s

विदेश जाने गरीव कामदारकोे वास्तविकता

Year of Publication: 1 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

सीताराम रेग्मी
 
नेपाल प्राकृतिक रूपमा धनी भएता पनि मनको अति गरीब देश भएका कारण हीरा–मोती भन्दा पनि महंगा हाम्रा देशका युवाहरू दैनिक रूपमा सानो रकम कमाउनका लागि एक हजार पाँच सयको हाराहारीमा खाडी मुलुकको बालुवामा र मलेशियाको झाडीमा आफ्नो अमूल्य जीवनको आहुती दिन बाध्य छन् । यी गरीब बिवस नेपालीहरू आफ्नो बाध्यताका कारण सुन्दर भविष्यको कल्पना गर्दै परिवार सँग फेरी भेटेर सम्पन्नताको आभास दिलाउने सपना बोकेर पासपोर्ट बनाउन शुरु गर्दछन । हो त्यहीबाट त्यो नेपाली युवा ठगिन शुरु हुन्छ । त्यो गरीब, बिवस र अञ्जान व्यक्ति हुडार वनको स्याल जस्तो बनेको एजेन्ट भनाउदा पिपासुहरूको कुदृष्टीमा पर्दछ ।
 
यो कुदृष्टीले बिदेश जाने पासपोर्ट बनाएको युवक, गोठमा रहेका गाई–भैँसी बेच्न बाध्य हुन्छ । त्यो गाई–भैँसी नभए गाउँमा भएको जग्गा बेच्न बाध्य हुन्छ । वैदेशिक रोजगारमा जानको लागि नेपाल सरकारले फ्रि भिषा, फ्रि टिकटको नारा लगाएको छ । तर दुष्टहरूले अहिले आएर नयाँ बाटो समातेका छन पैसा असुल्ने, त्यो हो वैदेशिक रोजगारीमा जानु पूर्व गर्नु पर्ने स्वास्थ्य परीक्षण । नेपाली युवा–युवतीहरू वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकहरूमा खास गरी साउदी अरब, दुबई, कतार, ओमान, बहराईन, कुवेत र मलेशिया पर्दछन् । यी मुलुकहरूमा काम गर्न जानु पूर्व स्वास्थ्य परीक्षण  गर्न अनिवार्य छ ।
 
स्वास्थ्य परीक्षण गर्नको लागि पुरुषको लागि दुई हजार नौ सय ४० र महिलाको लागि तीन हजार एक सय रुपैँया तिर्नुपर्ने हुन्छ । तर दुर्भाग्यवस यहाँ खुल्ला प्रतिश्पर्धालाई निषेध गरी एकाधिकार प्रयोग गरिएको छ । साउदी अरब, बहराईन र ओमान जानको लागि १२ वटा स्वास्थ्य संस्थाहरूबाट मात्र स्वास्थ्य परीक्षण गराउन बाध्य छन् नेपाली युवा–युवतीहरू । यी संस्थाहरूले दुई हजार नौ सय ४० रुपैयाँमा हुने स्वास्थ्य परीक्षणको लागि सात हजार पाँच रुपैँया तिर्नुपर्छ भने मलेशिया जाने युवा युवतीको स्वास्थ्य परीक्षण ३७ वटा स्वास्थ्य संस्थाहरूबाट मात्र हुने गर्दछ । यी संस्थाहरूबाट स्वास्थ्य परीक्षण गराउन चार हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ भने परीक्षण गराउनु पूर्व अरु तीन वटा ढाटमा बेग्लै रुपैँया तिर्न बाध्यकारी अवस्थाको सृजना गराइएको छ । ती तीन वटा ढाटको नाम हो माई ग्राम, जीएसजी र आइएससी । यी तीनवटा ढाटमा छ हजार सात सय रुपैँया तिर्नुपर्छ । ढाटमा पास भए ठीकै छ, फेल भए रुपैँया फिर्ता हुँदैन । त्यसपछि त्यो व्यक्ति रातो मुख लगाएर घर फर्कन्छ र भन्छ – मेरो कर्म यस्तै रहेछ । मेरो विदेश जाने सपना चकनाचूर भयो । हरे अब यो साहुको साँवा र व्याज कताबाट तिर्नुहोला ? यदी पास भयो भने मलेशियन राजदुतावासमा तिर्नुपर्ने भिसा शुल्क सात सय रुपैँयाको लागि सात हजार रुपैँया तिर्नुपर्छ । त्यो सात हजार रुपैँया तिर्न बाध्य बनाउने ढाट हो ओएससी । यी सबै ढाट पार गर्दा लाग्ने खर्च भयो कूल १८ हजार रुपैँया । आउने जाने भाडा, होटेल खर्च कम्तीमा अरु २५ हजार रुपैँया जोडेर हेर्दा ४३ हजार रुपैँया हुन आउँदछ ।
 
