s

कन्सल्टेन्सी बने म्यानपावर, झनै बढ्यो ठगी

Year of Publication: 12 June 2023 | Onlinekhabar

Published by: CESLAM

२६ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले बिहीबार कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सीमा छापा मार्‍यो । सामाजिक सञ्जालमार्फत माल्टा, क्रोयसिया र रोमानिया रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेपछि कन्सल्टेन्सीमा छापा मार्दा विभागले विभिन्न प्रमाणहरु नै संकलन गरेको छ । यस्तो विज्ञापन गरेर कम्पनीले ५० हजारदेखि एक लाखसम्म अग्रिम रकम असुल गरिसकेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कन्सल्टेन्सीका रुपमा दर्ता भएर म्यानपावरका रुपमा काम गर्ने र ठगी गर्ने शैली पछिल्लो समयमा मौलाएको छ । युरोप, अमेरिकाका विभिन्न देशमा रोजगारीका लागि पठाउन अहिले कन्सल्टेन्सीहरुमार्फत नै धन्दा चलाउन थालिएको छ । यस्तो धन्दा गर्ने धेरै कन्सल्टेन्सी र त्यसका सञ्चालकले श्रमिकहरुसँग अग्रिम रुपमा रकम असुलेर वर्षौं झुलाउने, ठग्ने, फरार हुने गरिरहेका छन् ।

कनेक्टिएयर वर्ल्ड कन्सल्टेन्सी पनि मानव तस्करीमा मुछिएको अर्को शैक्षिक परामर्शदाता हो । गत वैशाखमा करिब ९० जनाबाट साढे २ करोड ठगी भएको उजुरी परेपछि यसका कर्मचारी पक्राउ परिसकेका छन् । फरार रहेका सञ्चालकद्वय अजित तामाङ र सागर तामाङ प्रहरीको खोजी सूचीमा छन् । पोर्चुगल, माल्टा, रोमानिया, क्रोएसियालगायत देशमा पठाइदिन्छु भन्दै रकम उठाउने धन्दा चलाएको यो कन्सल्टेन्सीले एकै व्यत्तिबाट १२ लाखसम्म उठाएको छ ।

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सी भएर पनि म्यानपावरको शैलीमा चलिरहेको जेनियस एजुकेसन एन्ड कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराईविरुद्ध वैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा नै दाय गररिसकेको छ । इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीविरुद्ध पनि न्याधिकरणमा मुद्दा चलेको छ । पोर्चुगल, स्पेन, फ्रान्स, माल्टामा आकर्षक तल सुविधा दिने गरी रोजगारी दिने भन्दै ठगी गर्न उनीहरु संलग्न थिए ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक मदन दहालका अनुसार पछिल्ला दिनमा विदेशमा विद्यार्थी पठाउन खुलेका विभिन्न शैक्षिक परामर्शदाता कम्पनीहरुले म्यानपावरको समानान्तर गतिविधि गरिरहेका छन् । अझ उनीहरुले नियमनको दायरामा नरहेकाले धेरै जान ठगिने घटना बढ्न थालेका छन् ।

विभागमा यस्ता कन्सल्टेन्सीहरु ठगी गरेको उजुरी बढ्न थालेका छन् । ‘फेसबुकको फिड स्क्रोल गर्दा प्रत्येक २–४ वटा पोस्टपछि विदेशमा रोजगारी भन्दै कन्सल्टेन्सीहरुले गरेको विज्ञापन भेटिन थालेको छ,’ उनी भन्छन् ।

मौलायो ठगी

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय असम्बन्धित संस्थाहरु बढी सक्रिय हुन थालेका छन् । नक्कली म्यानपावर कम्पनी खडा गर्नेहरुदेखि कन्सल्टेन्सी र ट्राभल एजेन्सी चलाउनेहरुले युवालाई प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको वैदेशिक रोजगार विभाग बताउँछ ।

