s

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

Year of Publication: 2 October 2023 | Nagarik

Published by: CESLAM

गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दै छ।

बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। उनी पनि एक दशक बढी विदेशमा पसीना बगाएर स्वदेश फर्किएको हो।

उनी भन्छन्,‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो। अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ।’

बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैं मालिक बनेका छन्।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत भएको छ। स्वदेशमै कामको खोजी गरेर पनि नपाएपछि विदेसिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्।

उनी भन्छन्,‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रशस्त आयआर्जनको स्रोत यही छ।’

चार वर्षदेखि बाख्रापालनमा लागेका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, उनी भन्छन्,‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरू युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।’

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन्। खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उनले गरेका छन्।

अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोकाको २० देखि ३० हजार रुपैयाँसम्म बिक्री हुने उनको भनाइ छ।

उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन्। खसी बोका उत्पादन गर्न सके बजारको कुनै समस्या भएको उनी बताउँछन्। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ। उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभँेडा खेती थालेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०/५० हजार रुपैयाँ अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन्।

अहिले बाख्राको संख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन्।

उनी भन्छन्,‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्त्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चोविसञ्चो हुँदा तातो पानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोही अनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।’

Published on: 2 October 2023 | Nagarik

Link

Back to list

;