s

विदेशबाट फर्केर युवा गाई पालनमा लागे

Year of Publication: 19 November 2012 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढिरहेको समयमा घारका एकजना व्यक्ति भने विदेशबाट फर्किएर गाउँमै गाईपालनमा रमाएका छन्। 

एघार वर्षसम्म खाडी मुलुकमा आफ्नो श्रम र समय खर्चँदा समेत सोचेजस्तो आर्थिक उन्नति हुन नसकेपछि गाउँ फिरेका घार- ४ का श्याम खड्का अहिले गाईपालनको आम्दानीबाट उत्साहित छन्। नीलगिरि गाईपालन कृषक समूहमा आबद्ध खड्काले दुई वटा उन्नत जातका गाई पालेका छन्।

दैनिक १५ लिटर दूध हालै खिबाङमा स्थापना भएको सनी चिज उत्पादन केन्द्रलाई बिक्री गर्ने खड्काले विदेशमा गर्ने दुःख गाउँमै गर्न सकेमा आम्दानीका साथै आत्मसम्मानपूर्वक बाँच्न सकिने बताउनुभयो। दूधको माग बढेपछि स्थानीय जातको गाई पाल्दैआएका स्थानीय बमबहादुर बरुवालले अहिले उन्नत जातका चारवटा गाई पाल्न सुरु गरिएको  बताए।

खड्का मात्र नभएर अहिले घार गाउँका युवा र विदेशबाट फर्किएका व्यक्ति सामूहिक गाईपालनतर्फ आकर्षित भएका छन्। चिज उत्पादन केन्द्र स्थापना भएकाले उनीहरूलाई दूधको बजारीकरण गर्न सुविधा पुगेको छ। जिल्ला पशुसेवा कार्यालय, घार गाविसको सहयोगमा २० जना कृषकले आफैँले लगानी गरेर गाईपालन गरिरहेका नीलगिरि गाईपालन कृषक समूह घारका अध्यक्ष गोविन्द खड्काले बताए।

धेरै युवा गाईपालनतर्फ आकर्षित भएकाले गाईपालन गर्ने कृषकको सङ्ख्या बढ्दो रहेको बताउँदै खड्काले घार गाउँलाई कृषिमा नमुना बनाउने लक्ष्य रहेको जानकारी दिए।

Published on: 19 November 2012 | Nagarik

Back to list

;