s

‘विदेशको लड्डु खाए पनि पछुतो, नखाए पनि पछुतो’

Year of Publication: 10 July 2024 | Ukalo

Published by: CESLAM

राजीव पौडेल हाल अमेरिकाको ओरिगन राज्यस्थित वेस्टर्न ओरिगन विश्वविद्यालयमा पढाउँछन्। उनले नर्थ टेक्सस विश्वविद्यालयबाट ‘फाइनान्स’मा पीएचडी गरेका हुन्। इटहरीमा जन्मेका उनी काठमाडौँमा हुर्किए, यतै प्लस टुसम्मको पढाइ सकेर स्नातक पढ्न भारत गएका थिए। उनको अध्ययन, अध्यापनलगायत नेपाली डायस्पोराका बारेमा उकालोका लागि किरण दहालले गरेको कुराकानीः

तपाईं अमेरिकातिर बस्नुहुन्छ। वेस्टर्न ओरिगन विश्वविद्यालयमा पढाउनुहुन्छ। अहिले नेपाल घुम्न आउनुभएको हो कि काम पनि थियो?

मेरो परिवारका सदस्यहरू काठमाडौँमा बस्नुहुन्छ। अहिले आउनुको प्रमुख कारण चाहिँ उहाँहरूसँगको भेटघाट हो। यहाँ मेरा धेरै साथीभाइ छन्। सम्बन्धलाई निरन्तरता दिन पनि भेटघाटको जरूरी हुन्छ। संसारको जुनसुकै कुनामा बसे पनि नेपालसँगको सम्बन्ध नटुटोस् जस्तो लाग्छ। त्यो चाहना अरूमा पनि हुन्छ होला, मसँग पनि छ। मेरो पुरानो घर इटहरी हो, पूर्वतिर आफन्त हुनुहुन्छ। तर यो पटक म काठमाडौँभन्दा बाहिर जान सकिनँ। काठमाडौँ आएको एक महिना कति चाँडै बितेछ, पत्तै भएन। अब अमेरिका फकिंदैछु। काठमाडौँबाट अनलाइनमा अमेरिकाका विद्यार्थीहरूको ‘क्लास’ लिनुपरेकाले बाहिरफेर पर्याप्त घुमफिर गर्न पाइनँ।

कति भयो पढाउन थाल्नुभएको? त्यहाँ कत्तिको नेपाली विद्यार्थी भेट्नुहुन्छ?

सन् २०१३ मा म पीएचडीको तेस्रो वर्षमा हुँदा पढाउन थालेँ। ‘टिचिङ असिस्टेन्ट’को रूपमा त्योभन्दा अगाडिदेखि नै पढाउन थालेको हुँ। यो बीचमा २/३ जना नेपाली विद्यार्थीलाई पढाएँ।

तुलनात्मक रूपमा नेपाली विद्यार्थी अलि बढी जेहेन्दार पाउँछु। अरू प्रोफेसरहरूले पनि नेपाली विद्यार्थीलाई प्रशंसा गर्छन्। नेपालमा हुँदा बिहानदेखि बेलुकासम्म घोटिने विद्यार्थीलाई अमेरिकामा हप्ताको केही घण्टा मात्र कक्षा लिनुपर्दा अलि सजिलो भएको हो कि! ‘प्राक्टिकल’ हुने भएकाले पनि सजिलो भएको हुनसक्छ। नेपालमा अलि बढी घोक्ने संस्कृति छ। अमेरिकामा मैले अलि फरक पाएँ, कतिपय कुरा सामान्य बुझेको छ भने पनि परीक्षामा काफी हुन्छ। शिक्षकहरूले पनि विद्यार्थीलाई नम्बर दिन कन्जुस्याइँ गर्दैनन् र गर्न पनि पाइन्न। विषयगत प्रश्नमा समेत शिक्षकले अपेक्षा गरेअनुसारको उत्तर आयो भने पूरै नम्बर दिनुपर्छ– १० पुर्णांकको प्रश्न हो भने १० नम्बर नै दिनुपर्छ। ९ नम्बर मात्र दिँदा भोलिपल्ट विद्यार्थी आएर मेरो १ नम्बर किन कम आयो भनेर सोध्छन्। त्यसको चित्तबुझ्दो जवाफ शिक्षकले दिन सक्नुपर्छ।

