s

छ सय बढी युवालाई ठगेको आरोपमा वाइबा पक्राउ

Year of Publication: 2 February 2024 | Nagarik

Published by: CESLAM

वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ठगी गरेको आरोपमा विकास वाइबा भनिने सुजन तामाङलाई नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।

वाइबा वैदेशिक रोजगार कसुरको प्रक्रियाअनुसार पक्राउ परी अहिले थुनामा रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए। वाइबाविरुद्ध विभागमा पीडितहरूका धेरै उजुरी परेको उनले बताए।

‘पीडितलाई हामी न्याय दिलाउँछौं। केही पीडितले प्रहरीमा उजुरी दिएका छन् भने धेरैजसोले विभागमै उजुरी दिएका छन्।
विदेश पठाउने भन्दै ठगी गरेको आरोप लगाएर वाइबाविरुद्ध उजुरी दिनेको क्रम अझै रोकिएको छैन,’ अधिकारी उप्रेतीले भने, ‘आज वाइबालाई पक्राउ गरेर थुनामा राखेका छौं। अब पीडितको जाहेरीअनुसार वाइबाको अनुसन्धान अघि बढ्छ।’

वाइबाले क्रोसिया, क्यानडा, पोल्यान्ड, पोर्चुगललगायत थुप्रै मुलुकमा पठाइदिने भन्दै प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रूपैयाँसम्म असुलेको पीडितले बताएका छन्। विभाका सूचना अधिकारी उप्रेतीका अनुसार पीडितहरूबाट चार करोडभन्दा बढी रूपैयाँ वाइबाले उठाएका छन्।

वाइबा काठमाडौंको बालाजु चोकस्थित युरोन्स कन्सल्टेन्सीका सञ्चालक हुन्। नक्कली भिसा देखाएर ठगी गरेको उनीविरुद्ध उजुरी छ। वाइबाबाट पीडित बनेकाहरू बिहीबार वैदेशिक रोजगार विभाग पुगेका थिए। साथै सयौंको संख्यामा पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयअगाडि भेलासमेत भएका थिए।

‘विभिन्न देशको प्रलोभन देखाएर टन्नै पेसा उठाएको छ। पीडितले दिएको उजुरीअनुसार चार करोड रूपैयाँभन्दा बढी नै पैसा उठाएको हुनसक्ने आकलन छ। पीडितको हितलाई ध्यानमा राखी उनीहरूलाई मर्कामा नपारी गहिरो अनुसन्धानमा लाग्नेछौं,’ उप्रेतीले भने।

Published on: 2 February 2024 | Nagarik

Link

Back to list

;