रोजगारविहीन भएका धेरै युवाहरु राम्रो आय हुने देशमा जान चाहेपनि पर्याप्त माग नआएकाले अवसरको खोजीमा म्यानपावर कम्पनीमा भौतारिरहेको अवस्था छ । बेरोजगार युवाको यो बाध्यताको गलत फाइदा उठाउन कन्सल्टेन्सी खडा गर्दै ठग्ने गिरोहहरू बढेको विभागको अनुगमनहरुबाट खुलेको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदी अनुगमनका क्रममा कन्सल्टेन्सीहरु पनि म्यानपावर कम्पनीजस्तै गरी काम गरिरहेको भेटिन थालेको बताउँछन् । रिक्रुटमेन्ट एजेन्सीकै शैलीमा कार्यालय खडा गरेर बस्नेहरू थुप्रै भेटिन थालेकाले युवा सचेत हुनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार ऐनले इजाजतपत्रबिना कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । यस्तो गतिविधि गरेमा तीन वर्षदेखि सात वर्षसम्म कैद हुने व्यवस्था छ ।

कसैले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वा प्रलोभन देखाइ वैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसलाई ऐनविपरीतको कसुर मानिन्छ ।

इजाजत नभएका जोकसैले यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जानाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराएर निजलाई तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुने व्यवस्था ऐनले गरेको छ । विदेश नपठाई सकेको भए सो सजायको आधा सजाय हुने व्यवस्था छ ।

‘कानुन मिचेर समाजिक सञ्जालमा म्यानपावर एजेन्सीकै शैलीमा विज्ञापन गरेर वैदेशिक रोजगारीमा पठाउने धन्दामा कन्सल्टेन्सीहरु लाग्ने क्रम बढेको पाइएको छ,’ प्रवक्ता सुवेदीले भने,‘कानुनतः यो अवैध काम निरुत्साहित गर्नैपर्ने देखिएको छ ।’ क्षेत्राधिकार नाघेर काम गर्ने कन्सल्टेन्सीविरुद्ध कारवाहीका लागि अनुगमनलाई तीव्रता दिइएको उनले बताए ।

टिकटक, फेसबुक, ह्वाट्सएप, भाइबरमार्फत प्रलोभनमा पार्दै विदेशबाट समेत कन्सल्टेन्सीका प्रतिनिधि ल्याएर ठग्न थालिएको विभागको भनाइ छ । गत ६ जेठमा होटल मेरियटमा सरकारसँग कुनै पूर्वस्वीकृति नलिई टिकटकमार्फत विज्ञापन गरेर वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता लिन लागिएको अवस्थामा दुई विदेशी नागरिक पक्राउ परेका थिए । ‘विभिन्न मुलुकमा आकर्षक तलब सुविधा भन्दै प्रलोभनमा पार्ने र पैसा उठाएर अलपत्र पार्ने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘युवा सचेत हुनुपर्छ ।’

किन बढ्यो ?

व्यक्तिगत रुपमा एजेन्ट भएर काम गर्दा श्रमिकलाई विश्वासमा लिन गाह्रो हुने भएपछि यस्तो तरिका अपनाएको हुनसक्ने विभागको अनुमान छ । धेरै कन्सल्टेन्सीहरुले म्यानपावर कम्पनीसँग मिल्दोजुल्दो नाम राखेर ठगीधन्दा चलाउन गरेका छन् ।

यस्ता कन्सल्टेन्सीहरूले एक–दुई जनालाई व्यक्तिगत तवरबाट भिसा दिलाएर विदेश पठाउने र तिनीहरूलाई देखाएर धेरै युवालाई प्रलोभनमा फसाउने गरेका छन् । विभिन्न प्रलोभन देखाएर युवालाई विभिन्न भिसामा पठाउने र त्यहाँ पुगेपछि भनेजस्तो काम, तलब र सुविधा नदिने गरेको पाइएको छ ।

त्यसबाहेक पैसा उठाएर भाग्ने प्रयोजनका लागि समेत कार्यालय खडा गर्नेहरू पनि भेटिन थालेका छन् । ‘काठमाडौंसहित जिल्ला–जिल्ला तहसम्म यस्तो विकृति देखिएको छ,’ विभागका एक अधिकारी भन्छन् ।