त्यसमाथि त्यहाँ कुन विद्यार्थीले कक्षामा टप गर्‍यो, कसको नम्बर कति आयो त्यो जानकारी सार्वजनिक गरिँदैन। सम्बन्धित विद्यार्थीबाहेक कक्षामा अरू कसैले पनि थाहा पाउँदैनन्। विद्यार्थी स्वयंले चाहेमा मात्र आफ्नो परीक्षाको नतिजाबारे अरू कसैलाई बताउन सक्छन्। नत्र अरूका लागि सधैँ गोप्य रहन्छ। यहाँको जस्तो कसले कति अंक ल्यायो, कक्षामा टपर को भयो, स्कूल/कलेजबाट कस–कसले उत्कृष्ट नतिजा ल्याए इत्यादि विवरण विज्ञापनका रूपमा फोटोसहित सार्वजनिक गर्ने अभ्यासलाई त्यहाँ कानूनले नै बन्देज लगाएको छ। यसरी भिन्न परिवेशबाट गएका नेपाली विद्यार्थीहरुले अमेरिकामा समग्रमा राम्रो गरिरहेका छन् भन्ने मलाई लाग्छ।

यहाँबाट अमेरिका पुग्न मानिस गैरकानूनी तवरबाट जोखिम मोलेर पचासौँ लाख खर्च गर्न तयार भइरहेका छन्। अमेरिका त्यसरी हरहालतमा जानैपर्ने ठाउँ हो?

नेपालबाट लुकी लुकी हिँडेर अमेरिका जाँदैगर्दा एक किसिमको उत्साह होला। तर त्यहाँ पुगिसकेपछि त्यत्रो कठिन यात्रा गरेको र ठूलो पैसा तिरेकोमा पश्चात्ताप हुन्छ होला। त्यसपछि उनीहरूले बारम्बार आफैमाथि प्रश्न गर्लान्। किनभने अमेरिकामा पनि मानिस खुशी छैनन्। म पनि जानुभन्दा पहिला अमेरिकालाई स्वर्गलोक ठान्थेँ। त्यहाँ धनाढ्य प्रोफेसरदेखि सामान्य मान्छेसँग कुरा गर्दा थाहा पाएँ– जिन्दगी त अमेरिकामा पनि गन्जागोल रहेछ।

बाहिर जानुका फाइदा पनि छन्। धेरै कुरा सिक्न पाइन्छ। मैले अमेरिका पुगेर जिन्दगीका बारेमा जे सिकेँ, त्यो अमूल्य छ। म नेपालमा मात्र हुन्थेँ भने मलाई अमेरिका जान नपाएकोमा सधैँ पश्चाताप हुन्थ्यो। म सँधैभरि सोच्ने थिएँ– अमेरिकामा हरचिज छ, अमेरिकन प्रफुल्लित छन्। तर त्यहाँ पुगेपछि थाहा भयो १८ वर्षे अमेरिकन र १८ वर्षे नेपालीबीच केही पनि फरक छैन। अथवा ३० वर्षे अमेरिकन र ३० वर्षे नेपालीमा फरक छैन। बस्, एउटा फरक छ। धेरै नेपाली ‘सर्भाइभल’का लागि मेहनत गरिरहेका छन्, धेरै अमेरिकन जिन्दगीलाई थप सजिलो बनाउन मेहनत गरिरहेका छन्। यसले अमेरिकनलाई थप तनाव दिएको छ, उनीहरूलाई डिप्रेसन, अनिन्द्रा र तनाव छ। उनीहरूको जिन्दगीमा धेरै कुरा छ, तर शान्ति छैन जसका कारण उनीहरू आफैलाई नियन्त्रण गर्न सकिरहेका छैनन्। ‘खाली दिमाग सैतानको घर’ भन्ने नेपाली उखान धेरै अमेरिकनमा लागू हुन्छ।

तपाईं इटहरीको मान्छे, प्लस टुसम्म त काठमाडौँमा पढ्नुभयो हैन?

