s

दलालले उडाएको सपना

Year of Publication: 7 February 2015 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

कम्तीमा महिनाको ८० हजार रुपैयाँ कमाइ हुन्छ, पोल्यान्ड पुगेको तीन महिनामा स्थायी बसोबास प्रमाणपत्र (पीआर) पाइन्छ' करिब एक वर्षअघि चितवनकी दीपा खनाल र सिर्जना चुडाललाई उनीहरूकै साथी गणेश पुरीले 'गतिलो' अफर दिए, 'भिसा नलाग्ने कुरै छैन, हाम्रो युरोपियन दूतावासमा राम्रो सम्बन्ध छ, चिन्ता लिनु पर्दैन ।'

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भेटिएकी दीपाले भनिन्, 'सुरुमा त मैले हुँदैन भनेकी थिएँ, धेरै कर गरेपछि ऋण खोजेर गएको, पोल्यान्ड पुग्न त अलग कुरो झन्डै ज्यानसमेत गयो ।' प्रतिव्यक्ति दस लाख रुपैयाँ तिरेर गएका उनीहरू ४ महिनापछि नेपाल फर्किए, टिकट काट्न लगाएका गरगहनासमेत बेचेर । न पोल्यान्ड पुगे, न पैसा नै पाए । कसो आफै बेचिएनन् ।

रुपन्देही शंकरपुर घर भएका पुरी र दीपाबीच झन्डै ९ वर्षपहिला चिनजान भएको थियो याहु म्यासेन्जरमा । अनि कपुरधारामा ब्युटिपार्लर चलाएर बसेकी दीपा र पुरीबीच भेटघाट बाक्लियो । त्यस क्रममा पुरीले आफूले विदेश पठाउने काम गर्ने गरेको बताए । दीपालाई सिंगापुर जान सल्लाह दिए । डेढ वर्षअघि पोल्यान्डको अफर ल्याए । ब्युटिपार्लरमा खासै कमाइ नभइरहेका बेला दीपा पोल्यान्ड प्रस्तावप्रति आकषिर्त भइन् ।

पुरीले पोल्यान्डमा दीपा र सिर्जनासहित आफू पनि जाने र काम र खाने बस्नेको व्यवस्था गरिदिने आश्वासन दिए । उनीहरूले पनि जाने मन बनाए । 'वर्षौंदेखि चिनेको साथीले विश्वास दिलाएपछि नमान्ने कुरो पनि भएन,' उनले भनिन्, 'विश्वासिलो साथीले हामीलाई बेचेको पो रहेछ ।' 

२०७० कात्तिक पहिलो साता उनीहरू पोल्यान्ड जाने तय भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँदा अध्यागमन र प्रहरीले रोकिदिने भन्दै उनीहरूलाई सुनौली नाका हुँदै रेलबाट दिल्ली पुर्‍याइयो । साथै जाने भनिएका पुरी गएनन् । दिल्लीमा दुई दिन बसेपछि पोल्यान्डको भिसा सजिलै लाग्ने भन्दै उज्वेकिस्तान जान भनियो । उज्वेकिस्तानमा कास्कीका भुवन अधिकारी स्थानीय एक दलाललाई लिएर उनीहरूलाई लिन विमानस्थल आए । भिसा प्रक्रियाका लागि केही दिन लाग्ने भन्दै एउटा होटलमा छाडेर गए ।

पाँच दिनपछि आउँदा भुवनको बोलीचाली रूखो भएको थियो । होटलमा पैसा महँगो भएको भन्दै एउटा कोठामा लगेर राखे । कोठामा पिउने पानीसमेत थिएन । दुई तीन दिनपछि भुवनले उनीहरूलाई फोन गरे र आफू नेपाल जान लागेको सुनाए । उनीहरूलाई आफ्नो पार्टनरले मद्दत गर्ने बताए । त्यसपछि सुरु भए दीपा र सिर्जनाका दुःखका दिन । खाने कुरा केही छैन । तातो पानीसमेत खान पाएनन् । खल्तीमा भएको केही डलरले पाउरोटी र पानी तताउने रड, प्लास्टिकको भाँडा किनेर ल्याए ।

अनि त्यसैमा पानी तताउँदै कालो चिया र पाउरोटीसँग गुजारा चलाउन थाले । उनीहरूको उज्वेकिस्तानको एकमहिने भिसा सकिनै लाग्दा त्यहाँको दलाल ताकिर कोठामा आयो । उसले त्यहाँ भिसा लगाउन गाह्रो भएको भन्दै सिमाना जोडिएको अर्को मुलुक ताजकिस्तान जानुपर्ने बतायो । 'हामीले त त्यो देशको नामसमेत सुनेका थिएनौं, सुरुमा दुई घन्टा गाडी र त्यसपछि हिउँ नै हिउँ भएको बाटो १२ घन्टा हिँडेपछि बोर्डर नाँघियो,' दीपाले सुनाइन् । ताजकिस्तान पुगेपछि दलालले उनीहरूसँग पैसा माग्न थाल्यो । सीमामा खर्च भएको भन्दै प्रतिव्यक्ति दुई हजार पाँच सय डलर माग्यो । उनीहरूले पैसा छैन भनेपछि सडकमै सुत भन्दै हिँड्यो । 'हामीहरू रुन थाल्यौं, नजानेको ठाउँमा कहाँ जाने के गर्ने केही पत्तो थिएन,' उनले सुनाइन्, 'अनि पकेट खर्चलाई राखेको ५ सय डलर दियौं ।' त्यसपछि उनीहरूलाई ताजकिस्तानको एउटा कोठामा लगेर राखियो । कोठा त पाए तर खाने कुरा केहि थिएन । नेपालबाट हिँड्दा केही प्याकेट चाउचाउ बोकेका थिए । 'फलामे रडले तातोपानी तताएर धेरै रस बनाई एउटा चाउचाउ दुई छाक गरेर खायौं,' दीपाले भनिन् 'यता नेपालमा पुरीले फोन उठाउन छाडेका थिए ।' ताजकिस्तानको भिसा पनि उनीहरूसँग एक महिनाको मात्र थियो । त्यो सकिन लागेपछि आफूलाई तारिककी आमा बताउने महिला आइन् । उनले अर्को दिन भिसा लाग्ने र त्यही दिन पोल्यान्ड उड्ने बताइन् । उनीहरू दंग परे ।

