s

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता

Year of Publication: 30 October 2019 | Onlinekhabar

Published by: CESLAM

 चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो । वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रतिमृतकका परिवारलाई सात लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । सो अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ ।

त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ । कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई १५ हजार, मध्यम अवस्थाका बिरामीलाई ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको छ ।

सो अवधिमा बोर्डले १८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ । बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ । वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्दै आएको छ ।

Published on: 30 October 2019 | Onlinekhabar

Link

Back to list

;