s

बायोमेडिकलका लागि मलेसियाले माग्यो आवेदन, सहमति कार्यान्वयन हुँदै

Year of Publication: 4 November 2019 | Nagarik

Published by: CESLAM

काठमाडौं– मलेसियाले नेपालबाट आफ्नो देशमा आउने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले सिफारिस गरेको १ सय २२ मध्ये इच्छुक नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन् आवश्यक निरीक्षणका लागि आवेदन माग गरेको छ। १४ वटै स्रोत मुलुकबाट मलेसिया आउने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले मलेसियाको अध्यागमन विभागसँग सम्बन्धित आफ्नो वेबसाइट www.fwcms.com.my मार्फत साेमबार सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला गरेको हाे।

मलेसियाले नेपाल सरकारबाट छनोट भएका नयाँ ८६ स्वास्थ्य संस्थामध्ये मलेसियाले तोकेको मापदण्ड पुरा गरेका संस्थालाई आवेदन दिन एक महिनाको समय दिएको छ। आवेदन दिन इच्छुक संस्थाले पुरा गर्नुपर्ने प्रक्रिया उल्लेख गर्दै उसले आगामी डिसेम्बर ४ तारिखसम्म आवेदन दिन सकिने जनाएको छ। नेपाल र मलेसियाबीच भएको सहमति अनुसार आवेदन खुला गरिएकाे हो। नेपाल सरकारले सिफारिस गरेको १ सय २२ संस्था मध्ये ३६ वटा संस्थाले २०७२ सालमै निरीक्षण पास गरि बायोमेडिकल स्वास्थ्य परीक्षण गर्दै आएकाले नयाँ ८६ संस्थाको मात्र अनुगमन गर्ने सहमति दुई देशको बैठकमा भएको थियो।

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम सम्झौता भएको थियो। श्रम सम्झौतापछि सोहि दिन दुईदेशका अधिकारी सम्मिलित प्राविधिक समितिको पहिलो बैठक नेपालमा बसेको थियो भने दोस्रो बैठक मलेसियामा सम्पन्न भएको थियो।गत सेप्टेम्बर १० देखि १२ गते सम्म मलेसियामा बसेको दुई देशका अधिकारी सम्मिलित दोस्रो संयुक्त बैठकले विगतमा मलेसियाको स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाबाट स्वास्थ्य गर्ने सहमति गर्दै कामदार पुनः मलेसिया जाने प्रक्रिया सुचारु गर्ने सहमति गरेको थियो। नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट हाललाई मलेसियाको स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया आगामी नोभेम्बर पहिलो साता सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया अघि बढाएको हो।

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको बिस्तृत प्रोफाइल, संस्थाका संचालकको नाम, ठेगाना, कम्पनी रजिस्टार कार्यालयबाट पाएको संस्था संचालन अनुमति प्रमाण-पत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नु पर्ने छ। त्यस्तै स्वास्थ्य संस्थाले स्वास्थ्य मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट पाएका अनुमति पत्र सहित मलेसियाले मागेको विभिन्न १० वटा आवस्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत अहमद फादिल इस्माइलले इच्छुक स्वास्थ्य संस्थाले माग गरेको खण्डमा दूतावास सिफारिस पत्र दिन तयार रहेको जानकारी दिँदै केही दिनमै दूतावासले सिफारिस दिने व्यवस्था मिलाउने बताए। बायोमेडिकल गर्दै आएका ३६ वटा संस्थाको वार्षिक अनुगमन गत जेठमा भएको बताउँदै कार्यवाहक राजदूत फादिलले बाँकी ८६ संस्थाका लागि मात्र आवेदन माग गरिएको बताए।

