s

विदेशबाट सीप बोकेर फर्किएकालाई नबिल बैंकले दिन्छ १० करोडसम्म कर्जा

Year of Publication: 1 April 2024 | Onlinekhabar

Published by: CESLAM

१९ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा रहेर सीप सिकेपछि स्वदेश फर्किएर केही उद्यम गर्ने सोच हुँदाहुँदै रकम अभाव भएकाहरूका लागि खुसीको खबर छ ।

पुरानामध्येको नबिल बैंकले विदेशमा सिप सिकेर फर्केका नेपालीका लागि सरल ब्याजदरमा उद्यम कर्जा दिन थालेको छ ।

यस्तो कर्जाबाट धेरैले उद्यमशीलता सुरु गरेको नबिलले जानकारी दिएको छ ।

नबिलको उक्त कर्जा योजना अन्तर्गत दाङ राप्ती गाउँपालिकाकी टीका भण्डारी खत्रीले कृषि व्यवसाय सुरु गरेकी छिन् ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले नेपाल बसेर केही काम गर्दा श्रीमान् फर्किएपछि नेपालमै व्यवसाय गर्न सहज हुने भन्दै अहिलेदेखि नै व्यवसाय सुरु गरेको उनी बताउँछिन् ।

उनका श्रीमान् चार वर्षदेखि साउदी अरबमा ‘हेभी इक्विपमेन्ट’ चलाउने काम गर्छन् । बाख्रापालन र कृषि व्यवसायका लागि कर्जा लिएको उनले बताइन् ।

आफूले गर्न लागेको व्यवसाय हेरेर नबिल बैंकले विश्वास गरी सहजै कर्जा दिएको उनले खुसीसाथ सुनाइन् ।

‘श्रीमान् ३/४ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । ५० दिनको बिदामा आएर फेरि जानुभएको छ,’ टीका भन्छिन्, ‘अहिले उताको कमाइले घर त चलिरहेको छ । भोलि नेपाल फर्किएपछि फेरि आम्दानी नहुँदा समस्या हुन्छ । त्यही भएर मैले पनि केही काम गर्छु भनेर बाख्रापालन र कृषि व्यवसायका लागि कर्जा लिएकी हुँ ।’

पाँच वर्षमा ऋण चुक्ता गर्ने गरी उनले बाख्रापालन र कृषि फार्म सञ्चालन गर्ने उद्देश्यले उक्त कर्जा लिएको बताइन् ।

दाङकी टीका नबिल बैंकको प्रवासी कर्जा लिने एक प्रतिनिधि उदाहरण हुन् । उनीजस्ता धेरैले यस्तो कर्जा लिएका छन् र कर्जा लिन आवेदन दिनेको संख्या दिनहुँ बढिरहेको नबिल माइक्रोफाइनान्स तथा सस्टेनेबल बैंकिङ विभाग प्रमुख अमित श्रेष्ठ बताउँछन् ।

वैदेशिक रोजगारीबाट सिप सिकेर फर्किएर नेपालमा केही गर्ने चाहना हुँदाहुँदै स्रोत अभावले काम गर्न नसकेकालाई लक्षित गर्दै नबिलले ‘विशेष कर्जा योजना’ सञ्चालन गरिरहेको श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीमा सिप सिकेको र नेपालमा केही गर्ने सोच भएकोमात्र नभई वैदेशिक रोजगारीमा रहेका युवाको परिवारलाई उद्यमशीलतामा जोड्ने उद्देश्यसहित विशेष कर्जा योजना सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

नबिलले गत ११ माघबाट ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सञ्चालन गरिरहेको छ । विदेशमा सिकेको सिप प्रयोग गर्दै नेपालमै केही गरौं भन्ने सोच बनाइरहेका नेपालीलाई केन्द्रित गर्दै उक्त कर्जा योजना सञ्चालन गरिएको बैंकले जनाएको छ ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाले पर्याप्त पूँजी अभावमा आफ्नो सिप उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या समाधान गर्न उक्त कर्जा योजना सञ्चालन गरेको बैंकले जनाएको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उक्त कर्जा योजना सुरुवात गरेका थिए ।

१० करोडसम्म कर्जा पाइने

योजना अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा सीमा तोकिएको छ ।

श्रेष्ठका अनुसार १० करोडसम्मको कर्जा सीमालाई चार ‘स्ल्याब’ मा राखिएको छ । १५ लाखसम्मको एउटा स्ल्याब, १६ लाखदेखि १ करोडसम्म अर्को, १ करोडभन्दा माथि ५ करोडसम्म र ५ करोडभन्दा माथि १० करोडसम्मको चौथो स्ल्याब बनाइएको छ । उक्त कर्जाको स्ल्याबअनुसार आवश्यक विवरण र कागजात पनि बैंकले सरलीकृत गरिएको छ ।

