s

चुनावले वैदेशिक रोजगारीमा जाने घटे

Year of Publication: 23 November 2017 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

उत्तम काप्री 
 
प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको छ। सामान्यतया नेपालबाट दैनिक दुई हजारदेखि २५ सय युवा श्रम स्वीकृति लिँदै विश्वका विभिन्न मुलुकमा जाने गर्छन्। तर निर्वाचन नजिकिँदै गर्दा विदेश जाने युवाको संख्यामा कमी आउँदै दैनिक १७ सयको हाराहारीका झरेको छ। विदेश जानेको संख्यामा कमी आए पनि निर्वाचनका लागि नेपाल आउने बढेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
 
२० वर्षपछि वैशाख र जेठमा भएको स्थानीय तहको निवार्चनमा जस्तो गरी रोजगारीमा जाने युवाको संख्याका कमी नआउने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको भनाइ छ। दसैंतिहार तथा छठ पर्व मनाएपछि विदेश जाने युवाको संख्या बढने गरेको उनको भनाइ छ। तर सामान्य अवस्थाभन्दा केही कमी भने हुने गुरुङले बताए।
 
‘स्थानीय तहको निर्वाचनमा टोलकै चिनेजानेका उम्मेदवार हुने हुँदा पनि युवा विदेश जान केही समय पर्खनपर्ने बाध्यता हुन्थ्यो', उनले भने, ‘संघ र प्रदेशको निर्वाचनमा कतिपय युवाले उम्मेदवारको नाम समेत थाहा नपाउने हुँदा रोजगारीमा जाने युवालाई खासै असर गर्दैन।' छठ पर्व सकिएलगत्तै कात्तिक १२ देखि २१ गतेसम्म रोजगारीका लागि जाने भन्दै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयबाट २८ हजार पाँच सय ६६ जनाले श्रमस्वीकृति लिएका थिए।
 
तर यो संख्या कात्तिक २६ देखि मंसिर ५ गतेसम्म आइपुग्दा २४ हजारको हाराहारीमा झरेको छ। सबैभन्दा बढी रोजगारीमा जाने युवाको चाप कात्तिक महिनामै हुन्छ। बिदामा आएका पनि दसैंतिहार तथा छठ मनाएर पुनः विदेश जाने समय भएको हुँदा रोजगारीका जानेको संख्या बढे गरेको वैदेशिक रोजगार विभागको भनाइ छ।
 
कात्तिक १२ देखि २१ गतेसम्मको नौ दिनकै अवधिका रोजगारीका लागि विदेश जान संस्थागततर्फ (म्यानपावर)ले १३ हजार नौ सय ५० जनाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या पनि १३ हजार दुई ७२ जना छ। यसैगरी व्यक्तिगत नयाँ भिसामा विदेश जानेको संख्या पनि तीन सय छ। साथै सोही अवधिमा पहिले विभिन्न माध्यममा विदेश गई अहिले पुनः नेपाल आई श्रम स्वीकृति लिँदै विदेश जानेको संख्या पनि एक हजार ४५ रहेको कार्यालय तथ्यांकले देखाउँछ। तर ३२ जिल्लामा हुने पहिलो चरणको निर्वाचनका कारण रोजगारीमा जान लिइने श्रमस्वीकृतिमा विस्तारै घटिरहेको कार्यालयको भनाइ छ।
 
पछिल्लो नौ दिन (कात्तिक २६ देखि मंसिर ५)को तुलनामा पछिल्लो नौ दिनमा रोजगारीका लागि विदेश जानभन्दैे लिइने आन्तरिक श्रम स्वीकृतिका झन्डै चार हजारले कमी आएको छ। काठमाडौं कार्यालयका अनुसार कात्तिक २६ देखि मंसिर ५ गतेसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार सात सय ११ छ। यो संख्या सामान्य अवस्थाभन्दा तीन हजार आठ सय ५५ ले कमी हो।
 
कार्यालयका अनुसार स्थानीय निकायको निर्वाचनको बेलामा जस्तो असर देखापरेको छैन। सबैभन्दा बढी युवा प्रदेश नम्बर दुईको धनुषा, महोत्तरी, सर्लाही, सिरहाबाट जाने गरेको छन्। यो क्षेत्रमा निर्वाचन दोस्रो चरण हुँदै छ, जसका कारण पनि त्यति ठूलो असर देखिइसकेको छैन।
 
कार्यालयका अनुसार कात्तिक २६ देखि मंसिर ५ गतेसम्म संस्थागततर्फ (म्यानपावर)ले ११ हजार आठ सय ४३ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन्। यसैगरी बिदामा आई पुनः विदेश जानको संख्या ११ हजार आठ सय १९, नयाँ व्यक्तिगत श्रम स्वीकृति लिने एक सय ८९ र एकल वैधानीकरण गरी रोजगारीका जानेको संख्या आठ सय ६० मात्रै छ। यो संख्या बुधबार-बिहीबारबाट क्रमशः घट्दै जाने कार्यालयको भनाइ छ। युवाको मताधिरका रक्षाका लागि म्यानपावर व्यवसायीले पनि सहयोग गर्ने भएका छन्।
 
वैदेशिक रोजगार व्यवसायी संघले युवाको भोट हाल्न पाउने अधिकार वञ्चित नगर्ने गरी मतदान अवधिसम्म युवा विदेश जान नचाहेको अवस्थामा करकाप नगर्न व्यवसायीलाई आग्रह गरिसकेको छ।
 
भिसाको म्याद सकिने अवस्थामा मात्रै उडान गर्ने र अन्यका लागि उडान तालिका मिलाउने काम पनि सकिने हुँदा कुनै असर नगर्ने उनको भनाइ छ। ‘विदेश जानका लागि सबै प्रत्रिया पूरा गरेका कतिपय युवा पनि जाने तयारी अवस्थामा छैनन्', गुरुङले भने, ‘व्यवसायीले पनि उनीलाई कर गर्ने अवस्था रहन।'
 
कात्तिकमा ६० हजार बिदेसिए
 
वैदेशिक रोजगारीकै लागि श्रम स्वीकृति लिँदै कात्तिक महिनामा ६० हजार पाँच सय ७३ युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन्। योसँगै चालू आवको चार महिनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या दुई लाख पाँच हजार पाँच सय ६१ पुगेको छ।
 
सरकारले वैधानिक रूपमा एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ। चालू आवको चार महिनामा मात्रै म्यानपावरमार्फत नयाँ कामका लागि एक लाख १२ हजार दुई सय ९८ युवा बिदेसिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। सोही अवधिमा बिदामा आई पुनः विदेश जानेको संख्या भने ९२ हजार आठ सय ४२ छ। कात्तिकमा मात्रै नयाँ कामका लागि म्यानपावरमार्फत विदेश जानेको संख्या २८ हजार बढी छ भने बिदामा आई पुनः विदेश जानेको संख्या भने ३१ हजार सात सय छ।
 
Published on: 23 November 2017 | Annapurna Post

Back to list

;