s

विदेश जाने १० हजारलाई सीपयुक्त तालिम

Year of Publication: 26 May 2017 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गन्तव्य देशमा हुने दुर्घटना घटाउन र दक्ष जनशक्ति तयार गर्न १० हजार युवालाई सीपमूलक तालिम दिने भएको छ । त्यसका लागि बोर्डले ११ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

बोर्डले कामदारलाई तालिम दिन ४० संस्था छनोट गरेको छ । ‘विदेश जान इच्छुक युवालाई सूचनासँगै सीपयुक्त जनशक्ति तयार गर्न १० हजार युवालाई तालिम दिन लागिएको हो,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कान्तिपुरलाई भने, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट अनुमति पाएका संस्थाबीच प्रतिस्पर्धा गराई ४० संस्था छनोट गरिएको हो ।’ 
 
काफ्लेका अनुुसार ७ वटै प्रदेशमा छनोट भएका संस्थामार्फत तालिम दिइनेछ । ‘सूचना र सुरक्षित हुने विषय सम्बन्धमा कामदारसँग ज्ञान अभाव हुँदा उनीहरूको अकालमा मृत्यु भइरहेको अवस्था देखियो । उनीहरूको सुरक्षाका लागि आवश्यकताअनुसारको पाठ्यक्रम बनाई तालिम नदिई भएन,’ उनले भने, ‘गत वर्षदेखि नै सीपयुक्त जनशक्ति तयार गर्ने योजना बनाए पनि कार्यान्वयन गर्न सकिएको थिएन । चालु वर्षबाट तालिम सुरु गर्न लागिएको हो ।’ 
 
बोर्डले धेरै कामदार जाने जिल्लामा तालिम केन्द्र राख्ने योजना बनाएको छ । ‘छनोटमा परेका संस्थालाई सम्झौता गर्न आउन १५ दिने सूचना जारी गरिसकिएको छ । उनीहरूले सम्झौता सुरु गरेको एक साताभित्र तालिम दिने दिनको सूचना जारी गर्नुपर्छ,’ बोर्डका निर्देशक निर्मला थापाले भनिन्, ‘हामीले ८१ वटा प्याकेजमा तालिम दिन थालेका हौं ।’ 
 
सीपयुक्त तालिम अधिकांश निर्माण क्षेत्रसँग सम्बन्धित छन् । त्यसबाहेक कुक, सुरक्षा गार्ड, टेलरिङ पनि राखिएको छ । ‘एक कामदारका लागि १ सय ६० घण्टा तालिम दिइने पाठ्यक्रम छ,’ थापाले भनिन् । बोर्डले पहिलोपटक तालिम दिने योजना बनाएकाले यसलाई अध्ययनका रूपमा पनि लिइएको जनाएको छ । ‘यसलाई हामीले अध्ययनका रूपमा लिएका छौं । यसको कार्यान्वयन हेरेर आगामी वर्ष अझ ठूलो योजना बनाउँछौं,’ उनले भनिन् ।
 
वर्षमा झन्डै दुई लाख युवा वैदेशिक रोजगारका लागि जाने गरेका छन् । गन्तव्य देशका सरकारहरूले अभिमुखीकरण तालिम नहुँदा धेरै नेपालीको ज्यान जानुका साथै कार्यस्थलमा सुरक्षाको विषयमा जानकारी नहुँदा समस्या बेहोर्नुपरेको दाबी गर्दै आएका छन् । खाडी तथा मलेसियामा प्रतिवर्ष झन्डै १ हजार नेपालीको मृत्यु हुँदै आएको छ । 

Published on: 26 May 2017 | Kantipur

Back to list

;