सरकारले म्यानपावर दर्ता गर्न न्यूनतम् ५० लाख धरौटी राख्नुपर्ने व्यवस्था गरेपछि कन्सल्टेन्सीका रुपमा दर्ता भएर वैदेशिक रोजगारको ठगी धन्दा चलाउने क्रम मौलाएको ती अधिकारीको दाबी छ ।

वैदेशिक रोजगार ऐनअनुसार वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने गरी कम्पनीले ५० लाख रुपैयाँ धरौटी र एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ । तीन हजारभन्दा बढी र पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीले एक करोड धरौटी र दुई करोड बैंक ग्यारेन्टी राख्नु पर्छ । वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड रुपैयाँ धरौटी चार करोड बैंक ग्यारेन्टी तोकिएको छ । यस्तो ग्यारेन्टी श्रमिकहरु ठगीमा पर्दा कम्पनीले तिर्न नचाहेमा सरकारले भराइदिनसक्ने गरी राख्न लगाइएको हो ।

तर, ठग्ने नियत राखेर काम गर्ने म्यानपावर सञ्चालकहरुदेखि एजेन्टहरुले धरौटी जफत हुने जोखिम देखेर कन्सल्टेन्सीलाई माध्यम बनाएका छन् । यसले गर्दा ठगी गरेपनि सरकारले श्रमिकलाई धरौटीबाट क्षतिपूर्ति दिलाउन नसक्ने अवस्था बनेको उनको भनाइ छ ।

‘प्रक्रियाभित्र गएर विदेशबाट आएको मागपत्र प्रमाणीकरण गराइरहन पनि नपर्ने र श्रमिकलाई जति ठगे पनि उन्मुक्ति पाइने र भविष्यमा श्रमिकलाई समस्या परे जिम्मेवारी बोक्नु पनि नपर्ने भएपछि म्यानपावरको नामबाट ठग्नुभन्दा कन्सल्टन्सीबाट ठग्नु सहज भइदियो,’ उनी भन्छन्,‘कन्सल्टेन्सीमा शिक्षा मन्त्रालयले अनुगमन भन्ने हुँदै नहुने भएकाले मानव तस्करहरुका लागि यो सुरक्षित पनि भयो ।’

यस्ता कन्सल्टेन्सीहरुको नियमन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्दै आएको छ । तर, विदेश पठाउने नाममा कन्सल्टेन्सीबाट हुने ठगी रोक्न मन्त्रालय उदासीन छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीले वैदेशिक रोजगारीको काम गर्ने गरेको गुनासो बढेको बताउँछन् । यस्तो संलग्नता पुष्टि भएका वैदेशिक रोजगार विभागले नै कारवाही गर्न सक्ने उनी बताउँछन् ।

‘संघीयता कार्यान्वयनमा आएपछि कन्सल्टेन्सीहरुको दर्ता र नियमनमा अन्योल छ,’ उनले भने,‘शैक्षिक परामर्श सेवालाई व्यवस्थिथि, मर्यादित र नियमित गराउने गरी निर्देशिकाका मस्यौदा बनाएका छौं, त्यो जारी गर्दा यस्तो ठगी हुने पक्षलाई पनि विचार पुर्‍याउँछौं ।’

मनत्रालयमा कन्सल्टेन्सीबारे उजुरी र गुनासा आए सुनुवाइ हुने भन्दै प्रवक्ता शर्माले ठगीमा संलग्न भएका जो कसैलाई कानुनअनुसार कारवाही गर्नुपर्ने बताए । ‘कन्सल्टेन्सीले शैक्षिक परामर्श सेवा दिने हो, संलग्न हुनै नपाइने काम हुन्छ भने त्यसमा कानुनअनुसार कारबाही गरिनुपर्छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभाग आफैंले अनुसन्धान गर्दा शिक्षा मन्त्रालयको आपत्ति हुँदैन ।’

Published on: 12 June 2023 | Onlinekhabar

Link

Back to list

;