अब ‘फ्रि भिषा फ्री टिकट’ को नाटक त आम जनमानस, मेनपावर व्यवसायी, राजनीतिक दल र नेता सम्पूर्णलाई थाहा नै छ ।  मेनपावर व्यवसायीको साधारण खर्च र टिकटको पैसा जोड्ने हो भने पनि एक लाख रुपैयाँ त कम नै हुन आउँछ । प्रत्येक दिन पाँच देखि सात सय जनाले यो माई ग्राम कम्पनीमा गएर आफ्नो औँठाको छाप बिना कारण लगाउँछन् र त्यस बापत तीन हजार दुई सय रुपैँया तिर्दछन् । यसको आँकडा अनुसार दैनिक अमेरिकी डलर १० हजार पाँच सय र नेपाली रुपैँया ११ लाख बिदेशिने गरेको छ । यो किन र कसको लागि तिर्नुपर्ने हो न जाने कामदारहरूलाई थाह छ, न त नेपाल सरकारलाई । स्मरण रहोस यो कार्य बायोमेट्रिक प्रणालीद्वारा स्वास्थ्य परीक्षण शुरु हुन पूर्व स्वास्थ्य परीक्षण गर्दा दुई हजार नौ सय ४० र भिसा प्रोसेसिङ शुल्क सात सय रुपैयाँ तिर्दा सम्पूर्ण रूपमा सकिन्थ्यो । मुख्यतः नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका केही नेताहरूलाई विभिन्न प्रलोभनमा पारेर यिनीहरूले अकूत सम्पत्ती कमाई गरीब जनताको रगत चुसी रहेका छन् भने नेपाल सरकार मुक–दर्शक बनेर हेरीरहेको अवस्था विद्यमान छ । यसका साथै सिण्डिकेसनको मारमा परेका अन्य स्वास्थ्य व्यवसायीहरू, तिनीहरूका आश्रीत परिवार र कर्मचारीहरू आफ्नो पेशा व्यवसाय र रोजगारीबाट विलय हुँदै गईरहेका छन् । लोकतन्त्र, गणतन्त्र र समाजवाद उन्मुख रहेको देशमा यसरी गरीब र निमुखाको हरेक दिन दोहन भइरहँदा अब बाम गठबन्धनको सरकारले यी सबै दृश्य फेरी पनि टुलुटुलु हेरेर बस्ला त ? प्रश्न गम्भीर छ । भ्रष्टचारमा शून्य सहनशीलता अपनाउनुपर्ने भन्ने केपी ओलीको नेतृत्वमा बनेको सरकारले यी गरीब मार्ने भ्रष्टचारीहरूलाई रेमिट्यान्सको बहानामा, गरीब वैदेशिक रोजगारीमा जान बाध्य पारिएका युवाहरूलाई लगातार यसरी नै देशमा ठगिन बाध्य पारी रहन्छ होला त ? यो कदापि हुन सक्दैन मेरो पूर्ण विश्वास छ । यो पंक्तिकार आपूm पनि एउटा सच्चा नागरिक भएको नाताले लेख्दैछु, यो गरीब बिदेशिने नेपाली युवाहरूलाई दिन रात ठगेर केही व्यक्तिले कमाएको अरबौ सम्पत्तीको हिसाब किताब हुनेछ । यिनीहरूले कूकर्मको फल पाउनेछन् र सिण्डिकेसनको अन्त्य हुनेछ । स्वास्थ्य परीक्षण गरी विभिन्न बहानामा विभिन्न ढाटमा पैसा तिर्नुपर्ने दिनको अन्त्य हुनेछ । युवाहरूले देशमा नै रोजगारी पाउने छन्, अथवा बिदेश जानुपर्ने नै भए पनि आजका दिनमा जसरी ठगिएर जानुपर्ने अवस्था रहने छैन । यदी यस्तो भएन भने नेपाली जनताले अथवा गरीब बिदेशिने नेपाली युवाहरूले लोकतन्त्र, गणतन्त्र र अरु सार्वभौम सत्ता माथि खिल्ली उडाएको अनुभूतिको आभास गर्नेछन् । त्यसैले यी माथि भइरहेका सम्पूर्ण कू–कार्यको अन्त्य हुन जरुरी छ र हुन्छ ।
 