‘वैदेशिक रोजगारी वा अध्ययनमा विदेश जाने युवाले विदेश गएपछि सिकेको सिप र परिपक्वता साथै उसले बचाएको केही पूँजीका आधारमा दक्ष र परिपक्व युवाले नेपालमै केही गर्छु भन्छ भने त्यो स्किल प्रयोग गर्न बैंकले लगानी गर्छ,’ सस्टेनेबल बैंकिङ विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘त्यस्ता युवालाई तपाईंहरूको योजना ल्याउनुस्, त्यसमा बैंकले लगानी गर्ने छ भनेर बैंकले निकालेको कन्सेप्ट नबिल दक्ष प्रवासी उद्यमशील कर्जा हो ।’

तीन दिनमै कर्जा पाइने

श्रेष्ठका अनुसार आवश्यक कागजात पूरा भयो भने प्रक्रिया सुरु भएको तीन दिनमै स्वीकृति गर्ने गरिएको छ । ठूलो कर्जामा पनि कागजात पूरा भएको तीनदेखि पाँच दिनमा नै बैंकले स्वीकृत गर्ने गरेको छ ।

विभिन्न देशमा रहेका नयाँ सोच भएका नेपाली युवालाई आफ्नो देशमा केही काम गर्नुपर्छ भन्ने सन्देश बैंकले दिन खोजेको श्रेष्ठ बताउँछन् ।

बैकले व्यवसायको प्रकृति र वैदेशिक रोजगारीबाट फर्केका युवा वा फर्किन चाहने युवाको परिवारले गर्न खोजेको व्यवसायको बजारको ‘स्कोप’ का आधारमा ५ लाखदेखि बढीमा १० करोडसम्मको कर्जा दिने उनले बताए ।

‘सानो कृषि व्यवसाय वा सिपमूलक कार्यक्रममा कर्जाको आवश्यकता सानो हुन सक्छ । त्यस्तोमा १०/२० लाख मात्रै कर्जा आवश्यक हुन सक्छ,’ श्रेष्ठ भन्छन्, ‘संस्थागत रूपमा केही ठूलो सामाजिक उद्यमशीलताको मोडेलमा व्यवसाय गर्नेलाई ४/५ करोडको कर्जा आवश्यक हुन सक्छ । आवश्यकता अनुसार कर्जा दिन्छौं ।’

आतिथ्य सत्कार (हस्पिटालिटी), उत्पादनमूलक उद्योगको नै योजना आउँँछ भने त्यसमा १० करोडसम्मको कर्जा दिन सक्ने गरी मोडालिटी बनाइएको उनले बताए ।

‘बैंकको सस्टेनेबल बैंकिङ भन्ने कार्यक्रम सञ्चालन भइरहेको छ । त्यसको उद्देश्य नै नेपालमा उद्यमशीलता प्रवद्र्धन गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘नेपालमा रोजगारी र बैंकिङ क्षेत्र स्टेबल हुनुपर्छ भन्ने बैंकको सोचाइ हो । अन्य कर्जाभन्दा यसमा बैंकले सरल दरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।’

१० वर्षे अवधिको कर्जा

बैंकका अनुसार यो उद्यमशील कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमा १.५ प्रतिशत प्रिमियम लिने गरेको छ ।

बैंकले धितो सुरक्षणमा पनि परियोजनाको प्रकृति अनुसार त्यसलाई नै धितोका रूपमा लिने वा थप धितो सुरक्षण पनि लिने गरेको छ ।

यसले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने विश्वास बैंकको छ । त्यस्तै उत्पादन र व्यवसायमा सक्रिय बनाउने अपेक्षा छ ।

कर्जा माग तथा कर्जा योजनाबारे बुझ्न चाहने धेरै रहेको र कर्जा माग आवेदन आइरहेको उनले बताए । बैंकले केही कर्जा स्वीकृत गरेर लगानी पनि सुरु गरिसकेको छ ।

‘विदेशी भूमिमा काम गरिरहेका माइग्रेन्टलाई लक्षित गरिएको हो,’ उनी भन्छन्, ‘विदेश गएर पैसा कमाउन वा त्यहाँ रोजगारी गर्नेलाई मात्रै कर्जा दिने होइन । विदेशमा रोजगारी व्यवसाय वा अध्ययन गरिरहेका जो कोहीले कर्जा सुविधा उपयोग गर्न पाउँछन् ।’

विगतदेखि नै नबिलसँग कारोबार गरिरहेको रेमिट्यान्स वा बैंक खाता खोलेर कारोबार गरिरहेकालाई ब्याजदरमा थप ०.२५ प्रतिशत छुट योजना पनि बैंकले ल्याएको छ ।

यो कर्जा योजना बैंकले व्यावसायिक मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको बैंकले जनाएको छ ।

अर्थतन्त्रमा साना तथा मझौला व्यवसायीको योगदान ठूलो रहेकाले नबिलले उद्यमशीलता विकास गर्न ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ कार्यक्रम मार्फत उद्यम विकासमा आवश्यक ज्ञान प्रदान गरिरहेको र नबिलको यस्तो कर्जा योजनाले देशकै उत्पादकत्व बढाउन मद्दत पुर्‍याउने विश्वास लिएको जनाएको छ ।

Published on: 1 April 2024 | Onlinekhabar

Link

Back to list

;