s

क्रोएसिया पठाइदिने भन्दै युद्धग्रस्त युक्रेन पुर्‍याइए तीन नेपाली

Year of Publication: 7 March 2023 | Naya Patrika

Published by: CESLAM

मुना कुँवर

क्रोएसिया पठाइदिने भन्दै तीन नेपाली युवालाई मानव तस्करले युद्धग्रस्त युक्रेन पुर्‍याएका छन् । म्याग्दीका दुई र बाग्लुङका एक युवालाई गत डिसेम्बरमा विद्यार्थी भिसामा युक्रेन पुर्‍याइएको हो । अवैध प्रवेशका कारण उनीहरू जेल पर्न सक्ने जोखिममा परेका छन् ।

काठमाडौं मनमैजुका अम्बरबहादुर विकले आफूहरूलाई क्रोएसिया पठाइदिने भन्दै विद्यार्थी भिसामा युक्रेन पुर्‍याएको पीडित युवाहरूले अनलाइनमार्फत नयाँ पत्रिकालाई बताए । विक मनमैजु थ्री स्टार होटेलका सञ्चालक हुन् । विकलाई १० लाख र करिब पाँच लाख भारतीय तथा स्थानीय एजेन्टलाई भुक्तानी गरेको पीडितहरूको भनाइ छ ।

क्रोएसिया लैजाने भन्दै उनीहरूलाई प्रतिनिधिसभा निर्वाचनको भोलिपल्ट काठमाडौंबाट हिँडाइएको थियो । काठमाडौंबाट सडकमार्ग हुँदै मुम्बई पुर्‍याइएका उनीहरूलाई १० दिन त्यहाँ राखेर १६ डिसेम्बरमा माल्दोभा (युक्रेनको छिमेकी मुलुक) उडाइयो । माल्दोभाको ट्रान्जिट भिसा पाएको र त्यहाँ झरेपछि ट्याक्सी चढेर दुई घन्टामा युक्रेन पुगेको पीडितहरूले बताए । उनीहरूका अनुसार विकले युद्धको समस्या देखाएर युक्रेनबाट कोएसिया प्रवेश गराउने आश्वासन दिएर पठाएका थिए ।

अवैध प्रवेश भन्दै २३ जनवरीमा स्थानीय आर्मीले उनीहरूलाई पक्राउ गर्‍यो । विद्यार्थी भिसाको सबै कागजपत्र हुँदाहुँदै पनि आर्मीले पक्राउ गरेर ‘युरोप फरार भएको’ केसमा कारबाही गरेको उनीहरूले बताए । आर्मीले उनीहरूको रेसिडेन्ट पर्मिटसमेत खारेज गरिदिएको छ । त्यति मात्र होइन युक्रेनको अदालतले ३० दिनभित्र मुलुक छाड्न आदेश दिएकोमा अल्टिमेटमको समय सकिइसकेको छ । अब प्रहरीले पक्राउ गरे जेल जानुपर्ने त्रास रहेको युवाहरूले बताए ।

‘अदालतले युक्रेन छाड्न दिएको ३० दिनको समय पनि घर्किसक्यो । नछाडे जेल हाल्ने चेतावनी पनि दिएको थियो । तर, यो देश छाड्न अन्तर्राष्ट्रिय उडान पनि रद्द छ, सीमा जोडिएका अन्य मुलुकले प्रवेशाज्ञा पनि दिँदैनन्,’ अलपत्र एक युवाले भने, ‘कुनै पनि दिन प्रहरीले समात्ने र जेल हाल्ने जोखिम उच्च छ । हाम्रो उद्धार गरियोस् ।’ माल्दोभाले १९ जनवरीदेखि युक्रेनमा रहेका कुनै पनि साउथ एसियन मुलुकका नागरिकलाई प्रवेशाज्ञा दिएको छैन । हाल उनीहरू युक्रेनको पनि जोखिमपूर्ण सहर किभमा छन् । त्यहाँ कुनै पनि समयमा रुसले आक्रमण गर्ने त्रास छ ।

फसेका युवाको दूतावासमा गुहार- छिटो उद्धार गरियोस्
बर्लिन दूतावास भन्छ- माल्दोभाको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको छ

उद्धारका लागि उनीहरूले मस्को र बर्लिनस्थित नेपाली दूतावासलाई खबर गरेका छन् । तर, दुवै दूतावास पन्छिन खोजेको पीडितहरूको आरोप छ । ‘युक्रेन जर्मनीको बर्लिनस्थित दूतावासले हेर्ने भन्दै रुसको मस्को दूतावास पन्छिन्छ भने बर्लिन दूतावासले पनि उनीहरू माल्दोभाबाट आएकाले मस्को दूतावासअन्तर्गत पर्ने भन्दै उम्किन खोज्छ,’ एक पीडितले भने, ‘साथमा पैसा पनि छैन, एउटा कोठामा तीनजना बसेका छौँ । हामीलाई जतिसक्दो छिटो उद्धार गरियोस् । हाम्रा लागि दूतावास नै देश हो । समस्या पर्दा दूतावासले नै सहयोग नगरे कसले गर्छ ?’

बर्लिनस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सागरप्रसाद फुँयालले माल्दोभाको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताए । उनीहरू दश दिनअघि मात्रै दूतावासको सम्पर्कमा आएको उनले बताए । युक्रेनस्थित माल्दोभाको दूतावास, जर्मनीस्थित माल्दोभाको दूतावास र मस्कोस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको पनि उनको भनाइ छ । ‘एक वर्षदेखि रुस र युक्रेन युद्ध चलिरहेको छ । जनवरीदेखि युक्रेनबाट दक्षिण एसियाली मुलुकका नागरिकलाई सीमा जोडिएका कुनै पनि मुलुकले प्रवेशाज्ञा दिएका छैनन् । युक्रेनका सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द छन् । त्यसैले तस्करको चंगुलमा परेर युक्रेन पुर्‍याइएका युवा अलपत्र परेका छन्,’ उनले भने ।

जर्मनीस्थित दूतावासले माल्दोभाको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी आफूहरूलाई प्रवेशाज्ञा दिन अनुरोध गरे पनि लिखित कागज नभएकाले जान नसकेको एक पीडितले बताए । ‘हामीले यसअघि पनि माल्दोभाकोे इमिग्रेसनमा समस्या राखिसकेका छौँ । तर, उनीहरूले हुँदैन भनेर फर्काइदिए । अब फेरि जाँदा झन् जोखिममा पर्न सक्छौँ । त्यसैले जर्मन दूतावासलाई पत्र नै बनाइदिन आग्रह गरेका छौँ,’ उनले भने । माल्दोभाबाहेक पोल्यान्ड र हंगेरीले प्रवेशाज्ञा दिए पनि दूतावासले गम्भीर पहल नगरिदिँदा अलपत्र परेको पनि उनले बताए ।

Published on: 7 March 2023 | Naya Patrika

Link

Back to list

;