दुई देशबीच भएको सहमति अनुरुप स्वास्थ्य संस्था थप्न मलेसियाले गरेको आह्वानलाई श्रम मन्त्रालयका अधिकारीले पनि सकारात्मक रुपमा लिएका छन्। 'सहमति अनुरुप मलेसिया स्वास्थ्य संस्थाको अनुगमन गर्ने प्रक्रियामा अघि बढेको देखिन्छ। दुई देशबीच भएको सम्झौता कार्यान्वयनमा दुवै देश प्रतिवद्द छौं भन्ने उदाहरण मलेसियाले देखाएको छ' श्रमका एक अधिकारीले भने, 'हामीले बिधि र प्रक्रिया स्थापित गरेका छौं। कुन-कुन संस्था छनोट हुन्छन् भन्ने विषय मलेसियाको मापदण्डले तय गर्ने कुरा हो। मलेसियाले सबैलाई बाटो खुला गरिदिएको छ। सम्झौता कार्यान्वयनमा मलेसियाले देखाएको इमान्दारिताको रुपमा लिनुपर्छ।'

२०७० सालमा मलेसियाले नेपाल सरकारबाट सूचिकृत संस्था मध्ये मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक र मापदण्ड पुगेका संस्थालाई दरखास्त दिन आवेदन माग गरेको थियो। त्यति बेला १ सय ६० संस्थाले मलेसियाको स्वास्थ्य परीक्षण गर्न निवेदन दिएका थिए। निवेदन दिएका संस्थामा मलेसियन प्रतिनिधिले अनुगमन गरेर ३९ वटा संस्था छनोट गरेका थिए। तर मलेसियाको एसओपी पुरा नगरेको र गुणस्तरमा कमी देखिएकाले ३ संस्थालाई मलेसियाले सूचीबाट हटाएको थियो। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने काम हाल ३६ वटा संस्थाले गर्दै आइरहेको भए पनि अन्य देश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या अत्यन्त न्युन रहेको छ। कतार जाने कामदारको स्वास्थ्य परीक्षण एउटै संस्था(कतार भिसा सेन्टर) बाट हुँदै आइरहेको छ। त्यस्तै साउदी अरब, ओमान तथा बहराइन जाने कामदारको स्वास्थ्य परीक्षण गाम्का नेपाल अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले गर्दै आइरहेका छन्।

स्वास्थ्य परीक्षणलाई गुणस्तरीय बनाउने भन्दै मलेसियाले नेपाल लगायत भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका मुलुकबाट आउने कामदारको स्वास्थ्य परीक्षण बायोमेडिकल बिधिबाट गर्न थालेको हो। बायोमेडिकल गरेका कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट मलेसियाको अध्यागमन विभागमा पुगेपछि मात्र कामदारको कलिङ् भिसा आउने गरेको छ। विगतमा कलिङ् भिसा आउन तीन महिनासम्म लाग्ने गरेकोमा बायोमेडिकल लागु भएपछि बढीमा तीन दिनमा कामदारको कलिङ् भिसा आउन थालेको छ।मलेसिया जाने कामदार स्वयं उपस्थित भएपछि मात्र बायोमेडिकल स्वास्थ्य परीक्षण हुने भएकाले स्वास्थ्य परीक्षण गुणस्तरीय र सहि हुने स्वास्थ्य व्यवसायीले बताउँदै आएका छन्।

दुई देशबीच सम्पन्न श्रम सम्झौतामा मलेसिया जाने कामदारले गर्ने स्वास्थ्य परीक्षण, भिसा लगायतका सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने सहमति भएको थियो। सम्झौता अनुसार मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु पर्ने छैन। दुई देशबीच भएको श्रम सम्झौतालाई कार्यवाहक राजदूत फादिलले ऐतिहासिक सम्झौताको संज्ञा दिँदै सम्झौता कार्यान्वयनमा मलेसिया प्रतिवद्ध रहेको बताए।

मलेसिया कामदार पठाउने कुन देशमा कति बायोमेडिकल संस्था

थाइल्याण्ड: २ वटा
कम्बोडिया: २ वटा
भियतनाम: ३ वटा
श्रीलंका: ३ वटा
म्यान्मार: ४ वटा
चीन: ४ वटा
बंगलादेश: १७ वटा
नेपालमा ३६ हाल वटा

स्रोत: अध्यागमन विभाग मलेसिया

Published on: 4 November 2019 | Nagarik

Link

Back to list

;