हाम्रो परिवारको आर्थिक अवस्था अलि कमजोर थियो। त्यो अवस्थाबाट बाहिर आउन अत्यधिक पढ्नुपर्छ भन्ने लाग्यो। आफन्त र छरछिमेकीको सुझाव पनि त्यही हुन्थ्यो। म काठमाडौँको न्युरोडमा रहेको एउटा स्कुलमा पढ्थेँ। पाँच कक्षासम्म मेरो पढाइ अत्यन्त कमजोर थियो, हरेक वर्ष विषय लागेर पास हुन्थेँ। पाँच कक्षाको जाँचमा म दोस्रो भएँ। त्यसको कारण छ। दाइले पाठ्यपुस्तक पढेको देखेर मैले पनि पढ्न थालेको थिएँ, त्यसले मलाई जाँचमा पनि सहयोग पुर्‍याएछ। आफूले बनाएको छोटो–छोटो नोट पढ्नुभन्दा पाठ्यपुस्तक पढ्दा कैयौँ फाइदा हुँदोरहेछ भनेर मैले त्यही बेला सिकेको हो। त्यसपछि मेरो पढाइ सुध्रियो। ८ देखि १० कक्षासम्म मैले कीर्तिपुरको अर्को स्कुलमा पढेँ। एघार र बाह्र कक्षा पनि काठमाडौँमै पढेर बाँकी अध्ययनका लागि म बाहिरिएको थिएँ।

अमेरिका जाने सोच चाहिँ कसरी आयो? साथीभाइ हिँडे, घरपरिवारले पनि दबाब दिए, यस्तै कारणले त होइन?

एउटा नेपालीले अमेरिकाका बारेमा सानैमा थाहा पाउँछ। मैले पनि सानैमा थाहा पाएँ। नयाँ–नयाँ अनुसन्धान र अन्वेषणको प्रसंग आउँदा अमेरिकाको नाम आउँथ्यो। प्रजातन्त्रको परिभाषा पढाउँदा अमेरिकाका अब्राहम लिंकनको ‘अफ द पिपल, बाइ द पिपल, एन्ड फर द पिपल’ आउँथ्यो। स्मार्ट फोन, गुगलको प्रसंग आउँदा अमेरिकाको नाम जोडिन्थ्यो। प्लस टु मा मार्टिन लुथर किङको ‘आई ह्याभ अ ड्रिम’ पढ्नुपर्यो, त्यहाँ पनि अमेरिकाको नाम आयो। संसारलाई चाहिने सबै महत्वपूर्ण कुरा अमेरिकाबाटै आउने रहेछ कि क्या हो भन्ने भएपछि मलाई लाग्यो– अमेरिका त भयंकर देश रहेछ!

प्लस टु पढ्दै गर्दा अमेरिका जानुपर्छ भन्ने लाग्न थाल्यो। त्यसबेला म काठमाडौँका अमेरिकन र बेलायती पुस्तकालय नियमित धाउन थालेँ। उनीहरूले ल्याएका पुस्तकका पन्ना पनि गज्जब हुन्थे। ती पुस्तकका बास्ना पनि सुगन्धित लाग्थ्यो। मैले खुब पढेँ। १२ कक्षा पास गरिसकेपछि अमेरिका पढ्न जान छात्रवृत्तिमा ‘अप्लाई’ गरेँ। एक वर्ष कतै भर्ना नभई अमेरिका जाने तयारी गरेँ। तर छात्रवृत्ति पाइनँ। सायद तयारी नपुगेर होला, कुनै पनि कलेजले मलाई भर्ना लिन मानेन।

