिइन। अहिले रोजगार विभागमा घर्ती, उनका माइला छोरा र प्रहरीबाट रोहवरमा जिम्मा लिएकालाई समेत विपक्षी बनाएर कृपादेवीले मुद्दा दायर गरेकी छन्। 
 
उनीमार्फत बागलुङकै अधिकारीचौर प्याङखोलाबाट राजधानी आई बसोबास गर्ने अर्की ईश्वरी पुनलाई समेत मुद्दा हालेकी छन्। पैसा कृपादेवीले दिने मुद्दा हाल्दा 'यो व्यक्तिबाट लिएर दिएकी हुँ' भनेर उनले अर्को व्यक्तिको नामबाट मुद्दा दायर गरेकी छन्। 
ईश्वरीकी छोरी पुष्पाले ढुकुटी खेलेकी थिइन्। पुष्पाको नाममा सम्पत्ति नदेखिएपछि उनले आमाका नाममा वैदेशिक रोजगारमा ठगेको भनी मुद्दा दायर गरेकी छन्। ईश्वरीको नाममा घरजग्गा भएकाले अहिले ३५ लाख रुपैयाँ वैदेशिक रोजगारका लागि लगेको तमसुक कृपादेवीले बनाएकी छन्। 
 
अर्की भानु पुनबाट कृपादेवीले ८ लाख रुपैयाँ असुली सकेकी छन्। 'भानुको पति भारतीय सेनामा कार्यरत रहेछन्। मुद्दा थियो, पछि आएर ८ लाख दिए। दिलकुमारीलाई मुद्दा चलाएका छौं,' कृपादेवीले भनिन्। 
 
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धिरजप्रताप सिंहका अनुसार औपचारिक रूपमा दर्ता भएको ढुकुटीको एउटामात्रै मुद्दा छ। 'केन्द्रीय अनुसन्धान ब्युरोले कारबाहीका लागि परिसर पठाएको एउटाबाहेक अन्य औपचारिक रुपमा आएको छैन,' सिंहले भने, 'कोही लेनदेन, वैदेशिक रोजगारमा मुद्दा आउँछ। अनुसन्धान गर्दा ढुकुटी भेटिन्छ। ठगीको दायराभित्र रह्यो भने अनुसन्धान गर्छौं। वैदेशिक मुद्दा आए रोजगार विभाग पठाइदिन्छौं।'
 
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कारबाही कडाइका साथ गर्ने भएकाले अहिले दलालमार्फत त्यस्तो मुद्दा आएको बताए। 'वैदेशिक रोजगारमा ठगिऔं भनेर एकदम नम्र भएर आउँछन्। दुवै पक्षलाई लिएर अनुसन्धान गर्दै जाँदा ढुकुटीको लेनदेन भेटिन्छ। विभागबाट कडाइसाथ कारबाही गरेर पैसा दिलाउने हुँदा दलालहरूले यस्तो शैली सिकाएका छन्। यो कानुनको उल्लंघन भयो,' भट्टराईले भने। 
 
यस्ता मुद्दा ४०/५० लाख विदेश पठाउन भनी ठगिएको भनेर आउने गरेको भट्टराईले बताए। उनले भने, 'यसको स्रोत कहाँबाट आयो भनेर स्रोत खोज्दा ढुकुटी कारोबारबाट देखिन्छ। घरजग्गाको समेत यस्तै गरेर आउन लागेको छ। कानुन दुरुपयोग गरेर विभागलाई भार पार्ने काम भएको छ।'
 
ढुकुटी कारोबार अवैध भएको औंल्याउँदै राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले उजुरी आए प्रहरीमार्फत कारबाही गरिने बताए। 'ऋण दिने र निक्षेप स्विकार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले संगठित रूपमा गर्न पाउँछन्। कसैले ढुकुटीबाट कारोबार गर्छ भने त्यो अवैध हुन्छ,' ज्ञवालीले नागरिकसँग भने। 
 
अवैध रूपमा अहिल देशभर सानाठूला ढुकुटी खेलिएको तथ्य स्वयं राष्ट्र बैंकलाई समेत जानकारी छ। बैंकले हालै गरेको एक अनुसन्धानले देशभर खेलाइएको ढुकुटीमा ५ सय अर्ब रुपैयाँ कारोबार भएको निष्कर्ष निकालेको छ।
 
किन बिग्रियो ढुकुटी?
 
