s

चारवटा कम्पनीले पाए वैदेशिक रोजगार बिमा पुलको जिम्मेवारी

Year of Publication: 5 February 2019 । Nayapatrika

Publication Type: NEWS

Published by: CESLAM

मुना कुँवर

बिमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा पुल सञ्चालनको जिम्मा चारवटा जीवन बिमा कम्पनीलाई दिएको छ । समितिले नेसनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल इन्स्योरेन्स कम्पनीलाई पुल सञ्चालनको जिम्मेवारी दिएको हो । जिम्मेवारी पाएका चार कम्पनीमध्ये एउटा बिमकको प्रतिनिधिलाई फोकल व्यक्तिको रूपमा छनोट गरिने बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बिमकहरूबाट छनोट गरिने फोकल व्यक्तिले नै पुलको व्यवस्थापन गर्नेछ । पुलको सञ्चालन गर्न एक वर्षपछि अन्य बिमकको छनोट गरिनेछ ।

 बिमाशुल्क साप्ताहिक रूपमा बाँडफाँड गरिने

पुलमार्फत जीवन आम्दानी भएको बिमाशुल्क दैनिक रूपमा बिमा समितिले निर्धारण गरिदिएको अनुपातमा कम्पनीहरूबीच बाँडफाँड गरिनेछ । साथै सम्बन्धित कम्पनीले उपलब्ध गराएको बैंक खातामा साप्ताहिक रूपमा प्रत्येक शुक्रबार जम्मा गरिनेछ । जीवन बिमा कम्पनीहरूले बिमा समितिमा बुझाएको वैदेशिक रोजगार जीवन बिमालेख पुल सिस्टमबाट जारी गर्ने सम्बन्धित कार्यविधिअनुसार बिमालेख जारी गर्दा बिमा समितिले उल्लेखित बिमालेख सम्बन्धमा दिइएका निर्देशन/परिपत्रबमोजिम निर्धारित सम्पूर्ण कागजात अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ । सुरुका चरणमा बिमालेख जारी गर्दा पुलमा संलग्न सबै जीवन बिमा कम्पनीको संलग्नता रहेको स्पष्ट देखिने विवरण/छाप प्रयोग गर्नुपर्नेछ ।जारी गरिने बिमालेख, प्रस्ताव फाराम, प्रयोग गरिने छापको एकरूपताका लागि आवश्यक कार्य गरी यथाशक्य छिटो उपयुक्त व्यवस्था गरिनेछ । सहभागी कम्पनीले एउटा छुट्टै बैंक खाता यससम्बन्धी कारोबारका लागि सञ्चालन गर्नुपर्नेछ ।

विभाग र पुलबीच सहकार्य

पुलमार्फत प्राप्त हुने दैनिक जारी गरिएको वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख विवरण पुलमा सहभागी बिमा कम्पनीहरू, वैदेशिक रोजगार विभाग र बिमा समितिलाई इमेलमार्फत जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । नगद वा रकम बैंकमा जम्मा नभएसम्म वैदेशिक रोजगार जीवन बिमालेख जारी गर्न पाइँदैन । त्यस्तै एकपटक जारी गरिएको वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख रद्द गरिनेछैन । बिमालेख रद्द गर्नुपरेमा वैदेशिक रोजगार विभाग वा बिमा समितिबाट लिखित निर्देशन आवश्यक पर्नेछ ।

सबै प्रदेशमा कार्यालय

पुलअन्तर्गत काम गर्न सबै प्रदेशमा एक/एकवटा कार्यालय स्थापना गरिनेछ । पुलअन्तर्गत आवश्यक पर्ने कर्मचारीहरू सम्भव भएसम्म हाल विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरूबाट नै पूर्ति गरिने कार्यविधिमा व्यवस्था छ । पुलअन्तर्गत काम गर्ने कर्मचारीहरूको तलबभत्ता सुविधा सम्बन्धित कम्पनीबाट भुक्तानी गरिनेछ र सोको शोधभर्ना पुलअन्तर्गत तोकिएको प्रतिशतको आधारमा गरिनेछ ।

बिमाशुल्कका आधारमा खर्चको बाँडफाँड

पुलअन्तर्गत हुने सम्पूर्ण कार्यालय सञ्चालन खर्चलाई सहभागी कम्पनीहरूको बिमाशुल्क प्राप्तिको अनुपातमा बाँडफाँड गरिनेछ । सञ्चालन खर्च पुल सञ्चालनमा सहभागी हुने कम्पनीहरूको दुई महिनाको वास्तविक खर्चको आधारमा तय गरिनेछ । सहभागी कम्पनीहरूको सहमतिमा हाल वैदेशिक रोजगार जीवन बिमालेख जारी गरिरहेका कम्पनीहरूमध्येको उपयुक्त स्थानमा रहेको कार्यालयलाई उपयोग गर्न सकिनेछ साथै कर्मचारी तथा अन्य आवश्यक कार्यालय सामग्रीहरूसमेत उचित मूल्यांकन गरी प्रयोगमा ल्याउन सकिने कार्यविधिमा व्यवस्था गरिएको छ । उल्लेखित व्यवस्था प्रत्येक प्रदेशमा लागू गर्न सकिनेछ ।

तोकिएका कम्पनीलाई मात्रै युजर आइडी

पुलमा सहभागी जीवन बिमा कम्पनीहरूले वैदेशिक रोजगार जीवन बिमाका लागि प्रयोग गर्दै आएको सफ्टवेयर युजरमैत्री, सुरक्षित र विश्वसनीय बनाइने कम्पनीहरूले कार्यविधिमा उल्लेख छ । तोकिएको जीवन बिमा कम्पनीबाहेकका अन्य कम्पनीको युजर आइडी बन्द गरिने बिमा समितिले बताएको छ ।

Published on: 5 February 2019 । Nayapatrika

Back to list

;