s

विदेशमा रहेकाबाट एक अर्ब उठाइँदै

Year of Publication: 22 December 2019 | Kantipur

Published by: CESLAM

राष्ट्र बैंकले सरकारको स्वीकृतिमा बचत संकलन सुरू गरिसकेको छ । पहिलो चरणमा २० करोड रूपैयाँ संकलन गर्दै छ । पुस १ देखि नै बचत–पत्र बिक्री खुला गरेको छ ।

सरकारले चालु आवमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत (ऋण) उठाउने भएको छ । वैदेशिक रोजगार बचत–पत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो । विदेश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले वैदेशिक रोजगार बचत–पत्र बिक्री खुला गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सरकारको स्वीकृतिमा बचत संकलन सुरु गरिसकेको छ । उसले पहिलो चरणमा २० करोड रुपैयाँ संकलन गर्दै छ । यसका लागि पुस १ देखि नै बिक्री खुला गरेको छ । योग्यता पुगेका इच्छुक नेपालीले पुस २१ सम्म आवेदन दिन सक्नेछन् । बचत–पत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् ।

यो बचत–पत्र ५ वर्ष अवधिको हो । यसमा लगानी गरेबापत वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । ब्याज ६/६ महिनामा भुक्तानी हुन्छ । लगानीकर्ताले घटीमा ५ हजार र बढीमा ५ हजारले भाग गर्दा नि:शेष हुने गरी लगानी गर्न पाउनेछन् । यही बचत–पत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन पाइन्छ ।

वैदेशिक रोजगार बचत–पत्र नयाँ अवधारणा होइन । आव ०६६/६७ देखि नै यस्तो बचत–पत्र निष्कासन सुरु गरिएको हो । आव ०७४/७५ सम्म करिब ११ अर्ब रुपैयाँ बराबर वैदेशिक रोजगार बचत–पत्र निष्कासन भइसकेको छ । त्यसमध्ये ५.२९ प्रतिशत बचत–पत्र मात्र बिक्री भएको छ । गत वर्ष सरकारले ढिलो गरी आन्तरिक ऋण उठाएकाले बचत–पत्र निष्कासन भएन । सरकारले गत वर्ष आर्थिक वर्षको अन्त्य जेठ र असारमा लक्ष्यको आधा मात्र आन्तरिक ऋण उठाएको थियो ।

विगतमा लक्ष्यअनुसार बचत–पत्र बिक्री नभएपछि राष्ट्र बैंकले यसलाई प्रभावकारी बनाउने घोषणा गरेको थियो । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वर्षभरि नै बचत–पत्र बिक्री गरिने घोषणा गरेको थियो । सोहीअनुसार बचत–पत्र बिक्रीका लागि आह्वान गरिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘यो वर्ष १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचत–पत्र निष्कासन गरिनेछ,’ उनले भने, ‘पहिलो चरणमा २० करोड रुपैयाँको निष्कासन गरिएको हो ।’ यो आर्थिक वर्षका बाँकी दुई महिनामा पनि ४०/४० करोडका दरले बचत–पत्र निष्कासनको तयारी भएको उनको भनाइ छ ।

‘पहिलो चरणमा आह्वान गरिएकोमध्ये बिक्री नभएको बचत–पत्र दोस्रो र तेस्रो चरणमा पुन: निष्कासन गरिनेछ,’ भट्टले भने, ‘हाम्रो उद्देश्य धेरैभन्दा धेरैले बचत–पत्रमा लगानी गरी राष्ट्रको बचत प्रणालीमा सहभागी होउन् भन्ने हो ।’ राष्ट्र बैंकले लगानीकर्ताले देशभित्र र बाहिर दुवै स्थानबाट बचत–पत्र खरिद गर्न सक्ने व्यवस्था गरेको छ । नेपालका लागि केही बैंक र रेमिट्यान्स कम्पनी गरी १० संस्था चुनिएको छ । मुलुकबाहिर पनि बैंक, रेमिट्यान्स कम्पनीका एजेन्ट र सम्पर्क कार्यालयलाई जिम्मा दिइएको छ ।

यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । वैदेशिक बचत–पत्रबाट १ अर्ब रुपैयाँ संकलन भए अरू उपकरणबाट ९५ अर्ब मात्र उठाइने राष्ट्र बैंकको योजना छ । विदेशमा रहेका नेपालीबाट बचत संकलन हुन सके उनीहरूको बचतले लगानी अवसर पाउनुका साथै विदेशबाट पैसा नेपाल भित्र्याउन सकिन्छ । बचत–पत्रमा लगानी गर्न लगानीकर्ताले राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचय–पत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर आवश्यक पर्छ । परिवारका सदस्यका नाममा खरिद गर्ने भए सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात चाहिने राष्ट्र बैंकले जानकारी दिएको छ । नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भए जन्मदर्ता प्रमाणपत्र चाहिने व्यवस्था छ ।

Published on: 22 December 2019 | Kantipur

Link

Back to list

;