s

बिनाकसुर साउदी जेलमा १८ नेपाली

Year of Publication: 13 September 2013 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

चन्द्रशेखर अधिकारी

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका १८ जना नेपाली नौ महिनादेखि बिनाकसुर जेलमा बसिरहे पनि त्यहाँस्थित नेपाली दूतावासले उद्धारका लागि पहल गरेको छैन। जेलमा परेका नेपालीले आफूहरूको जीवन कष्‍टपूर्ण रहेको तर उद्धारका लागि दूतावासले कुनै प्रयास नगरेको भन्दै दुई महिनाअघि परराष्ट्र मन्त्रालय कन्सुलर शाखामा उजुरी दिएका थिए। त्यसमा पनि अहिलेसम्म सुनुवाइ भएको छैन।

उद्धारका लागि दूतावासले पहल नगरेको भन्दै उनीहरूले दबाब दिन एक सातासम्म जेलमै भोकहडताल पनि गरेका थिए। तर जेल प्रशासनले भोकहडताल तोडायो। उनीहरूमध्ये पाँचजना बिरामी परेका छन्। यसबारे पीडितका परिवारले परराष्ट्र मन्त्रालय, कन्सुलर शाखा, श्रम विभाग र राष्ट्रपति कार्यालयमा उजुरी पनि दिएका छन्।

पटकपटक आग्रह र उजुरी गर्दा पनि सुनुवाइ नभएपछि पीडितका नेपालस्थित आफन्तले आन्दोलन गर्ने भएका छन्। पीडितका आफन्त धरानका भुवन काफ्लेले साउदी जेलमा रहेका निर्दोष नेपाली शुक्रबारसम्म मुक्त नभए आन्दोलन गर्ने चेतावनी दिए। रक्सी खाएर होहल्ला गरेको आरोपमा त्यहाँस्थित अदालतले उनीहरूलाई तीन महिना जेल सजाय तोकेको थियो। दूतावासको लापरबाहीका कारण नौ महिना बित्दा पनि उनीहरू मुक्त हुन सकेका छैनन्।

कन्सुलर शाखामा गरिएको उजुरीमा साउदीको अबुहद्रिया रोडस्थित जुवेल डु सेन्टर जेलको कोठा नं. ४ मा ३ महिने सजाय कटाएर कम्पनीले मागेको क्षतिपूर्ति बुझाइसके पनि दूतावासले पहल नगर्दा यातनापूर्ण जीवन बिताउनुपरेको उल्लेख छ। नेपाली दूतावासले कानुनी प्रक्रियामा सहयोग गरे उनीहरू तत्काल छुट्ने अवस्था छ। तर दूतावासले फाइल बुझाएर कानुनी प्रक्रियामा सहयोग नगरेका कारण उनीहरू मुक्त हुन नसकेका हुन्।

साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले फरकफरक अभियोगमा उनीहरू पक्राउ परेको जानकारी दिए। उनले टेलिफोन सम्पर्कमा अन्‍नपूर्णसँग भने, ‘सबैजना एकै खालको अभियोगमा पक्राउ परेका होइनन्। उनीहरूबारे फैसला भएको पनि त्यति धेरै समय भएको होइन। तर फाइल पुर्‍याउने प्रक्रियामा केही ढिलाइ भएको हो।’ उनले सबै ठाउँमा राजदूत स्वयं जान नभ्याउने तर्क गर्दै भने, ‘राजदूतको अन्य काम पनि हुन्छ। दूतावासका प्रतिनिधि उनीहरूको नियमित सम्पर्कमा छन्।’ उनले जेलमा रहेकामध्ये धेरै नेपालीलाई स्वदेश पठाइसकेको दाबी पनि गरे।