अवैध र जोखिमपूर्ण कारोबार मानिने ढुकुटी परम्परा थकाली समुदायबाट आएको हो। बेलायतमा १८ औं शताब्दीतिर सहकारी आन्दोलनअघि मुस्ताङ थाकखोलामा थकाली समुदायले सहयोगी संस्थाका रूपमा ढुकुटी खेल्न सुरु गरेको थियो।
 
समुदायका कमजोर सदस्यको आर्थिक सुधारका लागि सुरु गरिएको ढुकुटी अहिले उठ्नै नसक्ने गरी डुबेको सुनाए- ढुकुटी खेललाई नजिकबाट हेरेका अर्जुन शेरचनले। 'हामी थकाली समुदायबाट आएको हो, ढुकुटी खेल्ने परम्परा। तर, अहिले पूरै विकृत आयो। हाम्रो समुदायमात्र नभएर बाहिरी समुदाय झन् नराम्री फसे। ढुकुटीको कारोबार उठ्न सक्दैन,' १२ वर्ष जापान बसेर आएका व्यवसायी शेरचनले भने। 
 
ढुकुटीमा अनपढ र पति बिदेसिएका महिला बढी संलग्न भए। केही चलाख सदस्यले ढुकुटी खाएर भागेपछि कारोबारमा संकट आयो। एकपटक वैदेशिक रोजगारबाट राम्रो आर्थिक हैसियत बनाएकाहरू अहिले सडकमा पुगेका छन्।
 
ढुकुटी खेलाउने सञ्चालकले पहिलो पालो खाने र तेस्रो, चौथो पालो खाने सदस्य भागेपछि ढुकुटी बिग्रिएको छ। सदस्यहरू भागेपछि सञ्चालकले ऋण गरेर पूर्ति गर्दा ढुकुटी कारोबारवाला चौपट भए। 'कुनै दिन उनीहरूसँग ३/४ वटा घर, २/३ वटा गाडी, मोटरसाइकल, जीवनशैली नै फरक थियो। अहिले कसैको घर बाँकी छैन, सबै बैंकमा छन्। घर, गाडी सबै सुम्पिँदासमेत सामान्य व्यक्ति १० करोडभन्दा बढी ऋणमा छन्,' ढुकुटीका एक भुक्तभोगीले भने।
 
विदेशबाट आउँदा पैसा थियो, पतिले पठाउने, घरजग्गा कारोबार अकासियो। त्यही बेला ढुकुटी निक्कै फस्टायो। 'उदाहरणका लागि २ करोडको घर लिए, ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडी लिए। त्यो २ करोड पूरा गर्न आधा ढुकुटी, आधा बैंकको ऋण बनाए। किस्ता, ब्याज तिर्दै गए। उत्पादन केही भएन। ढुकुटी पूरा गर्दा र बैंकको किस्ता तिर्न महँगो ब्याजमा आफन्त र नजिककासँग ऋण लिए। आखिर सबै रित्तै भए,' ती भुक्तभोगीले भने।
 
धेरैजसो अनपढले चलाए ढुकुटी। २२ करोडसम्मको हिसाबकिताब सानो नोटबुकमा राखेको अनुभव सुनाउँछन् अर्का पूर्व ढुकुटी सञ्चालक। 'झोलाका झोला पैसा, ढुकुटी खान जब टेन्डर बोल्ने परम्परा आयो, त्यहाँबाट झन् बिग्रियो,' ती पूर्वसञ्चालकले भने। 
'ढुकुटीको कूल रकम मानौं १ करोड भयो। त्यसमा २० जना सदस्य भए। सञ्चालकले पहिलो भाग खाँदा उसले १ करोड खायो। तेस्रो, चौथोले टेन्डर बोलेर त्यसको ५० प्रतिशत कम अर्थात् ५० लाखमात्रै लियो र भाग्यो। त्यसमा सञ्चालक त फस्ने नै भयो। कतिपय सञ्चालकले नै आधा खेलाएर भागे, यसरी बिग्रियो,' उनले भने।
 
बसीबसी पैसा आउने सपना बुनिरहे प्रायः अनपढ महिलाहरू। आना श्रीमानको विदेश कमाइ, घरजग्गा देखाउँदै पैसा ऋण लिए महँगो ब्याजमा। अहिले उनीहरूको सम्पत्तिभन्दा तीन गुण ऋण खपिएको छ। आम्दानी शून्य भएको छ।
 
महँगा ब्याज असुल्न अहिले दलालले अनेक उपाय निकालेका छन्। पैसा फसेपछि केही चलाख, पहुँचवालाले प्रहरीप्रशासन, डनहरूलाई प्रयोग गरेका छन्। ऋण लिएकालाई प्रशासन र डनहरूको आडबलमा वैदेशिक रोजगारी ठगीको तमसुक बनाएर मुद्दा लगाउने काम भइरहेको छ।
 
उनीहरूलाई कानुनी दायरामा लिएपछि आफन्त वा वरपरबाट समेत फसेको पैसा असुली गर्ने नाममा वैदेशिक रोजगार विभागलाई माध्यम बनाइँदैछ। जुन दलालले कानुन दुरुपयोग गरिरहेको विभाग महानिर्देशक भट्टराईले स्वीकार गरे।
 
Published on: 23 August 2012  | Nagarik 
 

Back to list

;