s

भारतको अग्निपथ योजनाबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित

Year of Publication: 26 August 2022 | Setopati

Published by: CESLAM

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक कोरम नपुगेर स्थगित भएको छ। भारतको अग्निपथ योजनाबारे छलफलका लागि बैठक बोलाइएको थियो।

यस योजनाबारे छलफलका निम्ति परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि समितिमा बोलाएको थियो। मन्त्री खड्कासमेत बैठकमा उपस्थित भएनन्। पार्टीको पोलिटब्युरो बैठकका कारण एमाले सांसदहरू समेत बैठकमा पुगेका थिएनन्।

भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए।

गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन्।

यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन्। त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ। उनीहरूले पेन्सनको सुविधा पाउने छैनन्।

Published on: 26 August 2022 | Setopati

Link

Back to list

;