वैदेशिक रोजगारलाई मर्यादित र उपलब्धिमुलक बनाउनु आवश्यक छ । हामिले अंगिकार गरेको अहिलेको प्रक्रिया र उपलब्धिलाई विश्लेषण गर्नु आवश्यक छ ।
 
वैदेशिक रोजगारीमा जाने कामदारहरूले गर्ने खर्च र वचतको बास्तविकता निम्न प्रकार भएको जानकारी गराउँदछु ।
मलेशिया÷दुवाई÷ओमान÷कुवेत÷बहराईन :
 
आम्दानी    रकम
मासिक तलब    २५,००० ने. रु.
ओ. टी भत्ता    ५,००० ने. रु.
मासिक जम्मा    ३०,००० ने. रु.
वार्षिक आम्दानी    ३६०,००० ने. रु.
 
खर्च    रकम
माई ग्रामस्    ३,५०० ने.रु.
जी. एस. जी.    ३,२०० ने.रु.
मेडिकल    ४,५०० ने.रु.
ओ. एस. सी.    ७,००० ने.रु.
मेडिकल गर्न जम्मा    १८,००० ने.रु.
काठमाण्डौ आउने जाने  भाडा    १०,००० ने.रु.
टिकट    २५,००० ने.रु.
अन्य  मेनपावर सर्भिस चार्ज    ४४,००० ने. रु.
खाना खर्च वार्षिक    ९६,००० ने.रु.
होस्टेल खर्च वार्षिक    २४,००० ने.रु.
फोन र अन्य    ३६,००० ने.रु.
ब्याज वार्षिक    २,५३,००० ने.रु.
जम्मा वार्षिक खर्च    २,७७,००० ने.रु.
 
यो आकडा अनुसार :
पहिलो वर्ष बचत : ८३,००० ने.रु.
दोस्रो वर्ष बचत : २,६३,००० ने.रु.
तेस्रो वर्ष बचत (यदी ३ वर्षको करार भए) : ४,४३,००० ने.रु.
नोट: ओभर टाईम नपाएको खण्डमा सरदर ३ वर्षमा जम्मा ३,५०,००० ने.रु. वचत हुन्छ ।
 
यसरी एउटा होनहार युवाको मूल्य २ वा तिन वर्षमा रु.२,६३,००० देखि रु.३,५०,००० सम्म हुन्छ । यो तीतो यथार्थ हो । अरु २ वा ३ वर्ष सम्मको परिवार सँगको विछोड, ऋणको भारमा परेको चोट, भिन्न समाज, भिन्न मौसम, संस्कृति र परम्परामा बस्न बाध्य हुनु, कतिपयको वैवाहिक जीवन बर्वाद हुनुका साथै अन्य पिडाको मूल्य जोड्ने हो भने र देशले एउटा होनहार युवाबाट प्राप्त हुने समाज परिवर्तनको योगदान, श्रम र देश बिकासको लागि हुने योगदानको के मूल्य राख्ने ? आपैmमा संवेदनशील छ । त्यसैले फेरी पनि अपील गर्दछु, कृपया यो वैदेशिक रोजगारको पीडाबाट युवा युवतीलाई मुक्त गर्ने पहल गरौँ । जानै पर्ने भए पनि शोषण मुक्त वैदेशिक रोजगारको प्रक्रिया अवलम्वन गर्नु आवश्यक छ जहाँ एकाधिकारको कुनै गुञ्जाइस नहोस् ।
 
Published on: 1 March 2018 | Madhyanha

Back to list

;