s

बिदेसिएका बाबुआमाका सन्तानका पीडा

Year of Publication: 16 September 2019 | Naya Patrika

Published by: CESLAM

मञ्जु भट्ट

बिहानै जब म दूध किन्न पसल जान्छु, सँगै घरमा बस्ने एकजना हजुरबुबालाई अक्सर त्यहीवेला पसलबाट चिजबल कनेर ल्याउँदै गरेको भेट्छु । कारण भर्खर साढे दुई वर्ष लागेको नातिलाई छाडेर उनका छोराबुहारी नै अस्ट्रेलिया गएका छन् । आमाको न्यानो काखमा सुत्ने उमेरको बालकलाई बिहान उठेर फकाउनका लागि चिजबल दिने गर्दा रहेछन्, उनले । तैपनि वेला–वेलामा फकाउनै नसकिने गरी जोरजोरले बच्चा रुने गरेको सुनिन्छ । फिनल्यान्ड यसपालि पनि दोस्रोचोटि संसारकै खुसी देशको सूचीमा पहिलो हुन लागेको विषयमा विद्यार्थीमाझ छलफल चलिरहेको थियो । एउटाले ‘यसको कारण के हो ?’ भनेर सोधे । यसका धेरैमध्ये एउटा कारण त्यहाँका अभिभावकले आफ्ना बालबालिकाको शिक्षाको लागि कत्ति पनि खर्च गर्नुपर्दैन भन्ने थाहा पाएँ । उनले भने, ‘म पनि त्यहीँ जन्मेको भए हुन्थ्यो ।’ उनका बुबा उनकै पढाइका लागि पैसा कमाउन भनेर विदेश गएका रहेछन् । त्यसैले उनमा फिनल्यान्डमा जन्मिन पाएको भए भन्ने सोचाइ आएको रहेछ । उनको पढाइका लागि पैसा नलाग्ने भए उनका बुबालाई पैसा कमाउन विदेश जानुपर्दैनथ्यो होला भन्ने उनलाई लागेको रहेछ ।

मेरी छोरीसँगै नर्सरी भर्ना भएकी उनकी साथीलाई उनकी आमाले दुई वर्ष नपुग्दै बुबासँग छोडेर विदेश गएकी रहिछन् । दुई–तीन वर्षको फरकमा नेपाल आए पनि छोरी सात कक्षा पढ्ने भएपछि स्थायी रूपले उनी स्वदेश फर्किइन् । सन्तानकै लागि भन्दै दूधे बालक छाडेर पैसा कमाउन विदेश गएकी उनी नेपाल फर्किंदा घर तहस–नहसको सँघारमा पुगिसकेको रहेछ । ४० वर्ष पनि नपुगेका मधुमेहका बिरामी श्रीमान्को उनी नेपाल फर्केको केही महिनामा नै देहान्त भयो ।

सँगै पढाउने सहकर्मी साथीको श्रीमतीलाई अमेरिकाको डिभी परेकाले सरकारी स्थायी जागिर छाडेर श्रीमतीसहित नेपाल छाडे । स्कुल जान पनि सुरु नगरेको तीन वर्षको छोरालाई रुवाउँदै मामाघरमा छाडेर श्रीमान्–श्रीमती पनि रुँदै बिदेसिए । नातिको मनबाट आमाबुबाको याद हटाउन र सानो नातिलाई फकाउन हजुरआमालाई हम्मे पर्‍यो । उसलाई फकाउन उसका प्रत्येक चाहना पूर्ण गर्दा नाति एकदमै जिद्धी स्वभावको भयो ।

यस्ता घटना स्कुल पढ्न आउने विद्यार्थीमा बग्रेल्ती भेटिन्छन् । आमाबुबा दुईटै वा कुनै एउटा (खासगरी आमा) नाबालक सन्तान छाडेर बिदेसिँदा सन्तानमा त्यसको नकारात्मक असर परेको प्रस्ट देखिन्छ । सँगै बस्यो भने टाढाका मानिससँग पनि माया गाँसिन्छ । राम्रोसँग चिन्न नपाउँदै टाढा भइयो भने आफन्त पनि बिर्संदै जान्छन्, बालबालिकाले । यस्ता धेरैजसो केटाकेटीमा अटेरीपन, जिद्धी हुने, मान–सम्मान गर्न नजान्ने समस्या देखिन्छ । साना बालबालिकालाई उनीहरूकै उज्ज्वल भविष्यका लागि दुई पैसा कमाउन आमाबुबा बिदेसिएको थाहा हुँदैन । उनीहरूको मनमा एउटै प्रश्न हुन्छ, किन उनीहरूलाई छाडेर आमाबुबा विदेश गए ? उनीहरूका साथीहरू आफ्ना आमाबुबासँग खेलिरहँदा, घुम्न जाँदा वा रमाइलो गरेर बसेको देख्दा उनीहरूको मन कुँडिन्छ । पैसा कमाउनुभन्दा पनि आफूलाई सानीआमा, मामाघर वा अन्य ठाउँमा छाडेर जाँदा उनीहरूको मनमा आमाबुवाप्रति एक प्रकारको आवेग उत्पन्न हुन्छ । जुन धेरैपछिसम्म पनि बिर्सन नसकिने हुन्छ । कतिपयको भविष्य यस्तै उल्झनमा परेर अनिश्चित बनेको हुन्छ । स्कुलको कार्यक्रममा पनि साथीहरूको जस्तै उनका पनि आमाबुबा नै आइदिए हुन्थ्यो भन्ने इच्छा विद्यार्थीमा हुन्छ ।

बाल्यावस्था खुसी छैन भने शारीरिक तथा मानसिक विकास राम्रोसँग हुन सक्दैन । अरूलाई त्यति नटेर्ने र आमाबुबाको प्रत्यक्ष निगरानीमा नभएका केटाकेटीको पढाइ पनि कमजोर हुन्छ । अझै कक्षाकोठाभित्र हेर्ने हो भने धेरैजसो झोक्राएर बस्ने, बोल्न डराउने अनि कोही उद्दण्ड प्रवृत्तिका हुन्छन् । सानोमा आमाबुबाप्रतिको लगाव र माया नहुनाले उनीहरूले भविष्यमा गएर आमाबुबालाई राम्रो व्यवहार गर्लान् भनेर भन्न सकिँदैन । आमा बिदेसिएका छोरीहरूलाई अझै पीडा हुन्छ । बढ्दो उमेरका छोरीहरूलाई उमेरअनुसार उनीहरूले लगाउने लुगा परिवर्तन हुँदै जान्छन् । आफूमा आएको शारीरिक तथा मानसिक परिवर्तनका बारेमा बुबालाई भन्न हिच्किचाउँछन् । पहिलो महिनाबारी तथा अरू वेला पनि महिनाबारी भएको वेला पेट दुखेको खण्डमा बुबालाई भन्दा पनि आमालाई भन्न सजिलो मान्छन् । यस्तोमा आमा घरमा नहुँँदा उनीहरूलाई सकस हुन्छ । यस्ता पीडाको कुनै उपचार सम्भव छैन । यदि सन्तान र आमाबुबाबाट छुट्टिनुपर्ने बाध्यता हुँदैनथ्यो भने नेपालीहरू फिनल्यान्डवासीजस्तै खुसी हुन सक्थे कि ? समृद्ध नेपाल सुखी नेपालीको अभियानमा व्यक्तिगत र पारिवारिक खुसीको महत्वपूर्ण स्थान त हुनैपर्छ ।

Published on: 16 September 2019 | Naya Patrika

Back to list

;