नौ महिनाअघि नेपाली कामदार कार्यरत एक भवनमा एक भियतनामी नागरिकले रक्सी पिएर होहल्ला गरे पनि प्रहरीले आफूहरूलाई पक्रेर जेलमा हालेको उनीहरूको उजुरीमा उल्लेख छ। भियतनामी दूतावासका कर्मचारीले भने पक्राउ परेको भोलिपल्टै स्थानीय प्रशासनसँग छलफल गरी आफ्ना नागरिकलाई छुटाएका थिए। रक्सी खाएको गलत सूचनाका आधारमा पक्राउ परेका ती नेपालीलाई प्रहरीले स्वास्थ्य परीक्षण नै नगराई अदालतमा पेस गरेको थियो। अदालतले उनीहरूलाई तीन महिना जेल सजाय हुने फैसला गरेको थियो। जेलमा आफूहरूलाई स्थानीय कैदीले अप्राकृतिक यौनशोषण गर्ने, खानामा थुकिदिने, कुट्ने, जिउ मालिस गर्न लगाउने, सुत्‍न नदिने, ट्वाइलेटमा थुन्‍नेजस्ता अमानवीय काम गर्ने गरेको उजुरीमा जनाइएको छ।

साउदीस्थित नेपाली दूतावासका उपप्रमुख हरीशचन्द्र घिमिरेले उनीहरूको उद्धारका लागि पहल भइरहेको बताए। उनले भने, ‘उनीहरूलाई छुटाउन प्रक्रिया सुरु गरिसकेका छौं। आउटपास पनि उनीहरूले पाइसकेका छन् तर अदालती र केही प्रशासनिक प्रक्रियाका कारण निस्कन ढिला भएको हो। दुईजना भने दुई दिनभित्रै छुट्दैछन्।’

जेलमा रहेका नेपाली

शरद तिम्सिना (डोलेश्वर), लिलम भुजेल, मेखबहादुर घतानी, भक्ति विश्वकर्मा, सतो मण्डल, डोमप्रसाद बानियाँ, नरबहादुर कार्की, तुलाराम चौधरी, राजीधन पुन, राजाराम गोइवार, अशोककुमार पन्थी, राजकिशोर महरा, अरुणकुमार मण्डल, प्रमोदकुमार राय, भीमसेन कुँवर, लीला बुढा, कृतम भुजेल, भगीरथ खतिवडा

मलेसियाका अवैधलाई ट्राभल डकुमेन्ट

काठमाडौं : मलेसियामा अवैध रूपमा बस्दै आएका विदेशी कामदारलाई प्रहरीले पक्राउ गर्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासलले त्यसरी बसिरहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन धमाधम अस्थायी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्न थालेको छ।

दूतावासले दैनिक तीन सयजनाभन्दा बढीलाई यात्रा अनुमतिपत्र दिने गरेको छ। दुई सातामा दुई हजारभन्दा बढी नेपालीले अनुमतिपत्र लिएका छन्। दूतावासमा अस्थायी यात्रा अनुमतिपत्र लिनेको चाप बढेको छ। अनुमतिपत्र लिएको एक महिनाभित्र स्वदेश फर्कनुपर्ने व्यवस्था छ।

अवैध रूपमा बस्दै आएका विदेशी कामदारलाई मलेसिया सरकारले दुई साताअघिदेखि धरपकड गर्न थालेको थियो। यसअन्तर्गत कति नेपाली पक्राउ परे भन्नेमा दूतावासले आधिकारिक जानकारी दिन सकेन। एक हजारभन्दा बढी नेपाली कामदार पक्राउ परेको अनुमान दूतावासको छ।

मलेसियास्थित दूतावासका अधिकारी चक्र सुवेदीले भने, ‘हामीले पहल गरिरहेका छौं। अवैध विदेशी कामदारमाथि धरपकड भइरहेको छ।’ यसरी पक्राउ परेका नेपालीले कम्तीमा पाँच सय रिंगेट (करिब १५ हजार रुपैयाँ) देखि तीन हजार एक सय रिंगेट (करिब एक लाख रुपैयाँ) सम्म जरिबाना बुझाएर आफ्नै खर्चमा स्वदेश फर्किनुपर्छ।

Published on: 13 September 2013 | Annapurna Post

Back to list

;