s

दसैंमा घर फर्कने तयारीमा थिए कृष्ण

Year of Publication: 6 September 2019 | Nagarik

Published by: CESLAM

सविता श्रेष्ठ

अफगानिस्तानको काबुलमा बम आक्रमणमा ज्यान गुमाएका कृष्ण थापाको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर, कालिका चोकस्थित घरमा सन्नाटा छाएको छ। घटनाको खबर सुनेदेखि उनकी पत्नी लक्ष्मी बेहोस छिन् भने ७८ वर्षीय बाबु गुन्जबहादुर र ७१ वर्षीया आमा चित्रकुमारी बोल्नसक्ने स्थितिमा छैनन्। कान्छो छोरा रञ्जितको पनि अवस्था उस्तै छ।

५१ वर्षीय थापा पछिल्लो १० वर्षदेखि अफगानिस्तानमा कार्यरत थिए। नेपाली सेनाको जमदार पोस्टबाट रिटायर भएपछि उनी रोजगारीको सिलसिलामा काबुल गएका थिए। प्रत्येक वर्ष घर आउजाउ गर्ने उनी पछिल्लो पटक गत असारमा घर आई जनैपूर्णिमाको भोलिपल्ट फर्किएका थिए। फर्किएको १६ दिनमै बम आक्रमणमा परी उनले ज्यान गुमाए। यसपालिको दसैं घरपरिवारका सबै सदस्यसँग मनाउने उनको योजना थियो।

रोजगारीको हिसाबकिताब लिएर ‘क्यान्सिल’मा दसैंअघि आउने भन्दै कृष्ण घरबाट केही सामान नलिई फर्किएको उनकी भाइबुहारी सुनिताले बताइन्। चार दाजुभाइ र एक बहिनीमा उनी परिवारका जेठा थिए। उनका दुई छोरा छन्। जेठो छोरा रमेश वैदेशिक रोजगारीमा दुवई गएको तीन वर्ष भयो। छोरा विदेश गएपछि उनको भेटघाट भएको थिएन। त्यसैले यस वर्ष क्यान्सिलमा आएर सपरिवार पर्व मनाउने योजनामा थिए।

दिनहुँ परिवारसँग कुराकानी गर्ने उनले गत सोमबार बेलुकी पनि पत्नी लक्ष्मीलाई फोन गरेका थिए। फोनको कुराकानी सकेर ड्युटीमा गएलगत्तै सोही रात उनी बम आक्रमणमा परेका थिए। घटनाबारे बुधबार बिहान परिवारले जानकारी पाएको सुनिता बताउँछिन्। आक्रमणबारे समाचार आउन थालेपछि आफन्तले घटनाबारे खबर गरेका थिए। कृष्णसँग एकै ठाउँमा काम गर्ने छिमेकी गाउँका मानिसलाई फोनमार्फत सम्पर्क गरेपछि घटनाबारे थप जानकारी पाएको उनले बताइन्। १८ वर्ष काम गरेर सेनाबाट सेवानिवृत्त भएपछि छोरा पढाउन र परिवारको खर्च धान्न उनी वैदेशिक रोजगारीमा गएका थिए।

परिवार नै नेपाली सेनामा

कृष्णका बुबा गन्जबहादुर पनि नेपाली सेनामा कार्यरत थिए। उनको प्रेरणाले नै चार छोरामा तीनजनाले नेपाली सेनामा काम गरे। कृष्णका साइला र कान्छा भाइ पनि सेनाबाट सेवानिवृत्त भएपछि वैदेशिक रोजगारीमा छन्। कान्छा अहिले पनि मकाउमा कार्यरत छन्। साइला घर फर्केर कुखुरापालनमा सक्रिय छन्।

‘कमाइ राम्रो हुने ठाउँ भएर जानुभएको थियो, त्यहीँको कमाइले घडेरी जोडेर घर बनाउनु भयो,’ सुनिता भन्छिन्, ‘दुवै छोरा कमाउन थाल्ने भएपछि विदेश नजाने भन्दै दसैंमा फर्कने योजनामा हुनुहुन्थ्यो।’ अफगानिस्तानको कमाइले किनेको घडेरीमा उनले चार वर्षअघि घर बनाएका थिए। घरपरिवारले विदेश नजान भन्दै आएको भए पनि घरको माथिल्लो तला थप्ने काम भइराखेकाले दसैंअघिसम्म काम गरेर फर्किन उनले चाहेका थिए।

परिवार र आफन्तले कृष्णको शव ल्याउन कागजपत्र पठाउने काम गरिसकेका छन्। ‘पोस्टमार्टम गरेर ल्याउँदा १०/१२ दिन र नगरी ल्याउँदा ५÷७ दिन लाग्ने जानकारी पाएका छौं,’ उनले भनिन्, ‘पोस्टमार्टम गरेर नै ल्याउने कुरा भएको छ।’

Published on: 6 September 2019 | Nagarik

Back to list

;