s

'दिल्ली हुँदै कुवेत' जालोमा युवती

Year of Publication: 16 March 2016 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

अजित तिवारी
 
विराटनर जोगबनी नाकाबाट नयाँदिल्ली गुड्ने सीमाञ्चल एक्सप्रेस रेल गुड्न ६ घन्टा ढिलो भइरहेको थियो । सीमा प्रहरीचौकी, रानीका इन्चार्ज सई विकास खत्रीलाई भारतीय प्रहरीबाट खबर आयो– 'जोगबनी रेलवे प्लेटफर्ममा ७ युवती छन्, हेर्दा शंकास्पद लाग्छ, बेचबिखन हो कि ?'
 
खत्री तुरुन्तै नजिकैको रेलवे प्लेटफर्म पुगे ।
 
नभन्दै त्यहाँ सात युवती समूहमा रहेछन्, उनले देखिहाले । सई खत्रीले ती युवतीलाई सोधिहाले, 'तपाईंहरु कहाँ जान लाग्नुभएको ?
 
'नयाँदिल्ली !' उनीहरुले उत्तर दिए ।
 
'किन जान लाग्नुभएको ?'
 
'दिल्लीमा दिदीको ब्युटीपार्लर छ, हेर्न जान लागेको ।'
 
खत्रीले सबैलाई एक–एक गरेर यो प्रश्न सोधे ।
 
सातै जनाले यही उत्तर दिए ।
 
उत्तर बनावटी थियो भन्ने लख काट्न प्रहरीलाई बेर लागेन ।
 
खत्रीले सबैको नागरिकता मागे । सातै जनाको फरक–फरक ठाउँको नागरिकता देखेपछि पक्का भयो, ती युवती एकले अर्कालाई राम्ररी चिन्दैनन् ।
 
सई खत्री झन् शंकालु भए ।
 
रेलको टिकट पनि त्यही दिन काटिएको थियो सबैको । त्यो देखेपछि सई खत्रीको कमान्डमा गएका प्रहरीले उनीहरुलाई तत्कालै नियन्त्रणमा लिए । केरकार गर्दा पक्का भयो, उनीहरुलाई मानवतस्करले कुवेत लैजान गैरकानुनी बाटो प्रयोग गर्ने तयारी गरेका रहेछन् ।
 
नयाँदिल्ली हुँदै गैरकानुनी बाटो प्रयोग गरेर आफूहरुलाई खाडी मुलुक कुवेत लैजान लागिएको थाहा पाएपछि सबै युवती छाँगाबाट खसेझैं भए ।
 
विदेश गएर कमाउने सपना काँचको सिसाझैँ एकैचोटि चकनाचुर भयो ।
 
मंगलबार इलाका प्रहरी कार्यालय, रानीमा आफन्तले जिम्मा लिएपछि घर फर्किनुअघि चोरबाटोबाट कुवेत जानबाट जोगिएका ती युवती फूलमायालाई सराप्दै थिए ।
 
'खान–लाउन समस्या परेकाले दुई पैसा हुन्छ भनेर कुवेत जान लोभिएँ,' देवीमाया बस्नेतले नागरिकसँग भनिन्, 'गलत बाटो हिँडेको रहेछु भन्ने थाहा भयो ।'
 
उक्त घटनामा मोरङ प्रहरीले सुनसरी, पाँचकन्याकी ३१ वर्षीया फूलमाया तामाङ र सुनसरी, इनर्वा–२ का रोहित दर्नाललाई मानव बेचबिखनमा मुद्दा चलाएको छ ।
 
... ... ...
 
पतिले अर्कैसित घरजम गरेर बिचल्ली पारिदिएपछि सुनसरी, पाँचकन्याकी देवीमाया छोरो हुर्काउन र दुई छाक टार्न हम्मे प¥यो ।
 
हिम्मतिली देवीमायाले भैंसी पालेर दूध बेचिन्, सब्जी उब्जाएर बेचिन् । दुई–चार पैसा आम्दानी त भयो तर यसरी पनि गुजारा सहज भएन ।
 
उनले टोल–छिमेकका भाँडावर्तन पनि मस्काइन् । छोराको पालनपोषण र गुजाराका लागि देवीमायाले सक्दो मजदुरी र मेहनत गरिन् । तैपनि अभावले छाडेन ।
 
