s

दरखास्त दिएका १० प्रतिशत परीक्षामा सहभागी भएनन्

Year of Publication: 12 June 2017 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीका लागि कोरिया लैजाने खुड्किलो आठौं कोरियन भााषा परीक्षामा दरखास्त दिएकामध्ये १० प्रतिशत परीक्षामा सहभागी भएनन्।

२४ अमेरिकी डलर (करिब २५ सय रुपैयाँ) तिरेर दरखास्त दिएकामध्ये शनिबार र आइतबार लिइएको परीक्षामा करिब १० प्रतिशत सहभागी नभएको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको हो। 'दुई दिन चलेको परीक्षामा कति सहभागी भए भन्नेबारे अन्तिम तथ्यांक लिने क्रम जारी छ,' शाखा प्रमुख बाबुराम खतिवडाले भने, 'प्रारम्भिक सूचना अनुसार करिब १० प्रतिशत (७ हजार जति) परीक्षामा सहभागी नभएको पाइएको छ।' परीक्षामा सहभागी भएकाहरूको विवरण कोरियन अधिकारीले मंगलबारसम्म उपलब्ध गराएपछि यकिन विवरण दिन सकिने उनले बताए।

सन् २०१८ मा रोजगारीका लागि कोरिया जाने भाषा परीक्षा सञ्चालनका लागि कोरियाबाटै ५५ जनाको टोली नेपाल आएको थियो। चैत ९–१८ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम संकलन गरेका ७५ हजार पाँच सय ८० आवेदनकर्ताका लागि जेठ २७ र २८ गते २–२ सिफ्टमा भाषा परीक्षा लिइएको छ। काठमाडौंका विभिन्न २६ केन्द्रमा परीक्षा लिने व्यवस्था मिलाइएको थियो। परीक्षा सञ्चालनका लागि हरेक केन्द्रमा दुईजना कोरियन अधिकारी गएका थिए। विभागका कर्मचारी सहयोगीको भूमिकामा रहे।

सन् २०१८ मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संशाधन विभागले १० हजार दुई सय कोटा तोकेको छ। भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये कृषिमा ६ हजार दुई सय र सेवा क्षेत्रमा चार हजारलाई छनोट गरिने शाखाले जनाएको छ।

कोरियाको मानव संशाधन विभागबाट आएका अधिकारीको रोहबरमा भएको परीक्षामा बढी अंक ल्याउने व्यक्ति कोरिया जान पाउने शाखाका अधिकृत शोभाकर भण्डारीले बताए। शाखाले यसपटकदेखि दरखास्त फारम अनलाइनबाट संकलन गर्ने व्यवस्था मिलाएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरियाले कामदारको माग बढाएर तीन गुणाभन्दा माथि पुर्‍याएको छ। अघिल्लो वर्षको कोटा तीन हजार एक सय थियो। त्यतिखेर ६५ हजारले भाषा परीक्षाका लागि प्रतिस्पर्धा गरेका थिए।

सन् २००८ देखि दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपालबाट कामदार लैजान थालेको हो। इपिएस सुरु भएयता हालसम्म ४५ हजार पाँच सय ८८ जना रोजगारीका लागि कोरिया उडेका छन्

यसपटक कोरियाले माग गरेको संख्या इपिएस सुरु भएयताको दोस्रो बढी हो। सन् २०११ मा सबभन्दा बढी १५ हजार ६ सय ७१ नेपाली कामदार लिएको थियो। सन् २००९ र सन् २०१२ मा भने विभिन्न कारण देखाउँदै कोरियाले नेपाली कामदार लिएन। कोरियाबाट आएको टोली मंललबार उत्तरपुस्तिका लिएर कोरिया फर्कने र असार १६ गते नतिजा प्रकाशन हुने शाखाले जनाएको  छ।

२३ नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिन खोज्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भाषा परीक्षाको पहिलो र दोस्रो दिन काठमाडौं र ललितपुरका विभिन्न केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

शाखा प्रमुख खतिवडाले अर्काको नाममा परीक्षा दिने र दिलाउने दुई वर्षसम्म भाषा परीक्षामा सहभागी हुन नपाउनुको साथै सार्वजनिक अपराधको मुद्दा चलाइने बताए। 

यसैबीच, पहिलो दिन ललितपुर, खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट परीक्षा केन्द्रमा शाखाले सम्प्रेषण गरेको सूचनामा भर पर्दा परीक्षा दिन वञ्चित भएका चार सय ३३ जनाको निर्णय कोरियन टोली स्वदेश फर्केपछि मात्र हुने भएको  छ।

खतिवडाका अनुसार परीक्षा दिन वञ्चित भएकालाई पुनः परीक्षा दिलाउनेबारे कोरियन टोली सकारात्मक रहे पनि अन्तिम निर्णय उक्त टोली कोरिया फर्केपछि मात्र हुनेछ। परीक्षा दिन वञ्चित भएकाले भने शाखाको गल्तीका कारण परीक्षा दिन नपाएको उल्लेख गर्दै पुनः परीक्षा सञ्चालन हुनुपर्ने माग गरेका छन्।

Published on: 12 June 2017 | Nagarik

Back to list

;