s

डेनमार्क भन्दै भारत पुर्याएर अलपत्र

Year of Publication: 10 May 2018 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रुद्र खड्का

दुबईको रोजगारीबाट फर्केको डेढ वर्ष पूरा भइसक्दा समेत कामको टुंगो नलाग्दा रामेछाप, सुनपति गाउँपालिका–५ का भुवन खड्कालाई के गरौं, कसो गरौं भइरहेको थियो।
 
वैदेशिक रोजगारीका लागि राम्रा मानिएका गन्तव्यमा भनेजस्तो काम नपाउँदा उनलाई स्वदेशमै केही गर्ने इच्छा नलागेको पनि होइन । तर, अनेक प्रयास असफल भइरहेको बेला गाउँकै आकाश लामाले प्रस्ताव ल्याए– चार लाख रुपैयाँ खर्च गर्ने हो भने डेनमार्क जान पाइन्छ।
 
पाँच वर्षअघि नै दुबई जाने बेला साढे चार लाख रुपैयाँ मेनपावरलाई बुझाएका खड्काका लागि त्यो प्रस्ताव निकै आकर्षक थियो । धेरै कुरा बुझ्दै नबुझी डेनमार्क जाने लोभले उनले लामाको प्रस्तावमा सहमति जनाउँदै अघिल्लो प्रक्रिया मिलाउन आग्रह गरिहाले । चार लाख रुपैयाँ तिरेर डेनमार्क जाने पाइने सर्तमा मन्जुर भएपछि लामाले उनलाई सुरज प्रजापतिको सम्पर्कमा पुर्याए ।
 
काठमाडौंमा बस्ने गरेका सुरजसँग भेट भएपछि प्रलोभन डेनमार्क जान पाउनेमै सीमित रहेन । उनले रोजगारीका लागि डेनमार्क जान भारतको गोवास्थित पानीजहाजमा बसेर सुरक्षा गार्ड सम्बन्धी केही सीप सिक्नुपर्ने प्रस्ताव गरे । सुरजले सीप सिकेको केही समयपछि डेनमार्क जान पाइने र सीप सिक्दासम्म गोवामा मासिक ४० हजार भारतीय रुपैयाँ पारिश्रमिक पाइने अर्को प्रलोभन थपे ।
 
‘मासिक ४० हजार भारू पारिश्रमिक पाइने र सीप सिकेपछि डेनमार्क जान पाइने प्रलोभन सुन्दा निकै आकर्षक थियो,’ खड्काले भने, ‘उसको (सुरज) प्रलोभनमा पर्दा यतिखेर गोवामा काम गरेको पारिश्रमिक त पाउन सकेका छैनौं नै अर्को दुई लाख रुपैयाँ गुमेको छ।’
 
सुरजले खड्काजस्ता युवालाई डेनमार्कको प्रलोभन देखाउँदा यतिखेर तीन दर्जनभन्दा बढी भारतको गोवामा अलपत्र परेका छन् । प्रलोभनमा परी गोवा पुगेका उनीहरू डेनमार्क त जान पाएका छैनन् नै, तीन महिनादेखि गोवाको प्राइड क्रुजमा काम गरेको पारिश्रमिक समेत पाएका छैनन् । पानीजहाजमा सञ्चालन हुँदै आएको क्यासिनोमा काम गर्ने भनेर गोवा पुर्याइएका अधिकांश युवा नेपाली सेनाको जागिर छाडेका हुन् ।
 
खड्काले भने, ‘डेनमार्क पुगेपछि मासिक चार लाख रुपैयाँ पारश्रमिक पाइने र सीप सिक्दै गर्दा ४० हजार भारू (६० हजार रुपैयाँ) पाइने प्रलोभनले बिचल्ली बनायो ।’ गोवा पुगेपछि मात्र सुरजले दिएको प्रलोभन झुठ साबित भएको पीडितको भनाइ छ ।
 
सुरजलाई एक लाख ५० हजार रुपैयाँ बुझाएर दिल्लीको बस चढेका धादिङ, धुनिबेसी नगरपालिका–१ का धर्मराज ओझाले गोवा पुगेपछि ठगी धन्दा खुलेको बताए । ‘सुरजले काठमाडौंमा युवालाई भेला पारेर गोवामा बस्दै आएका राजकुमार श्रेष्ठसमक्ष पठाउँदो रहेछ,’ ओझाले भने, ‘त्यहाँ त तीन–चार महिना पहिलेदेखि नै युवालाई भेला पारिएको र कसैले पनि पारिश्रमिक पाएको रहेनछ।’
 
क्यासिनोमा काम गरिरहेका कोही पनि नेपालीले पारिश्रमिक नपाएपछि ओझाले काम नै नगरेको बताए । ‘निकै अनुशासित र मेहनतसँग काम गरिरहेकाले समेत पारिश्रमिक नपाएको देखेपछि मैले कामै गरिनँ,’ केही दिनअघि काठमाडौं फर्केका उनले भने, ‘दलालको फन्दामा परेका सबैलाई सहयोग चाहिएको छ ।’ गोवामा अलपत्र परेकामध्ये केही घर फर्केको र केही फर्कने क्रममा रहेको उनले बताए ।
 
गोवा जानुअघि भने अनुसारको काम र पारश्रमिक नपाएकोबारे सुरजसँग गुनासो गर्न खोज्दा सम्पर्क हुन नसकेको पीडित बताउँछन् । नागरिक दैनिकको कार्यालयमा आएका पीडितले सुरजको भनी उपलब्ध गराएको मोबाइल नम्बरमा पटकपटक प्रयास सम्पर्क हुन सकेन । ओझाका अनुसार पीडितले सुरजलाई प्रतिव्यक्ति एक लाखदेखि साढे पाँच लाख रुपैयाँसम्म बुझाएका छन् । तर, अधिकांशले नगदै बुझाएको ओझाले बताए।वैदेशिक रोजगार ऐनमा इजाजत नलिएका कुनै पनि संस्था र व्यक्तिले जो कसैलाई रोजगारीका लागि विदेश पठाउन नहुने उल्लेख छ । अनाधिकृत व्यक्तिले वैदेशिक रोजगारीमा पठाएको ठहरे बिगोको डेढ गुणा क्षतिपूर्ति पीडितले पाउने व्यवस्था ऐनमा छ ।
 
Published on: 10 May 2018 | Nagarik

Back to list

;