अनि नेपालमा रहेका सबै आफन्तलाई फोन गरेर अर्को दिन पोल्यान्ड उड्न लागेको बताए । ती महिलाले उनीहरूलाई १२ घन्टा गाडीमा राखेर रातभरि ताजकिस्तानको सिम्केन भन्ने ठाउँमा पुर्‍याइन् । त्यहाँ उनीहरू दस दिन बसे । भिषा लागेन । खानेकुरा पनि सकियो । दलालले नयाँ वर्ष र क्रिसमस लागेको भन्दै अहिले काम नहुने भएकाले दस दिनलाई भारत जान भने । 'दस दिनपछि सबै बिदा सकिने र भिसा पनि लाग्ने भन्दै फिर्ता पठाए,' उनले भनिन् 'खाने कुरा पनि थिएन, बस्ने ठाउँ पनि थिएन, दस दिनपछि फर्कियौं ।' उनीहरू फर्किएर दिल्लीको पहाडगन्ज भन्ने ठाउँमा बसे ।

दलालले फेरि पनि काम हुन्छ भन्दै राख्यो । उताबाट फोन आएपछि फेरि पोल्यान्ड र युरोको सपना देख्दै उडे उनीहरू । योपटक पनि पहिलाझै घटना दोहोरिए, कुनै चलचित्रको फ्याल्स ब्याकझै । खाली उनीहरूको कथाको अन्त्यचाहिँ चलचित्रको जस्तो सुखद रहेन । दलालले भिसा लगाउन भन्दै थप २ हजार ५ सय डलर माग्यो । खान त पैसा नभएका उनीहरूले दलाललाई दिने पैसा कहाँबाट जुटाउँथे ? पैसा छैन भनेपछि उनीहरूलाई दलालको छोरोलगायतका अन्यले प्रलोभनमा पार्न थाले ।

बसेको स्थानमा ताकिरका आफन्त भन्दै केटाहरू आउन थाले । जबरजस्ती गर्ने कोसिस गर्न थाले । उनीहरूले प्रतिकार गरे ।उनीहरूले खाना खान पाउन छाडे । चर्चहरूमा सित्तैमा खुवाइने खाना पाउने आसमा भौंतारिन थाले । तर त्यस्तो पनि फेला पारेनन् । अब पोल्यान्ड पुगिन्न भन्ने भएपछि दलालहरूको चङ्गुलबाट जोगिन नाटक गर्न थाले । नेपालबाट अन्य युवतीहरू पनि डाक्ने भन्दै ती केटाहरूसँग नजिक भए । अनि मौका पारेर आफूले लगाएको सुनको सिक्री, औंठी, बाला र ल्यापटप बेचेर टिकट काटी फर्किए । सोझै आएर दिल्लीमा दलाल भेटे ।

दलालले पैसा फिर्ता गर्ने आश्वासन दियो । त्यसैको चक्करमा झन्डै ६ महिना बिताए । आफन्त र घर परिवारलाई केही भन्न सकेनन् । थाहै नदिई बसे । केही पार नलागेपछि उनीहरू नेपाल आए । अनि प्रहरीमा आफू ठगिएकोबारे उजुरी गरे ।

प्रहरीले पुरी र अधिकारीलाई पक्रियो, उनीहरू अहिले पुर्पक्षका लागि थुनामा छन् । अधिकारी र पुरी थुनिएपछि उनीहरूका आफन्तले अहिले ३/३ लाख रुपैयाँ दिने र प्रहरीबाट छुटेपछि बाँकी ७/७ लाख रुपैयाँ दिने भन्दै अदालतमा पैसा पाइसकेको कागज गरिदिन दबाब दिए । 'त्यत्रो विश्वास गरेको मान्छेले धोका दिएपछि कसरी अर्कोपटक पनि विश्वास गर्नु ?' दीपाले भनिन् 'उनीहरूको कुरा हामीले सुनेनौं ।' चर्को ब्याजमा ऋण काढेर गएका उनीहरूको थाप्लोमा दस लाख रुपैयाँ ऋण छ । 'रातभरि निद्रा लाग्दैन,' गहभरि आँसु बनाउँदै दीपाले भनिन्, 'ऋण लिएका व्यक्तिको अघि जान पनि सकेकी छैन ।' 

 Published on: 7 February 2015 | Kantipur

Back to list

;