s

छोरी–बुहारी विदेश, श्रीमान्–ज्वाइँ घरै

Year of Publication: 31 January 2019 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

विमल खतिवडा, अनिश तिवारी

जुगल गाउँपालिका ३, तेम्बाथानकी २८ वर्षीया खामील्हामु शेर्पा साइप्रसबाट फर्किएको महिना दिन भयो । ४ वर्ष २ महिना त्यहाँ बसिन् । त्यसअघि इराक र कतार गएकी थिइन् । अब तत्काल विदेश जाने सोचमा छैनन् ।

गाउँ पुग्न सदरमुकाम चौताराबाट २ दिन लाग्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले बाध्य भएर बिदेसिनुपरेको उनले गुनासो गरिन् । घरबाट विदेश जाने उनी एक्ली होइनन् । परिवारका अधिकांश सदस्य इराक, दुबई र कुवेतमा छन् ।

‘नयाँदिल्ली हुँदै इराक पुगेकी थिएँ,’ उनले भनिन्, ‘हाउसकिपिङमा काम गरें, कुनै समस्या भएन ।’ उनलेआफ्नो कमाइले बुबाआमालाई घर बनाउन सहयोग गरेको बताइन् । धान फल्ने खेत छैन । बारीमा मकै र कोदो मात्र उब्जिन्छ । त्यसले वर्ष दिन धान्दैन । ‘गाउँमै बसेर परिवार पाल्न गाह्रो थियो,’ उनले भनिन्, ‘बाध्यताले बिदेसिनुपर्‍यो ।’

सात दिदीबहिनीमध्ये उनी साइली हुन् । दाजु मिङ्मार जेठमा दुबईबाट फर्किए, भाइ रिन्जी एक वर्षदेखि इराकमा छन् । भाउजू ३ वर्षदेखि कुवेतमा छिन् । २ बहिनी काठमाडौं, थानकोटमा पढिरहेका छन् । जेठी दिदी साङ्बु २ वर्ष इराक बसेर फर्किइन् । ठाइँली बहिनी पल्मु श्रीमान्सँगै इराकमा छिन् । ठूली कान्छी फुर्गेल्मु २ वर्ष कुवेत बसेर फर्केकी छन् । माइली दिदी १४ वर्षमै बितिन् ।

‘कमाएको पैसा घरखर्चमै लगानी भयो,’ फुर्गेल्मुले भनिन्, ‘केही जम्मा गरेका छौं, बुबाआमाले आफ्नो खर्चले बिहे गरिदिन सक्ने अवस्था छैन, बिहेका लागि थोरबहुत जम्मा गरेका छौं ।’

बुबा उङी र आमा मिङ्मार छोराछोरीको कमाइबाट पालिएका छन् । ‘पहिला छोराछोरी धेरै जन्माएर दु:ख पाइयो भन्ने लागेको थियो,’ आमामिङ्मारले भनिन्, ‘अहिले सहारा बनेका छन्, उनीहरूकै कमाइले बाँचेका छौं ।’

घर ठड्याउनेदेखि खाद्यान्नको जोहो गर्नेसम्मको काम छोराछोरीले मिलेर गरिरहेका छन् । तेम्बाथान र गुम्बाथानका अधिकांश छोरीबुहारी विदेशमा छन् । घर हेर्ने काम छोरा–ज्वाइँले गरिरहेका छन् । विदेश गएकाले घरमा सोलार राखेका छन् । पुरानो घरलाई नयाँ बनाएका छन् । छोराछोरीलाई सहरमा राखेर पढाएका छन् । तेम्बाथानमा १ सय ६० घरधुरी छन् । वडा ३ को गुम्बाथानमा २ सय घरधुरी छन् । यो गाउँकाकरिब ५० घरका युवायुवती इराकमा रहेको स्थानीय कान्छा लामाले जानकारी दिए । ‘म पनि इराकगएको थिएँ, काम नपाएर फर्किएँ, महिलालाई जस्तो सजिलो पुरुषलाई हुँदैन रहेछ,’ उनले भने, ‘एक महिना पनि अडिन सकिनँ ।’

महिलाहरू गाउँकै एजेन्टमार्फत इराक जाने गरेका छन् । ‘सजिलो तरिकाले इराक जाने कम छन्,’ गुम्बाथानका मिङ्मार लामाले भने, ‘अधिकांश एजेन्टमार्फत जाने गरेका छन्, यसरी महिला गाउँबाट इराक जान थालेको १५ वर्षभन्दा बढी भयो ।’

घरेलु कामदारमा महिलाको माग धेरै हुन्छ । उनीहरू मासिक ३५ देखि ४० हजार रुपैयाँ कमाउँछन् । पुरुषले प्राय: गाडी चलाउने काम पाउँछन् । इराकमा समस्या भए पनि खाडी मुलुक जानेमा पुरुष बढी छन् । गुम्बाथानका नुर्पु लामाले श्रीमती साङ्गे डोल्मालाई इराक पठाएका छन् । जेठी छोरीसाङ्मो पनि उतै छिन् । घरव्यवहार नुर्पुले सम्हालेका छन् । श्रीमतीले छोराछोरी पढाउन सजिलो होस् भनेर सानो किराना पसल खोलिदिएकी छन् । ‘घरमा खाना पकाउनेदेखि छोराछोरीलाई तयार बनाएर विद्यालय पठाउनेसम्मको काम आफैं गर्दै आएको छु,’ उनले भने, ‘घरमा लाग्ने खर्च श्रीमतीले पठाइदिन्छिन् ।’

उनले पनि नयाँ घर ठड्याएका छन् । श्रीमती गएको ५ वर्ष र छोरी गएको २ वर्ष भयो । श्रीमतीले पठाएको पैसा लिन उनी ३/३ महिनामा जलवीरे, बाह्रबिसे पुग्छन् । पसलको सामान लिन बनेपा जान्छन् । ‘पूरै गृहिणी भएको छु,’ उनले भने, ‘कामबाट सन्तुष्ट छु, श्रीमती विदेश नगएको भए म जानुपथ्र्यो ।’ उनले इराकमा पुरुषलाई काम पाउन समस्या भएकाले नगएको गुनासो गरे । छोरा कुशल कक्षा ८ मा, छोरीहरू पासाङ डोल्मा कक्षा ६ र महागाली कक्षा ३ मा पढ्छन् ।

छाल्देन लामाले पनि काइली छोरी सुक डोल्मालाई ९० हजार ऋण गरेर इराक पठाएका छन् । २ वर्षको अवधिमा छोरीले डेढ लाख पठाएको उनले बताए । ‘छोरीलाई काम कस्तो छ भनेर सोध्दा राम्रो छ, कुनै समस्या छैन भनेकी छ,’ उनले भने, ‘गाउँका थुप्रै युवती इराक गएकाले छोरीलाई पठाएँ ।’ घरको आर्थिक अवस्थाले गर्दा छोरीलाई पढाउन नसकेको उनको गुनासो छ । ‘छोरा कमाउन सक्ने भएका छैनन्,’ उनले भने, ‘छोरी ठूला छन्, घरको आर्थिक अवस्थाले कमाउन विदेश जाने हिम्मत छोरीले नै गरिन् ।’

Published On: 31 January 2019 | Kantipur

Back to list

;