पछि मैले भारतमा पढ्न जान छात्रवृत्तिमा ‘अप्लाई’ गरेँ। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा सत्ता हातमा लिएको ठीक एक वर्ष पुगेको दिन भारतीय दूतावासमा मेरो अन्तरर्वार्ता थियो। त्यस दिन बिहान बुवाले रेडियो बजाउनुभएको थियो। भारतीय दूतावासले आफूहरू प्रजातन्त्रमा विश्वास राख्ने भन्दै विज्ञप्ति निकालेको रहेछ, रेडियोले त्यही पढिरहेको थियो। मैले सुनिरहेको थिएँ। दिउँसो मेरो अन्तर्वार्तामा ज्ञानेन्द्रको कदमका बारेमा प्रश्न सोधियो। मैले बिहान त्यही रेडियोले भनेको कुरा मिलाएर जवाफ दिएँ। मेरो नाम निस्किएछ। त्यसपछि म स्नातक पढ्न भारत गएँ। मास्टर्स पनि भारतमै पढेँ र पीएचडी गर्न अमेरिका गएँ।

नेपाल फर्किने सोच छ कि अब उतै बस्ने?

म पूर्णरूपमा नेपाल फर्किने सोच बनाइरहेको छु। अमेरिकाको भौतिक संसार देखियो। मलाई अध्यात्मतिर लगाव छ। अध्यात्मिक अभ्यासको लागि नेपालमा जस्तो उत्तम वातावरण मैले अमेरिकामा भेट्टाएको छैन। त्यहाँ मान्छेलाई भौतिक सुविधाको मात्र ध्याउन्न छ। गफगाफ गर्दा पनि धनसम्पत्तिको कुरा आउँछ। भौतिक सुविधामात्र खोज्ने हो भने अमेरिका ठीक छ। तर त्यतिमात्र संसार होइन भन्ने लाग्छ भने नेपाल बस्नका निम्ति एकदम उपयुक्त छ। अमेरिकाको माहोल भागदौडमय छ, नेपालको अलि शान्तिपूर्ण।

नेपाल फर्किनुभयो भने के गर्नुहुन्छ?

अब जतिसक्दो चाँडै परिस्थिति मिलाएर नेपाल फर्कने र ध्यान तथा अध्यात्मको अभ्यासमा समय दिने सोच मैले बनाएको छु। अमेरिकामा हाम्रो एउटा सानो समूह छ जो सँगै नेपाल फर्किन चाहन्छ। हामी कहिले फर्किन्छौँ, ठ्याक्कै अहिले भन्न सक्दिनँ। तर केही समयमा अवश्य फर्किन्छौँ। हाम्रो सपना चाहिँ सबै मिलेर सामूहिक लगानीमा आध्यात्मिक खालको एउटा रिसोर्ट खोल्ने र त्यहीँ ध्यानअभ्यास गरेर बिताउने छ। ८/९ परिवार मिल्दा एउटा कम्युनजस्तो बनाएर सँगै आध्यात्मिक जीवनपद्धतिको अभ्यास गर्दै बस्न सजिलो पनि हुन्छ।

विदेश पुगिसकेका नेपालीलाई पुनः स्वदेश फर्किन यहाँ के कुराले आकर्षण गर्ने रहेछ?

अमेरिकामा धेरै नेपाली भेटिन्छन्, उनीहरूले असाध्यै सम्झिने नेपालको संस्कृति हो। नेपालमा धेरै साथी–सर्कल छन्। त्यो भनेको जीवन हो। विभिन्न चाडपर्व हुन्छन्, एकअर्कासँग भेटघाट हुन्छ। त्यो आत्मीयता अमेरिकामा हुँदैन। त्यहाँ साथी पनि स्वार्थमा आधारित हुने रहेछन्। नयाँ बनाएको साथीसँग वर्षौं पुरानो साथीको जस्तो आत्मीयता पनि हुँदैन। एकअर्कालाई चिन्ने, समय बिताउने, गफ गर्ने जाँगर पनि देखिँदैन।