देवीमायाको दुःख छिमेकी फूलमाया तामाङलाई राम्रै थाहा थियो । दुःखजिलो गरी गुजारा गरिरहेकी देवीमायालाई फूलमायाले प्रस्ताव गरिन्, 'एक रुपैयाँ पनि खर्च लाग्दैन, कुवेत जाऊ, महिनाको कम्तीमा २५ देखि ३० हजार रुपैयाँ कमाइन्छ ।'
 
फूलमायाको प्रस्ताव उनलाई 'ढुंगा खोज्दा देउता मिल्यो' भनेझँै लाग्यो । छिमेकी दिदीले पक्कै कुभलो चिताएकी छैनन् भनेर उनले यसबारे माइतीघरमा सरसल्लाह गरिन् ।
 
दुई–चार पैसा कमाए छोराको भविष्य उज्ज्वल हुने सोचेर सबैले उनलाई कुवेत जान अनुमति दिए । छोरालाई माइतमै राखेर आफू कुवेत जाने निधोमा पुगिन् उनी ।
 
फूलमायाले देवीमायालाई काठमाडौं बोलाइन् । सरसापट गरेर देवीमाया अलिअलि पैसाको जोहो गरेर धरानबाट काठमाडौंको बस चढिन् । बसको लामो यात्रामा देवीमायाले कुवेतमा कमाउने पैसाले छोरालाई राम्रो स्कुलमा पढाउने, टुटे–भत्केका घर मर्मत गर्ने र मिठो–मसिनो खाने योजना बनाउँदै निदाइन् । काठमाडौं पुगेपछि कुवेत जाने अन्य पाँच जनासित देवीमायाको भेट भयो । सबैको उस्तै सपना, उही योजना थियो ।
 
बिनाखर्च कुवेत लैजाने, होटलमा बसेको, खाएको पनि तिर्न नपर्ने, सबैलाई लाग्यो– फूलमाया दिदी क्या गजबकी !
 
धरानबाट काठमाडौं पुगेकी देवीमायालाई विराटनगर पुगेर रेलबाट नयाँदिल्ली हुँदै कुवेत जाने बताएकी थिइन् फूलमायाले ।
 
देवीमायाले अचम्म मानेर सोधिन्, 'पासपोर्ट, भिसा झरेकै छैन, बिनाकागज कसरी जानु ?' फूलमाया बाठी थिइन् । पट्याइहालिन, 'सबै कागज दिल्लीमै आउँछ, नेपालबाट कुवेत जाने श्रमस्वीकृति छैन ।'
 
गाउँले दिदीले भनेको नपत्याऊँ कसरी ? देवीमायाले नाइँनुकुर गरिनन् । देवीमायासहित कुवेत जान हिँडेका पाँच युवती फूलमायासँगै गाडी चढेर विराटनगर आइपुगे ।
 
... ... ...
 
रामेछाप, गुप्तेश्वर–८ की शिवकुमारी बस्नेतको पासपोर्ट (राहदानी) गाउँले दाइ रमेश थापाले आफ्नो कब्जामा लिए । 'सबै जना विदेश जाँदारहेछन्, कस्तो हुन्छ भनेर मलाई पनि रहर लाग्यो,' शिवकुमारीले भनिन्, 'रमेश दाइले सबै चाँजोपाँजो मिलाइदिन्छु भन्नुभयो र पासपोर्ट लानुभयो ।' कुवेतमा हाउस (घर) को काम गर्नुपर्छ, महिनाको २५–३० हजार रुपैयाँ हुन्छ भनेपछि शिवकुमारी लोभिइन् ।
 
'काठमाडौंबाट किन नउडाएको भनेर रमेश दाइलाई सोधेँ,' उनले भनिन्, 'कुवेतको जहाज यहाँबाट छैन, दिल्ली नै पुग्नुपर्छ भन्नुभयो । भिसा खोइ त भनी सोध्दा मोबाइलमा यही हो तिम्रो भिसा भनेर फोटो देखाउँथे, अक्षर एउटै नबुझ्ने थियो ।'
 