अमेरिका हाम्रो देश होइन भन्ने सोच हरदम आउँछ, अर्थात् हामी ‘अदर’ वा ‘आउटसाडर’ हौँ भन्ने लाग्छ। काम गर्न जाँदा पनि अरूलाई धनी बनाउन घोटिइरहेको छु जस्तो लाग्छ। त्यहाँ आफ्नै कमाइबाट किनेको घर आफ्नोजस्तो लाग्दैन। तर नेपाल टेकेपछि आफ्नो ठाउँ आइपुगेझैँ लाग्छ।

यद्यपि धेरै नेपाली जो नेपाल फर्किन्छु भन्छन्, उनीहरू आउन सक्दैनन् कि जस्तो पनि लाग्छ। किनभने नेपालीहरू धेरै कुरामा जेलिएका हुन्छन्। पाँच वर्षको ऋणमा कार र ३० वर्षको ऋणमा घर किनेका हुन्छन्। पहिले त्यो तिरिसक्नुपर्छ भन्ने हुन्छ। बच्चा भएपछि नेपाल फर्किन झन् गाह्रो हुन्छ। बच्चालाई नेपाल लगेर कता पढाउने भन्ने हुन्छ। उनीहरूलाई पढाउँदा–हुर्काउँदा फेरि अर्को सोचले आउन दिँदैन। नेपालमै जन्मेका छोराछोरी त ठूलो भएपछि अमेरिका जान खोज्छन्। झन् उतै जन्मेर हुर्किएकालाई नेपाल ल्याएर पछि फेरि अवसरको खोजीमा अमेरिका फर्काउने झन्झट व्यहोर्नुभन्दा अमेरिका नै बस्ने सोच हुन्छ। कतिपयका श्रीमान् नेपाल आउन चाहँदा, श्रीमती चाहँदिनन्।, कतिपयको श्रीमती आउन चाहन्छिन्, तर श्रीमान् चाहँदैनन्। परिवारका सबैको मन मिल्यो भने पनि नेपाल आएर के गर्ने भन्ने प्रश्न हुन्छ। यसरी एकपछि अर्को गर्दै अनेक परिवेशमा जेलिएका कारण अमेरिका गएका नेपालीलाई स्वदेश फर्कन गाह्रो छ।

अन्य नेपालीसँग भेट हुन्छ?

भेट हुन्छ। तर त्यस्ता भेटघाटहरूमा प्रायः नेपालीहरू अत्यधिक गुनासो गर्छन्। नेपालको राजनीति भएन, बस्ने वातावरण छैन भन्छन्। नेपाललाई एकछिन गाली गरेपछि अमेरिकालाई गाली गर्न थाल्छन्। यो हाम्रो देश हैन, अस्ति अमेरिकनले गाली गर्‍यो, महँगी बढ्यो लगायत थुप्रो गुनासो हुन्छ। ‘शादीका लड्डु जो खाये वो पछताए, जो ना खाए वो भी पछताए’ भनेजस्तो विदेशको लड्डु खाए पनि पछुतायो, नखाए पनि पछुतायो भनेजस्तो भएको छ।

कतिपय मानिस एयरपोर्टमा विदेश जानेहरूको घुइँचो लागेको फोटो सामाजिक सञ्जालमा राखेर सबै नेपालीले देश छाड्ने भए भन्दै दुखी हुन्छन्। दैनिक सयौँ नेपालीले देश छाडेको खबर सुन्दा विदेशमा बस्ने तपाईंलाई चाहिँ कस्तो लाग्छ?

हाम्रो साथीभाइबीच नेपालीले देश छाडेको विषयमा गफगाफ हुन्छ। हामीले पनि देश छाडियो। तर अरूले देश छाडेको देख्दा चाहिँ मन कटक्क खाने रहेछ। त्यस्तो दृश्य उता बसेर हेर्दा र त्यसबारे सुन्दा हामीलाई चाहिँ खासगरी हामी फर्कने, तर देश चाहिँ रित्तिने त होइन भनेर चिन्ता लाग्छ।

Published on: 10 July 2024 | Ukalo

Link

Back to list

;