गैरकानुनी बाटो भन्ने शंका लागेर गलत बाटो जाँदा समस्या होला नि भन्दा 'रमेशले केही हुन्न बैनी, ढुक्कसँग जानुस्' भनेको उनले सुनाइन् ।
 
देशैभरि नेटवर्क
 
गैरकानुनी तरिकाले जोगबनी नाका हुँदै भारतको राजधानी नयाँदिल्ली पुर्‍याएर नेपाली युवतीलाई खाडी मुलुक छिराउने गिरोह देशैभरि सक्रिय रहेको प्रहरी दाबी छ । चोरबाटो कुवेत पु¥याउने घटना अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय, रानीका प्रमुख इन्स्पेक्टर गंगा पौडेलका अनुसार फूलमाया र दर्नाल बिचौलिया मात्र हुन् ।
 
प्रहरीका अनुसार काठमाडौं बोलाइने युवतीलाई फूलमायाले विराटनगर ल्याएर, रेलमार्फत नयाँदिल्लीसम्म पु¥याउने काम गर्थिन् । फूलमायासँगै पक्राउ परेका दर्नालको जिम्मा भने रेलको टिकट मिलाइदिने र जोगबनीसम्म सुरक्षित रुपमा पु¥याइदिने हो । 'गाउँ–गाउँबाट युवती लोभ्याएर काठमाडौं पठाइदिने अरु नै छन्,' अनुसन्धान अनुभव सुनाउँदै पौडेलले भने, 'नयाँदिल्ली पु¥याइदिएपछि त्यहाँबाट खाडी मुलुकसम्म लैजाने अर्कै हुन्छन् ।' गैरकानुनी बाटोबाट कुवेत हिँडेका र जोगबनी रेलवे प्लेटफर्मबाट प्रहरीले उद्धार गरेका ६ जना युवती फरक–फरक ठाउँका हुन् ।
 
चितवन, रामेछाप, सुनसरी, उदयपुर र संखुवासभाका युवती पतिले छाडेका, आर्थिक स्थिति कमजोर, कम पढेका र परिवारमा समस्या भएका हुन् ।
 
'ठूलो सपना देखाएर यिनीहरुलाई लोभ्याइएको हो,' इन्स्पेक्टर पौडेलले भने, 'नेपाली युवतीलाई कुवेत पुर्‍याउने गिरोहको एउटा चेन नै रहेको अनुसन्धानबाट देखिन्छ, फूलमाया र दर्नाल बीचका पात्र हुन्, गिरोहका नाइके काठमाडौं र नयाँदिल्लीमा छन् ।'
 
कुवेतै पुर्‍याउलान् त !
 
'घरको काम । खान र बस्न अतिरिक्त पैसा खर्च नहुने । महिनाको २० देखि ३० हजार नेपाली रूपैयाँ कमाइ हुने । कुवेत जान एक पैसा पनि खर्च नलाग्ने । काठमाडौं पुगेपछि दुई–चार दिन बसेको र खाएको पनि तिर्नु नपर्ने । काठमाडौंबाट विराटनगरसम्मको बस टिकट पनि काट्नु नपर्ने । बाटोको खाजा–खाना खर्च त झनै परेन ।'
 
यसो भनेर फकाइएका युवती विराटनगरबाट दिल्ली हुँदै कुवेतै पुर्‍याइन्छन् त ?'
 
'काठमाडौंबाट विराटनगर आएपछि फूलमायाले बसपार्कको एक होटलमा सबैलाई राखिन्,' इन्स्पेक्टर पौडेलले भने, 'त्यहाँ बसेको र खाएको सबै पैसा फूलमायाले नै तिरिन् ।'
 
होटलमै दर्नाल आइपुगे । फूलमायाले नयाँदिल्लीसम्मको रेलको टिकट र भारतीय रुपैयाँ (भारु) साट्न अहरिन् । दर्नाललाई सबै पैसा फूलमायाले नै दिइन् । विराटनगरबाट जोगबनीसम्म पुगेको सिटी रिक्साको भाडा पनि फूलमायाले नै तिरिन् । फूलमायाको नातामा पनि नपर्ने, चिनजानको पनि नरहेको ती युवतीलाई उनले एक पैसा नलिई किन कुवेत पु¥याउन 'समाजसेवी मन' देखाइन् । प्रहरीलाई शंका छ ।
 
'खाडी मुलुकको सपना बाँडेर भारतमै ती युवतीलाई अलमलाउनेजस्तो देखिन्छ,' इन्स्पेक्टर पौडेलले भने, 'खाडी मुलुक लगे पनि पानीजहाजमा कोचेर लैजाने होला ।' अनुसन्धानमा संग्लन मोरङ प्रहरीका एक अधिकृतका अनुसार ती युवतीलाई भारतमै कुनै दलालको जिम्मा लगाइदिने, त्यसबाट मोटो रकम लिएर नेपाल फर्कने फूलमायाको योजना पनि हुन सक्छ । मोरङ प्रहरीका अनुसार कुवेत जान काठमाडौंमा बोलाइने युवतीलाई त्यहाँ दुई–चार दिन राखेर 'स्कुलिङ' दिइन्छ ।
 
जोगबनीकै बाटो किन ?
 
भारतीय प्रहरीको सहयोगमा मोरङ प्रहरीले जेठ १९ गते नयाँदिल्लीकै बाटो खाडी मुलुक हिँड्न लागेकी ५ महिलाको जोगवनी रेलवे प्लेटफर्मबाटै उद्दार गरेको थियो । त्यति बेला उद्दार गरिएका पाँचैजना महिला पनि एक–अर्काविच अपरिचित थिइन् । पाँचैजना अलग–अलग ठाउँको ।
 
बैशाख १२ को महाभुकम्प लगत्तै वालवालिका र महिलाको अन्य मुलुक पुर्‍याउने गिरोह देशैभर सक्रिय भए । ती गिरोहले जोगवनी नाका पनि रोजे । विराटनगरसंगै टाँसिएको जोगवनीमा भारतको ब्रोडग्रेज रेल्वे लाइन छ । जहाँबाट नयाँदिल्ली र कोलकोताको सिधै रेल सेवा छ । जोगवनीमा किनमेल गर्न मात्र दैनिक हजार भन्दा बढी नेपाली गृहणी पुग्छिन् । बिना रोकटोक एक्लै वा समूहमा जोगवनी वारि–पारी जानेलाई कुनै छेकछन्द छैन् ।
 
साँझको ७ बजे जोगवनी नाकामा झन् बढी भिडभाड हुन्छ । दुबैतर्फबाट गाडिको बाक्लो ओहरदोहर । किनमेल गरेर फर्किनेको ताँती । र, रेल चढ्ने जानेको भीड । जोगवनी नाकाले साँझको ७ बजे एकैपटक गाडि र मानिसको यतिबिध्न चाप थेग्छ । 'त्यति बेला गलत नियतले जोगवनी छिरेको ठँम्याउन समस्या पर्छ,' सीमामा खटिने एक प्रहरीले भने, 'एक–एकमाथि नजर राख्न सकिदैन ।' फुलमायाले त्यसकै फाइदा उठाइन् । दुई–दुई जनाको समूह बनाएर युवतीलाई किनमेल गर्न गा'को जस्तो जोगवनी छिराइन् । उनीहरु रेल्वे प्लेटफर्मतिर नगएर जोगवनी बजारतिर लागिन् । एउटा खाजा पसलमा सबै भेला भए ।
 
'रेल आउन ढिलो थियो, उनीहरु त्यही खाजा पसलमा केही घण्टा बिताए,' सीमा प्रहरी चौकी रानीका सई खत्रीले भने, 'राती १० बजेपछि मात्रै उनीहरु रेल चढ्न प्लेटफर्म पुगिन, त्यो पनि समूहमा होइन, एक्ला–एक्लै ।' प्रहरीले उद्दारपछि केआई नेपालको संरक्षणमा बसेकी ६ जना युवतीलाई मोरङ प्रहरीले मंगलवार आफ्न्तको जिम्मा लगाएको छ । 'जोगवनी नाकामा कसैले सोध्यो भने किनमेल गर्न आएको भनेर उनीहरुलाई प्रशिक्षण दिइएको थियो,' केआई नेपालका मोरङ संयोजक सुशिल मरहठाले भने ।
 
Published on: 16 March 2016 | Nagarik

Back to list

;